गृहपृष्ठ दरवाङमा दोस्रो ‘जेपिसी’ कप फुटबल प्रतियोगिता सुरु
दरवाङमा दोस्रो ‘जेपिसी’ कप फुटबल प्रतियोगिता सुरु

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मङ्लबारदेखि एक लाख ५० हजार पुरस्कार राशिको दोस्रो ‘जेपिसी’ कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
दरवाङमा रहेको जनप्रिय माविको भूतपूर्व विद्यार्थी क्लबले नव वर्ष २०८२ को अवसरमा आयोजना गरेको प्रतियोगिताको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गरे।
वैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २५ समूहले सहभागिता जनाएका क्लबका अध्यक्ष कुशल घर्तीले जानकारी दिए । उद्घाटन खेलमा मालिका गाउँपालिका–५ रुम्माले आयोजकको ‘सि’ समूहलाई शून्यका विरुद्ध तीन गोलले पराजित गरेको छ ।
पहिलो दिनको दोस्रो खेलमा बेनी नगरपालिका–४ तातोपानीले मालिका गाउँपालिका–५ पन्थोकलाई शून्यका विरुद्ध एक र तेस्रो खेलमा आयोजकको ‘डि’ समूहलाई मालिका गाउँपालिका–१ निस्कोट बेशीले एक का विरुद्ध ११ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसहित एक लाख ५० हजार र ८० हजार प्रदान गरिने क्लबले जनाएको छ । अनुशासित र सेमीफाइनलबाट बाहिरिने टिमलाई १०/१० हजार, उत्कृष्ट खेलाडीलाई छ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई पाँच/पाँच हजार पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
प्रकाशित समय : २२:१८ बजे