global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ इस्लाम महिला छात्रा शिक्षा सम्मेलन सुरू

इस्लाम महिला छात्रा शिक्षा सम्मेलन सुरू

इस्लाम महिला छात्रा शिक्षा सम्मेलन सुरू

इस्लामिक समुदायमा छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा शनिबार शुरू भएको छ । सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई पनि सहभागी भएको छ ।

सम्मेलनमा सहभागी हुनुपूर्व पत्रकारसँगको प्रतिक्रियामा युसुफजाईले छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा भाग लिन आफ्नो जन्मथलो फर्कन पाउँदा आफू निकै हर्षित भएको बताएको छ ।

यो शिखर सम्मेलनमा मुस्लिम बहुल देशहरूबाट शैक्षिक क्षेत्रका हस्तीहरूको सहभागिता रहेको छ तर अफगानिस्तानले कुनै पनि सहभागिता जनाएको छैन । अफगानिस्तानमा किशोरी तथा महिलाहरूलाई विद्यालय जान प्रतिबन्धित गरिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले राजधानी इस्लामावादमा शिखर सम्मेलनको उद्घाटन गर्दै भने, “बालिकाका लागि शिक्षामा समान पहुँच सुनिश्चित गर्न पाकिस्तानलगायत मुस्लिम विश्वले महत्वपूर्ण चुनौतीको सामना गरिरहेको छ ।”

सरिफले भने, “बालिकाहरूलाई शिक्षा दिन इन्कार गर्नु भनेको उनीहरूको आवाज र छनौटलाई इन्कार गर्नु हो र उनीहरूको उज्ज्वल भविष्यको अधिकारबाट बञ्चित गर्नु हो।”
पाकिस्तानका शिक्षामन्त्री खालिद मकबूल सिद्दिकीले एएफपीसँग कुरा गर्दै इस्लामाबादले काबुललाई निमन्त्रणा दिएको तर अफगान सरकारका तर्फबाट कोही पनि सम्मेलनमा सहभागी नभएको बताए ।

शिखर सम्मेलनको समर्थन गर्ने मुस्लिम वल्र्ड लिगका महासचिव तथा साउदी धर्मगुरू मोहम्मद अल इसाले किशोरीलाई विद्यालय जानबाट बञ्चित गरिनुनहुने बताए।

उनले भने, “सम्पूर्ण मुस्लिम विश्वले छात्रा शिक्षा महत्वपूर्ण छ भन्ने कुरामा सहमत भएको छ र छात्रा शिक्षालाई गैर इस्लामिक भन्नु गलत बुझाई हो ।”

सन् २०१२ मा पाकिस्तानी तालिवान लडाकूको गोली लागेर घाइते भएकी युसुफजाईले आइतबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । “म वास्तवमै सम्मानित, अभिभूत र खुसी छु,” आफ्ना आमाबाबुसँग सम्मेलनमा पुगेकी युसुफजाईले एएफपीसँग भने ।

शुक्रबार उहाँले सामाजिक सञ्जालमा लेखेको थियो, “नेताहरूले अफगान महिला र बालिकाविरुद्ध गरेको अपराधका लागि तालिबानलाई किन जवाफदेही बनाउनुपर्छ भन्ने विषयमा कुरा गर्नेछु ।”

सन् २०२१ मा सत्तामा फर्किएपछि अफगान तालिबान सरकारले इस्लामी कानुनको कडा संस्करण लागू गरेको छ जसलाई संयुक्त राष्ट्रसङ्घले ’लैङ्गिक विभेद’ भनेको छ ।

पाकिस्तानले आफै पनि गम्भीर शैक्षिक सङ्कटको सामना गरिरहेको छ र दुई करोड ६० लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

सरिफले भने, “अपर्याप्त पूर्वाधार, सुरक्षा चिन्ताका साथै गहिरो रूपमा जमेको सामाजिक मान्यताहरू छात्रा शिक्षाको बाधक हुन्।”

सम्मेलनको उद्घाटनमा सहभागी क्लिनिकल साइकोलोजी अध्ययन गरिरहेकी २३ वर्षीया जाहरा तारिकले एएफपीसँग भने, “अन्ततः हामीले मुस्लिम छात्राको शिक्षामा राम्रो पहल गरेका छौँ।”

उनले भने, “ग्रामीण भेगका बासिन्दाले अझै पनि समस्या भोगिरहेका छन् । कुनै–कुनै अवस्थामा तिनीहरूका परिवारहरू नै पहिलो बाधक हुन्छन्।”

प्रकाशित समय : १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु