काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बङ्गलादेशका रोहिङ्ग्याहरूलाई खाद्य कटौती रोक्न ‘सबै कुरा’ गर्ने राष्ट्रसङ्घीय प्रमुखको वाचा

1.48K
shares

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले शुक्रबार बङ्गलादेशमा रहेका रोहिङ्ग्या शरणार्थीका लागि खाद्यान्न कटौती हुनबाट रोक्न सङ्गठनले ‘सबै’ गर्ने बताएका छन ।

गुटेरेसले कक्स बाजारका शिविरहरूमा रोहिङ्ग्या शरणार्थीहरूसँग एकता प्रदर्शनका लागि भेट गरे र अधिकांश मुस्लिम उत्पीडित अल्पसङ्ख्यकसँग इस्लामी पवित्र महिना रमदानको रोजा (उपवास)तोडे ।

सन् २०१७ को सैन्य दमनपछि छिमेकी म्यानमामा भएको युद्धबाट भागेर दुर्गम राहत शिविरहरूमा बसोबास गर्ने १० लाख शरणार्थीमध्ये धेरैलाई अहिले गम्भीर मानवीय सहायता कटौतीको खतरा छ ।

गुटेरेसले संयुक्त राज्य अमेरिका र अन्य देशहरूद्वारा घोषित ‘नाटकीय’ मानवीय सहायता कटौतीले ‘यो शिविरमा खाद्य राशन कटौती गर्ने जोखिम’ रहेको बताए ।

“म प्रतिज्ञा गर्न सक्छु कि हामी यसबाट बच्नका लागि सबै गर्नेछौँ र म विश्वका सबै देशसँग कुरा गर्नेछु जसले हामीलाई सहयोग गर्न सक्छन् ताकि मानिसहरूले अझ बढी पीडित हुने र केही मानिसहरूको मृत्यु हुने अवस्थादेखि बच्न कोष उपलब्ध गराउन सुनिश्चित गर्न सकियोस्”, गुटेरेसले भने ।

एक लाखभन्दा बढीले गुटेरेससँग उपवास तोड्ने सूर्यास्त भोजनमा भाग लिएका थिए । तीमध्ये केहीले ‘अब शरणार्थी जीवन होइन’ र ‘हामी रोहिङ्ग्या हौँ, राज्यविहीन होइनौँ’ भन्ने प्लेकार्डहरू बोकेका थिए ।

गुटेरेसले म्यानमामा शान्ति पुनःस्थापित गर्नु, ‘रोहिङ्ग्याहरूको अधिकारलाई सम्मान गर्नु’ र ‘हामीले विगतमा देखेको जस्तो भेदभाव र उत्पीडन अन्त्य हुनु’ ‘अत्यावश्यक’ भएको बताए।

उनसँगै ढाकाको अन्तरिम सरकारका सदस्यहरू, अन्तरिम सरकारका मुख्य सल्लाहकार, नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस पनि थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा समीक्षाका लागि बाँकी रहेको विदेशी सहायतामा रोक लगाएपछि यसले मानवीय समुदायलाई स्तब्ध पारेको छ ।

सहायता कोषको कमीले शिविरमा प्रतिव्यक्ति १२.५० डलरदेखि ६.०० डलरसम्म मासिक खाना भाउचरमा कटौती गर्नुपर्ने संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमले यस महिना घोषणा गरेको छ ।

लगातार सहायता कटौतीले पहिले नै भीडभाड भएका बस्तीहरूमा सहायतामा निर्भर र व्यापक कुपोषणबाट पीडित रोहिङ्ग्याहरू बीच तीव्र कठिनाइ निम्त्याएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले शिविरमा युवाहरूले सन् २०१७ पछि कुपोषणको सबैभन्दा खराब स्तरको अनुभव गरिरहेको र सन् २०२४ को समान महिनाको तुलनामा फेब्रुअरीमा गम्भीर कुपोषण उपचारका लागि भर्ना २७ प्रतिशतले बढेको बताएको छ ।

बङ्गलादेशमा युनिसेफका प्रतिनिधि राणा फ्लावर्सले बङ्गलादेशका लागि रद्द गरिएको अमेरिकी अनुदान उहाँको एजेन्सीको रोहिङ्ग्या शरणार्थी प्रतिक्रिया लागतको लगभग एक चौथाइ रहेको बताए ।

बङ्गलादेशले आफ्नो शरणार्थी जनसङ्ख्यालाई सहयोग गर्न सङ्घर्ष गरिरहेको छ र ढाकाले रोहिङ्ग्या शरणार्थीहरूलाई थप सहायता सुरक्षित गर्ने तरिकाहरू खोजिरहेको बताएको छ ।

यसअघि शुक्रबार ढाकामा युनुससँग वार्ता गर्नुभएका गुटेरेसले संयुक्त राष्ट्रसङ्घ र ढाकाबीचको ‘घनिष्ठ सहयोग’ को प्रशंसा गरेको बताए ।

कक्स बजार वरपरका शिविरहरूमा बसोबास गर्ने रोहिङरग्याहरूलाई रोजगारी खोज्ने अनुमति छैन र बाँच्नका लागि लगभग पूर्ण रूपमा सीमित मानवीय सहायतामा निर्भर छन् ।

गत वर्ष विद्यार्थी नेतृत्वको क्रान्तिले लामो समयदेखिको शासक शेख हसिना र उनको सरकारलाई अपदस्थ गरेपछि बङ्गलादेश अझै पनि आफ्नै राजनीतिक सङ्कटबाट गुज्रिरहेको छ ।