गृहपृष्ठ दुई वर्षको रिक्ततापछि लेबनानको राष्ट्रपतिमा सेना प्रमुख अउन
दुई वर्षको रिक्ततापछि लेबनानको राष्ट्रपतिमा सेना प्रमुख अउन
लेबनानका सांसदहरूले बिहीबार सेना प्रमुख जोसेफ अउनलाई दुई वर्षको पद रिक्ततापछि राष्ट्रपतिमा निर्वाचित गरेका छन् । यो युद्धबाट तहसनहस भएको देशलाई वित्तीय सङ्कटबाट उकास्ने दिशातर्फको एक कदम हो ।
शुक्रबार ६१ वर्ष पुग्ने अउन आफ्नो सामान्य सैन्य वर्दीको सट्टा गाढा सुट र चम्किलो निलो टाई लगाएर सपथ खान संसद्मा पुग्दा उनलाई सामान्य तालीले स्वागत गरियो । “लेबनानको इतिहासमा आज एउटा नयाँ चरण सुरु हुँदैछ”, उनले सदन भने ।
समर्थकहरूले दक्षिण लेबनानको उनको गृहनगर आइशियाहमा उत्सव मनाए । त्यहाँ बासिन्दाहरू बिहानदेखि चर्च अगाडि भेला भएका थिए । चर्चलाई लेबनानी झण्डा र उनको तस्बिरले सजाइएको थियो ।
अउनले इजरायली सीमामा युद्धविरामको निरीक्षण गर्ने र देशलाई इतिहासको सबैभन्दा खराब आर्थिक सङ्कटबाट बचाउन अन्तर्राष्ट्रिय ऋणदाताहरूले माग गरेका सुधारहरूको नेतृत्व गर्न प्रधानमन्त्री नियुक्त गर्ने चुनौतीपूर्ण कार्यहरूको सामना गर्नुपर्नेछ ।
अउन लेबनानको राष्ट्रपति बन्ने पाँचौँ र लगातार चौथो सेनाका कमान्डर छन् । बहु–साम्प्रदायिक लेबनानको शक्ति साझेदारी प्रणालीअन्तर्गत राष्ट्रपति सैन्य प्रमुखहरूजस्तै एक मारोनाइट इसाई हुनुपर्दछ ।
दुई चरण
भूमध्यसागरीय देश लेबनान मिशेल अउनको कार्यकाल सन् २०२२ अक्टोबरमा समाप्त भएयता राष्ट्रपतिविहीन थियो । वर्तमान राष्ट्रपति अउन उनको उत्तराधिकारीसँग सम्बन्धित छैनन । इरान समर्थित हिजबुल्लाह आन्दोलन र यसका विरोधीहरू बीचको तनावले दर्जनौँ पूर्व मतदानहरू विफल बनाएको थियो ।
गत शरद ऋतुमा हिजबुल्लाह–इजरायल युद्धपछि दक्षिण लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सेनासँगै लेबनानी सेनाहरू तैनाथ गर्न युद्धविराममा १७ दिन मात्र बाँकी रहँदा सफल परिणामका लागि अन्तर्राष्ट्रिय दबाब बढेको छ ।
सन् १९७५–१९९० को गृहयुद्धको अन्त्यपछि राष्ट्रपतिको अधिकार घटाइएको छ । तर अन्तर्राष्ट्रिय ऋणदाताहरूले माग गरेको सुधारहरू गर्न सक्षम सरकारको नेतृत्व गर्न नयाँ प्रधानमन्त्रीको नामकरण गर्ने दिशामा परामर्शको निरीक्षण गर्न पद भर्नु महत्त्वपूर्ण छ ।
अउनलाई सेनाका समर्थक संयुक्त राज्य अमेरिकाका साथै क्षेत्रीय महाशक्ति साउदी अरेबियाको रोजाइका रूपमा व्यापक रूपमा हेरिएको थियो । स्रोतका अनुसार समूहका प्रतिनिधिहरूले ब्रेकको समयमा संसद्मा अउनसँग भेट गरे र सांसदहरू दोस्रो मतदानका लागि फर्किए ।
प्रकाशित समय : २१:४२ बजे