गृहपृष्ठ ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ बाट २३ हजारले लिए सेवा
‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ बाट २३ हजारले लिए सेवा

कैलालीको धनगढी उपमहानगरपालिकाको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’बाट २३ हजार नौ सय ६७ जनाले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा उक्त उनीहरुले निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा लिएका हुन् ।
वडा स्वास्थ्य क्लिनिकबाट १७ हजार ६ सय ८५ महिला र ६ हजार दुई सय ८२ पुरुषले स्वास्थ्य सेवा लिएका उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए । सो अवधिमा १३ हजार तीन सय ५३ जनाले जनरल फिजिसियनबाट, चार हजार पाँच सय २६ जना महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र ६ हजार ८८ जनाले आँखाको रोगसम्बन्धी निःशुल्क सेवा लिएका थिए । सेवा लिनेमा चार हजार तीन सय २० जना ७० वर्षभन्दा माथिको उमेर समूहका रहेका छन् ।
स्वास्थ्य क्लिनिकमा बिरामीको निःशुल्क जाँचसँगै निःशुल्क औषधि समेत वितरण गरिएको प्रमुख अवस्थीले बताए । आर्थिक रुपमा विपन्न नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले वडा स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइएको उनको भनाइ छ । प्रत्येक महिना १९ वटै वडामा सञ्चालन हुने क्लिनिकमा एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा धनगढी नेत्रालय र गेटा आँखा अस्पतालको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिँदै आएको छ ।
गत आव २०८०/८१ मा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट ४७ हजार चार सय ६२ जनाले स्वास्थ्य सेवा लिएका थिए । उपमहानगरपालिकाले गरिब तथा विपन्न नागरिकलाई लक्षित गरेर आव २०७९/८० को साउनदेखि ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गरेको हो ।
प्रकाशित समय : २१:५० बजे