गृहपृष्ठ जसको गिरफ्तारीले झनै चर्कायो भारत-बंगलादेश तनाव
जसको गिरफ्तारीले झनै चर्कायो भारत-बंगलादेश तनाव
बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूलाई दुर्व्यवहार गरिएको आरोपपछि ढाका र नयाँ दिल्लीबीच चलिरहेको दोषारोपणमाझ स्थिति नियन्त्रणबाहिर जाने जोखिम देखिएको छ।
एकदम निकट रहेका यी दुई छिमेकीबीचको कूटनीतिक सम्बन्धमा अगस्टमा प्रधानमन्त्री शेख हसिना आन्दोलनका कारण देश छाडेर भारततर्फ भागेपछि तिक्तता आएको छ।
गतसाता बंगलादेशमा एक साधु पक्राउ परेपछि तनाव थपिएको हो। उनको पक्राउपछि भारतीय हिन्दु संगठनहरू तथा सत्तारुढ भारतीय जनता पार्टीले समेत भारतमा प्रदर्शन गरेका छन्।
सोमबार भारतलाई लज्जित तुल्याउँदै अगरतला सहरमा अवस्थित बंगलादेशी वाणिज्यदूतावास भवनमा दर्जनौँ प्रदर्शनकारी जबर्जस्ती पसे र तोडफोड गरे।
त्यसको केही घण्टापछि आफ्नो वाणिज्यदूतावासमाथिको हमलाको विरोधमा ढाकामा विद्यार्थी तथा राजनीतिक कार्यकर्ताहरूले प्रदर्शन गरे।
भारत सरकारले यो घटनाबाट आफूलाई अलग गर्दै यसलाई ‘खेदजनक’ भन्यो।
‘कुनै पनि अवस्थामा कूटनीतिक र वाणिज्यदूतावासको सम्पत्तिलाई निसाना बनाइनु हुँदैन,’ भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भन्यो। उसले बंगलादेशका कूटनीतिक नियोगहरूको सुरक्षा बढाउने पनि बताएको छ।
सो घटनामा संलग्न सातजना पक्राउ परेका छन्।
तर, ढाका क्रुद्ध छ।
सो आक्रमणलाई ‘घृणित’ भन्दै बंगलादेशी विदेश मन्त्रालयले यसको गम्भीर छानबिन र भविष्यमा हुनसक्ने त्यस्ता हिंसात्मक घटना रोक्न दिल्लीलाई आह्वान गरेको छ।
‘यो निकै दुर्भाग्यपूर्ण घटना हो। यो स्वीकार्य छैन। हिन्दु अतिवादीहरूले परिसरमा पसेर झण्डा फहराए र बंगलादेशी झण्डाको अपमान गरे। हाम्रा कर्मचारी निकै डराएका थिए,’ बंगलादेशका विदेशमन्त्री सल्लाहकार तौहिद हुसेनले भनेका छन्।
भारतीय सञ्चारमाध्यमको गलत सूचनाका कारण यस्तो घटना भएको बंगलादेशी अधिकारीहरूको भनाइ छ।
‘दुर्भाग्यवश, भारतीय सञ्चारमाध्यम पागल भएका छन्। उनीहरू बंगलादेशलाई सकेसम्म अन्धकार देखाउन चाहन्छन्। मलाई थाहा छैन, उनीहरू किन यस्तो गरिरहेका छन्, यसबाट बंगलादेश र भारतलाई के फाइदा हुन्छ,’ हुसेन भन्छन्।
तर, भारतीय विज्ञहरू भने बंगलादेशमा भएका घटनाको असर छिमेकी मुलुकमा पर्नु स्वाभाविक भएको तर्क गर्छन्।
‘भारतमा आक्रोश बढ्दैछ। बंगलादेशले पहिले त्यहाँको अराजकता र खासगरी अल्पसंख्यकमाथि भइरहेका हमला सम्बोधन गर्नुपर्छ,’ बंगलादेशका लागि पूर्व भारतीय राजदूत पिनाक रञ्जन चक्रवर्ती भन्छन्।
भारतका लागि बंगलादेश साधारण छिमेकी मात्र होइन। ऊ भारतको रणनीतिक साझेदार हो र सीमा सुरक्षाका लागि महत्त्वपूर्ण सहयोगी पनि। दुवै देशबीच निकट सांस्कृतिक र भाषिक सम्बन्ध छ।
बंगलादेशको १७ करोड जनसंख्यामध्ये १० प्रतिशतभन्दा कम हिन्दु छन्। हिन्दु समुदायका अगुवाहरूले लामो समयदेखि इस्लामिस्ट र केही राजनीतिक दलबाट आफूहरूमाथि आक्रमण भइरहेको बताउँदै आएका छन्।
अगस्टमा हसिनाको सत्ता ढलेपछि उनका समर्थकहरू निसानामा परे। तीमध्ये कयौँ हिन्दु अल्पसंख्यक थिए। जो परम्परागत रूपमा हसिनाको दलका समर्थक मानिन्छन्।
केही साताको शान्तिपछि हिन्दु अगुवा चिन्मय कृष्ण दासको गिरफ्तारीले तनाव बढाएको छ।
अल्पसंख्यकको अधिकार माग गर्दै अक्टोबरमा चट्गाउँमा प्रदर्शन गरेपछि उनलाई देशद्रोहसहितको आरोप लगाइएको थियो। प्रदर्शनमा गेरुवा झण्डा फहराएको आरोप उनीमाथि छ।
गतसाता चट्गाउँको एक अदालतले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्यो। जसका कारण झडप भयो र एक मुस्लिम वकिलको ज्यान गयो। सो हत्या र हिंसाका लागि दर्जनौँ पक्राउ परेका छन्।
मंगलबार चिन्मय कृष्णदासको पक्षबाट अदालतमा कुनै वकिल उपस्थित नभएपछि उनको अर्को सुनुवाइ जनवरी २ लाई सारिएको छ।
प्रकाशित समय : २०:२५ बजे



















