गृहपृष्ठ मुख्य याममै सौराहामा आएनन् पर्यटक
मुख्य याममै सौराहामा आएनन् पर्यटक

विगतका वर्षमा यो समय सौराहा पर्यटकले भरिन्थे । होटलहरुको अकुपेन्सी पनि राम्रो हुन्थ्यो । तर यसपाली विगत जस्तो भएन । चिनियाँ पर्यटक कम आएसँगै यहाँको पर्यटकीय गतिविधि प्रभावित भयो । विगतमा जस्तो भारतीय र तेस्रो मुलुकका पर्यटक पनि उल्लेख्य आएका छैनन् । स्वदेशी पर्यटकको सङ्ख्या पनि न्यून रहेको व्यवसायीले बताएका छन् ।
चितवन फरेष्ट रिसोर्टका सञ्चालक दीपक भट्टराई विगतका वर्षमा यति बेला आफ्नो होटलमा ८० प्रतिशत चिनियाँ पर्यटक हुने गरेकामा यस वर्ष ४० प्रतिशत पनि नपुगेको बताउँछन् । चिनियाँ पर्यटक किन आएनन् भन्ने जानकारी नभएको भन्दै उनले नेपालीहरू नयाँ गन्तव्यहरूमा गएको बताए ।
उनले भने, ‘मनाङ, मुस्ताङ, राराजस्ता हिमाली क्षेत्रका गन्तव्यमा स्वदेशी पर्यटक गएका छन्, यहाँ कम आए ।’ सौराहामा नयाँ कार्यक्रमहरू दिन नसक्दा पनि एक पटक यहाँ आउने पर्यटक फर्किएर आउन इच्छा नगर्ने उनको भनाइ छ ।
सिद्धार्थ भिलासा वनवासका महाप्रबन्धक प्रकाश न्यौपाने खर्चिला चिनियाँ पर्यटकहरू सौराहा नआएको बताउँछन् । चिनियाँ पर्यटकको एक समूहको भनाइलाई उद्धृत गर्दै उनले भने, ‘काठमाडौँमा फागु खेल्न यस वर्ष भारतीयभन्दा चिनियाँ पर्यटक बढी आए, यहाँ भने आएनन् ।’
क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलिया गत वर्षहरुको तुलनामा सौराहा आउने पर्यटक आधाभन्दा कमले घटेको बताउँछन् । चैतको पहिलो सातादेखि असारसम्म यहाँ धेरै पर्यटक आउने गर्दछन् । यो मौसमलाई सौराहाका होटल व्यवसायीहरूले राम्रो यामका रूपमा लिने गर्दछन् ।
थपलिया मुख्य रूपमा सडकका कारण पर्यटक कमी भएको अनुमान गर्छन् । काठमाडौँबाट आउने पर्यटकका लागि विस्तार हुँदै गरेको मुग्लिन–नौबीसे सडक, पोखराबाट आउने पर्यटकका लागि मुग्लिन–पोखरा सडक र भैरहवातर्फबाट आउने पर्यटकका लागि नारायणगढ–बुटवल सडकको अवस्था सहज नभएकाले पनि पर्यटक घटेको उनको अनुमान छ । यस्तै भारतको महाकुम्भ मेला पनि पर्यटकको घट्नुका कारण भएको उनको भनाइ छ ।
घिमिरेले भने, ‘सन् २०२५ मा चिनियाँ पर्यटकबाट धेरै आशा गरेको भएपनि हुन सकेन ।’ नेपालको पर्यटन प्रवर्द्धनका लागि चीन र भारत नै मुख्य रहेको घिमिरेको भनाइ छ ।
प्रकाशित समय : २०:५० बजे