global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ चिकित्सक अभावले उपचार प्रभावित

चिकित्सक अभावले उपचार प्रभावित

चिकित्सक अभावले उपचार प्रभावित

बागलुङको धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ । तीन वर्षदेखि सक्रिय मनोरोग विभाग चार महिनायता ठप्पजस्तै बनेको अस्पतालले जनाएको छ ।

पछिल्लो समय मनोरोगका बिरामी बढ्दो क्रममा रहेका भन्दै मनोरोगको समयमा उपचार नहुँदा आत्महत्याको दर बढ्दै जाने चिकित्सक बताउँछन् ।

केबी रानामगर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रहँदा मनोरोग विभाग स्थापना गरी उपचार तथा मनोपरामर्श सेवा सञ्चालन गरिएको थियो । मनोरोगको उपचार थालेपछि पोखरा र काडमाडौँ जानुपर्ने झन्झट अन्त्य भएको थियो ।

पछिल्लो १२ महिनादेखि विभाग सञ्चालन गरिरहेका मनोचिकित्सक डा मानकाजी थापा भदौमा सङ्घीय सरकारअन्तर्गतको विभागमा सिफारिस भएपछि अस्पतालमा मनोचिकित्सकको पद खाली छ ।

अस्पतालले विशिष्टकृत सेवाका रूपमा दिइरहेको मनोरोग विभागमा अहिले एक जना मनोपरामर्शदाता मात्रै कार्यरत रहेको अस्पतालका मेडिकल रेकर्डर नवराज शर्माले जानकारी दिए । उनका अनुसार मनोचिकित्सक राजेन्द्र घिमिरे गएपछि एक महिना खाली भएको विभाग थापाको नेतृत्वमा सञ्चालनमा आएको थियो । गत भदौमा थापा पनि अन्यत्र सिफारिस भएपछि उक्त विभागमा चिकित्सकको अभाव भएको हो ।

गरिबी, सामाजिक, सांस्कृतिक लैङ्गिक विभेद, विलाशी जीवनशैली, आवश्यकता, वैदेशिक रोजगारीको प्रभाव, सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, पढाइको दबाब, दुव्र्यसन, एक्लोपन, अभिभावकले छोराछोरीलाई समय नदिनु, मानसिक तनाव, महत्वाकाङ्क्षी, मोबाइलको बढ्दो प्रयोगलगायत कारणले पछिल्लो समय मनोरोगका बिरामीको सङ्ख्या बढेको जिल्लास्थित जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ । मनोरोगको परिणाम आत्महत्यासम्मको जोखिम बढ्ने स्वास्थ्यकर्मी बताउँछन् ।

अस्पतालमा मनोचिकित्सकको दरबन्दी नभएकाले समस्या भएको अस्पतालका मेडिकल रेकर्डर शर्माले बताए । उनले मनोचिकित्सकको दरबन्दी कायम गर्न स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशमा समन्वय भइरहेको उनले उल्लेख गरे।

अस्पतालको मनोरोग विभागमा अहिले मनोपरामर्शदाताका रूपमा आशा थापा कार्यरत रहेका छन् । चिकित्सक नहुँदा औषधि दिनुपर्ने मनोरोगी, एन्जाइटीलगायत बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता रहेको थापाले बताए ।

बागलुङमा एक वर्षमा ६० जनाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । जिल्लामा हुने विभिन्न घटनामध्ये आत्महत्याको ‘ग्राफ’ बर्सेनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए । मनोरोग, उदासिनता, दुव्र्यसन, पारिवारिक समस्या, मायाप्रेम तथा वैदेशिक रोजगारीबाट उत्पन्न समस्यालगायता कारण आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको उनले बताए ।

झुण्डिएर, विष सेवन, हाम फालेर आत्महत्या गर्ने बढी रहेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७८/७९ मा ३७ जनाले आत्महत्या गरेकामा झुण्डिएर ३४, हाम फालेर दुई र विष सेवन एक जना रहेका प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । उनका अनुसार आव २०७९/८० मा ४५, गत आवमा ६० जनाले आत्महत्या गरेका छन् ।

प्रहरी निरीक्षक पौडेलले आत्महत्याको विषयमा जनचेतना फैलाउने, स्थानीय तहअन्तर्गत स्वास्थ्य संस्थाले मनोपरामर्श दिने, विभिन्न सङ्घ संस्थाले आत्महत्या रोक्न अभियान सञ्चालन गरिरहे पनि आत्महत्या गर्नेको सङ्ख्या भने बढ्दै गएको बताए । उनले पछिल्लो तीन वर्षको तथ्याङ्कका आधारमा आत्महत्या गर्नेको सङ्ख्या दोब्बरले वृद्धि भएको जानकारी दिए।

प्रकाशित समय : १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु