गृहपृष्ठ इलाम गोल्डकप: एनआरटी सेमिफाइनलमा
इलाम गोल्डकप: एनआरटी सेमिफाइनलमा

दोस्रो इलाम गोल्डकपअन्तर्गत आज भएको खेलमा जिटिए–११ एफसी दार्जिलिङलाई हराउँदै डिफेन्डिङ च्याम्पियन एनआरटी क्लब न्युरोड प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले जिटिए–११ लाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
मध्यान्तर अगाडिको खेलमा दार्जिलिङले पेनाल्टी प्रहारको फाइदा उठाउँदै आफ्नो टोलीलाई अग्रता दिलायो । खेलको ३७औँ मिनेटमा जिटिए दार्जिलिङका भाइचुङ राईले पेनाल्टीमार्फत गोल गरेका थिए । केहीबेरमा नै एनआरटीका खेलाडी नेमारले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।
दोस्रो हाफमा एनआरटीका मार्टीनले ८४औँ मिनेटमा गोल गरी आफ्नो टोलीलाई विजयी बनाए । खेलको ‘म्यान अफ दी म्याच’ एनआरटीक जय गुरुङ भए । उनले आठ हजार एक सयसहित ट्रफी प्राप्त गरे ।
सोमबार त्रिभुवन आर्मी क्लब काठमाडौं र चर्च ब्वाइज युनाइटेड काठमाडौंबीच खेल हुने आयोजक संस्थाले जनाएको छ । ‘ए’ डिभिजनसहित आठ टोली सहभागी उक्त प्रतियोगिता यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुने छ ।
प्रकाशित समय : २१:५० बजे