गृहपृष्ठ नेपाली बजारमा ओप्पोको ‘रेनो १२ एफ’ स्मार्टफोन सार्वजनिक
नेपाली बजारमा ओप्पोको ‘रेनो १२ एफ’ स्मार्टफोन सार्वजनिक
ओप्पोले नेपाली बजारमा ‘रेनो १२ एफ’ स्मार्टफोन सार्वजनिक गरेको छ । कस्मस रिङ डिजाइनमा आएको फोनलाई कम्पनीले एआई फोनका रूपमा प्रचार गरेको छ ।
यसअन्तर्गत फोनमा एआई इरेजरदेखि स्मार्ट इमेज म्याटिङ २.० जस्ता पछिल्ला एआई सुविधा दिइएको छ । यी सुविधाले फोटोग्राफीमा रचनात्मकता बढाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ । फोनमा क्वालकम स्न्यापड्रागन ६८५ फोरजी प्रोसेसर रहेको छ ।
क्लासिक घडीहरूबाट प्रेरणा लिएर फोनको पछाडि गोलाकार क्यामेरा मोड्युल दिइएको छ । पछाडिको क्यामेरा मोड्युल वरिपरि रहेको हेलो लाइटले क्यामेरा र फ्ल्यासलाई घेरामा सजाउँदै अनौठो प्रकाश प्रभाव सिर्जना गर्ने कम्पनीको भनाइ छ । यो प्रकाशले फोन प्रयोग गर्दा संगीतसँग सिंक्रोनाइज हुने र चार्जिङ, कल तथा नोटिफिकेसनबारे जानकारी दिनेछ ।
एम्बर ओरेन्ज, ओलिभ ग्रीन र म्याट ग्रे कलरमा उपलब्ध फोनको तौल १८७ ग्राममात्र छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा रहेको छ भने ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।
फोटोग्राफीका लागि एआई इरेजरले तस्बिरबाट अनावश्यक वस्तुहरू सजिलै हटाउने तथा नेचुलर ब्याकग्राउन्ड देखाउने कम्पनीले जनाएको छ । एआई स्मार्ट इमेज म्याटिङ २.० मार्फत एकसाथ धेरै विषयवस्तुहरूलाई अलग गरेर स्टिकरका रूपमा प्रयोग गर्न सकिने छ ।
प्रकाशित समय : १५:५२ बजे