global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ लुम्बिनीमा आठ वर्षपछि शाक्यमोन्लम पूजा

लुम्बिनीमा आठ वर्षपछि शाक्यमोन्लम पूजा

लुम्बिनीमा आठ वर्षपछि शाक्यमोन्लम पूजा

बुद्धजन्मस्थल लुम्बिनीमा आजदेखि ३३औँ शाक्यमोन्लम पूजा सुरु भएको छ । लुम्बिनी विकास कोषको पहलमा आठ वर्षपछि मानव कल्याण र विश्व शान्तिको कामनासहित लुम्बिनीमा शाक्यमोन्लम पूजा सुरु गरिएको हो ।

पच्चीस वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा आठ वर्षसम्म रोकिएको थियो । एकचालिसौँ शाक्या गोङ्मा ठ्रिछेन रिन्पोछेको उपस्थितिमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले १० दिने मोन्लम पूजाको शुभारम्भ गरेका हुन । उक्त अवसरमा उपाध्यक्ष डा लामाले भारतका ४१औँ शाक्य ठ्रिछेनको उपस्थितिमा विश्वकै ठूलो शाक्य मोन्लम पूजा गर्न पाएकामा खुसी लागेको बताए । उनले लुम्बिनीलाई आध्यात्मिक वातावरण बनाउन विभिन्न पूजा गर्ने गरिएको उल्लेख गर्दै शाक्य मोन्लम पूजाको निरन्तरताले ठूलो ऊर्जा थपेको बताए । उपाध्यक्ष डा लामाले लुम्बिनी विकास कोषसहित लुम्बिनी सांस्कृतिक नगरपालिका, होटल व्यवसायी, स्थानीय तथा सम्पूर्ण बौद्ध सम्प्रदायले प्रत्येक वर्ष यो पूजाको निरन्तरता चाहेको सन्देश दिएकोसमेत बताए ।

पूजामा विभिन्न मुलुकका लामा, भिक्षुभिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीको उपस्थिति रहेको छ । बिहानैदेखि लुम्बिनीमा गरिने प्रणिधान र बुद्ध पाठले लुम्बिनी गुञ्जायमान बनेको छ । जगत्को कल्याणका लागि जीवन अर्पित गरेका बोधिसत्वहरूका प्रणहरूको सम्झना गरेर शान्तिको कामना गरिएको छ ।

बौद्ध परम्पराअनुसार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा बिहानैदेखि त्रिरत्न बन्दनाको पाठ र समन्त भद्र प्रणिधान स्तोत्र गर्ने गरिएको छ । पूजामा लामा, भिक्षुभिक्षुणी, उपासक एवं उपासिकाको उपस्थिति छ ।

प्रकाशित समय : २१:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु