गृहपृष्ठ मानवसेवा आश्रम निर्मानार्थ महायज्ञः डाक्टर कँडेलको सेवासँगै दान
मानवसेवा आश्रम निर्मानार्थ महायज्ञः डाक्टर कँडेलको सेवासँगै दान

कर्णाली प्रदेशस्तरीय मानवसेवा आश्रम निर्मानार्थ महायज्ञको आइतबार तेस्रो दिन पुगेको छ। आठ दिनसम्म चल्ने महायज्ञमा कथावाचनसँगै थुप्रै कार्यक्रम भईरहेका छन्। जसमध्ये एउटा स्वास्थ्य शिविर हो। महायज्ञ अवधिभर प्रत्येक दिन निशुल्क स्वास्थ्य शिविर भईरहेका छन्। शिविरमा दक्ष चिकित्सकद्वारा नियमित स्वास्थ्य जाँचअन्तर्गतका सेवा निशुल्क प्रदान भईरहेका छन्।
आइतबार वरिष्ठ हाडजोर्नी रोग विज्ञेषज्ञ डा. रुपक कँडेलले आफ्नो तर्फबाट निशुल्क सेवा दिएका छन्। सुर्खेतको कर्णाली केयर इन्टरनेशनल अस्पतालमा कार्यरत कँडेलले महायज्ञको मुल आयोजक समितिको आग्रहमा निशुल्क सेवा दिएका हुन्।
स्वास्थ्य शिविरमा सहभागी भएर फर्किने क्रममा डा. कँडेलले मानवसेवा आश्रम निर्माणका लागि नगद सहयोग पनि गरेका छन्। उनले आफ्ना हजुरबुवा हरिलाल कँडेल र हजुरआमा हरिकला कँडेलको सम्झनामा आफनो परिवारको तर्फबाट ६ लाख ५५ हजार १५५ रुपैयाँ दान गरेका हुन्।
यस्तै प्रदेशस्तरीय मानवसेवा आश्रम भवनको एउटा कोठा निर्माण गरिदिने घोषणा पनि डा. कँडेलले गरेका छन्। मानव सेवा आश्रमको पहलमा यही मंसिर २१ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा श्रीमद भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ भईरहेको छ। महायज्ञबाट दानस्वरुप संकलन भएको रकम प्रदेशस्तरीय मानवसेवा आश्रम निर्माणमा लगानी गरिने छ।
यसक्रममा विभिन्न स्थानीय तहलगायतले आश्रम निर्माणका क्रममा सहयोग गर्ने घोषणा गरेका छन्।
प्रकाशित समय : २०:१९ बजे