गृहपृष्ठ चिसापानी–मंगलसेन सडकखण्ड स्तरोन्नति कार्य शुरु गर्न मुख्यमन्त्रीको निर्देशन
चिसापानी–मंगलसेन सडकखण्ड स्तरोन्नति कार्य शुरु गर्न मुख्यमन्त्रीको निर्देशन

राष्ट्रिय बनको जग्गा प्रयोग र जग्गामा रहेका रुख गोल हटाउन सम्झौता भएसँगै चिसापानी–मंगलसेन सडक खण्डको १६ कि.मि. सडक स्तरोन्नतिको कार्य अगाडी बढाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।
बुधबार मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कैलालीको लम्कीचुहा नगरपालिका, ३ र मोहन्याल गाउँपालिका, ७ मा पर्ने चिसापानी–मंगलसेन सडकखण्डसँग सम्बन्धित पक्षहरूसँगको छलफल पछि स्तरोन्नतिको कार्य सुरु गर्न निर्देशन दिएका हुन्।
छलफलमा सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर प्रकाश खड्का, डिभिजन बन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कँडेल, बन निर्देशनालय सुदूरपश्चिम प्रमुख हेमराज बिष्ट, मोहन्याल गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष नवराज कठायत, अभियन्ता तथा युवा नेता नेत्र भण्डारी लगायतको सहभागिता रहेको थियो । मंगलबार चिसापानी–मंगलसेन सडक खण्डमा पर्ने राष्ट्रिय बनको ८।९२ हेक्टर जग्गा प्रयोग गर्न सो जग्गामा रहेका विभिन्न जातका ४ सय ७२ वटा रुख गोल हटाउन वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र सडक विभाग भू–वातावरण तथा सामाजिक शाखा बिच सम्झौता भएको थियो ।
“चिसापानी–मंगलसेन सडकखण्ड परापुर्वकालदेखी हटेरु बाटोको रुपमा परिचित छ,” बैठकमा मुख्यमन्त्री शाहले भने, “पिता पुर्खाहरूको नासोको रुपमा रहेको यस सडक खण्डको स्तरोन्नति गरी जनतालाई विकासको प्रत्याभूति गराउनु पर्दछ ।’ उनले वि.सं. २०२४ सालमा स्व। हरिप्रसाद भण्डारीले मंगलसेनसम्म मोटर गाडी पुर्याउनु भएको इतिहासलाई सम्झँदै यस सडकको स्तरोन्नतिका लागि तत्कालीन सभासदहरु गंगबहादुर कुँवर, शुसिला स्वाँर, भगत बडुवाल, मोहनसिँह राठौर, झपट रावल, वर्तमान प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी लगायत जनप्रतिनिधिहरू तथा सरोकारवाल निकायलाई धन्यवाद दिए।
सडक डिभिजन कार्यालय महेन्द्रनगर, डिभिजन बन कार्यालय पहलमानपुर र बन निर्देशनालय सुदूरपश्चिमले भोली –(बिहीबार) देखि काम सुरु गर्ने प्रतिबद्धता जनाए । उनीहरूले रुख गोल हटाउने लगायतका काममा सहयोग गर्न सबैमा अनुरोध गरेका छन्। आयोजना, निर्माण व्यवसायी र बन मन्त्रालय बिच त्रिपक्षीय समन्वयमा कामलाई सुचारु गर्नुपर्ने बैठकमा निर्णय भएको छ । त्यसैगरी चिसापानी–मंगलसेन सडक खण्डको स्तरोन्नतिको कार्यको तीन/तीन दिनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई जानकारी गराउनु पर्ने निर्णय भएको छ ।
प्रदेश गौरवको योजना भित्र रहेको यस सडकलाई चालु आ.व. २०८१/०८२ मा प्रदेश सरकारले उक्त सडकखण्ड स्तरोन्नतिका लागि मोहन्याल गाउँपालिकामा वडा नं ७ मा पर्ने बादेखोलामा मोटरपुल निर्माणका लागि २१ करोड ७३ लाख, साँघुरे खोलामा मोटरपुल निर्माणका लागि १९ करोड ४४ लाख र चिसापानी सोल्टा सडक स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजित गरिएको छ ।
प्रकाशित समय : १९:३२ बजे