गृहपृष्ठ के छायाँ सेन्टर भत्किने सम्भावना छ ?
के छायाँ सेन्टर भत्किने सम्भावना छ ?
पृथ्वीबहादुर पाँडे । यो नाम नेपालको बैंकिङ क्षेत्रका लागि परिचित छ । तर यीनको सार्वजनिक जग्गा अतिक्रमणप्रतिको आशक्तिले अहिले यस्तो अवस्था ल्याएको छ कि, सिंगो पृथ्वी नै दिएपनि यीनलाई कमै हुन्छ भन्ने भाष्य बन्दैछ । किनकि यीनीमाथि ठमेलको केन्द्रभागमा १२ रोपनी बढी जग्गा मिचेर व्यापारिक साम्राज्य खडा गरेको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ ।
ठमेलको केन्द्र भागमा ऐतिहासिक कमलपोखरी मास्दै पृथ्वीबहादुर पाँडेको समूहले छायाँ सेन्टर खडा गरेको छ । पाँडे तिनै व्यक्ति हुन्, जो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्षसमेत छन् । बैंकमा जनताको पैसा छ, त्यसैलाई लगानीको माध्यम बनाएर सार्वजनिक जग्गामा विशाल भवन बनाएर छायाँ सेन्टर नाम दिएको आरोप पनि खेपिरहेका छन् ।
लिच्छविकालिन इतिहास जोडिएको २६ रोपनी ५ आनामा रहेको कमल पोखरी मास्दै १२ रोपनी १३ आना २ पैसा २ दाम जग्गामा १५ तले विशाल महल खडा गरेका छन् । जुन विषयमा अहिले मुद्दामामिला चलिरहेको छ । तथ्य प्रमाणलाई केलाएर हेर्दा पृथ्वीबहादुर पाँडेले खडा गरेको साम्राज्य भत्काएर ऐतिहासिक कमलपोखरीको अस्तित्व फर्काउनुपर्ने देखिन्छ । अहिलेसम्म सर्वाेच्चको संकेत पनि त्यस्तै छ । तथापी मंसिर २४ गते अन्तिम फैसलाको मिति तय भएकोले त्यही दिन सर्वाेच्चले छिनोफानो गर्नेछ ।
अब तथ्य प्रमाणले के भन्छन्, त्यसमा जाऔं ।
कसरी मासियो ठमेलको कमल पोखरी ? र कसरी पुग्यो पाँडे समूहको कब्जामा ?
विक्रम संम्बत् २००० लाग्नुभन्दा अगाडीको अवधिमा यस्ता सार्वजनिक जग्गा प्राय मन्दिरका नाममा हुन्थे । कति राणाहरुले भोगचलन गर्थे । ऐतिहासिक तथ्यलाई हेर्दा यो जग्गा पनि बिक्रम संवत् १९७७ सालमा श्री ३ चन्द्र शमसेर राणाका छोरा केशर शमसेरले बलजफ्ती आफ्नो कम्पाउण्डभित्र पारेको देखिन्छ । तर पुजापाठमा समस्या भएको भन्दै स्थानीयको विरोधपछि १९७८ देखि उनले यो जग्गा प्रयोग गरेबापत बार्षिक १२५ रुपैयाँ दिने भए । राणाविरुद्ध लड्ने अवस्था नभएकाले जात्रापर्वमा फुलसम्म टिप्न पाउने गरि जग्गाको मोही केशरशमशेर नै कायम भए । तर भूमि सम्बन्धि ऐन २०२१ लागु भएपछि यो जग्गाहरु गुठीको नाममा आयो । तरपनि मोही केशर शमसेरकै परिवार कायम भयो । केशर शमशेरको मृत्यु पश्चात छोरा केयुर शम्शेरले जग्गा आफ्नो बनाउन कित्ताकाट गरे ।
२०३३ सालमा २६ रोपनी ५ आनामा फैलिएको पोखरी कित्ता नम्बर १६७ मा मात्र पारी १२ रोपनी १३ आना २ पैसा २ दाममा सीमित गरियो । सोही कित्ताको पोखरीमा अहिले छायाँ सेन्टर ठडिएको छ । छायाँ सेन्टर पोखरीमै बनेको हो भन्ने यो प्रमाण हेर्नुहोस्, नापीका आधारमा बनाएको फिल्ड बुकमा यो कित्ता पोखरी बनाई सार्वजनिक कायम गरिएको छ । २०३३ सालमा सर्वाेच्चले गरेको फैसलामा समेत यो जग्गा कमलपोखरी र विक्रमशील महाविहारअन्तर्गत सिंह सार्थबाहु गुठीका नाममा रहेको मिलापत्र गरिएको छ ।
यतिबेलासम्म पनि गुठी संस्थानको जग्गा भएपनि मोही चाहीँ केयुर शमशेर नै थिए । २०३९ सालमा उनले हतार हतार १६७ नम्बर कित्तालाई ३ भाग लगाए । त्यसमध्ये १६१८ कित्ता नम्बर आफ्नै नाममा कायम गरे । तर २०३३ सालमै गुठी ऐनले मोहीको हक समाप्त पारिसकेको थियो । यद्यपी सत्ता र शक्तिको आडमा उनले मोही नलाग्ने पोखरीमा दर्तावाल मोही कायम गराएका थिए ।
असली खेल केयुरको मृत्युपश्चात चल्यो । उनकी श्रीमती अम्बिका राणाले कमल पोखरीलाई ‘पोखरी नाम’को जग्गा भनी आफ्नो नाम ल्याउने प्रपञ्च सुरु गरिन् । २०४४ सालमा गुठी संस्थानका पदाधिकारी र केही व्यक्तिलाई प्रभावमा पारी यो जग्गा अम्बिका राणा र उनका दाजु शंकरप्रसाद शाहका नाममा नाटकिय रुपमा नामसारी भयो । तर २०६४ सालमा आएर उनीहरुले यो जग्गा अर्कै व्यक्तिलाई दिए । त्यो व्यक्ति अरु कोही नभएर आफ्ना नातेदार हिमालय शमशेर राणाकी छोरी तथा पृथ्वीबहादुर पाँडेकी श्रीमती प्रतिमा राणा पाँडे थिइन् ।
अब जग्गा पृथ्वी पाँडेको घरमा आईपुग्यो । र २०६५ सालमा प्रतिमाले पोखरीको जग्गा आफ्नै श्रीमान अध्यक्ष रहेको छायाँदेवी कम्प्लेक्स प्रा.लिका नाममा नामसारि गरिन् । जहाँ पृथ्वीबहादुर पाँडेले आफ्नी आमा छायाँदेवीको फोटो भित्तामा टाँसेर २०७१ सालमा छायाँ सेन्टर बनाए । जसमा अहिले पुरात्वात्तिक सम्पदालाई मासेर व्यापार चलिरहेको छ ।
उतिबेला राणाले गरेको जालझेल अहिले पाँडे समूहले गरिरहेको छ । छायाँ सेन्टर बन्नुभन्दा अघि नै २०६९ सालमा गुठीसम्बद्ध व्यक्तिहरुले यसका विरुद्ध मुद्दा हालेका छन् । अहिलेसम्म छायाँ सेन्टरका विरुद्ध १७ वटा मुद्दा सर्वाेच्चमा विचाराधीन छन् । तर मुद्दा विचाराधीन रहेकै बेला सत्ता र शक्तिको आडमा निर्माण सम्पन्न गरि पाँडेले सार्वजनिक स्थलमै १५ तले कंक्रिटको साम्राज्यमात्रै खडा गरेका छैनन्, बागमति सभ्यताकै चिरहरण गरेका छन् । तर पनि राज्यका निकाय मौन छन् ।
पाँडेले सबैभन्दा बलियो साथ नेपाली काँग्रेसका नेता रामशरण महतबाट पाएका थिए । अर्थमन्त्री रहेकै बेला महतकै बलमा छायाँ सेन्टर राज्यका निकायलाई चुनौती दिँदै ठडिएको निष्कर्ष सरकारी, सार्वजनिक र गुठीको जग्गा संरक्षण सम्बन्धि जाँचबुझ गर्न बनेको आयोगले निकालेको थियो । किनकि यहाँ महतका छोरा तथा पृथ्वीबहादुर पाँडेका दाईका ज्वाँई अमेरिकी नागरिक रक्षक महतको नाममा ५० लाख र रामशरण महतकी बुहारी पारुल पाँडे महतका नाममा समेत ८ लाख ५७ हजार २ सय बराबरको सुरुवाती शेयर लगानी पाइएको छ । छायाँ सेन्टरका ४३ जना लगानीकर्तामध्ये रक्षक र पारुलका नाममा समेत शेयर रहेको छ । अहिले सार्वजनिक जग्गा मिचिएको र जुनसुकै बेला उठिबास लाग्ने अवस्था देखेपछि शेयरधनी घटेर १७ जनामा सीमित बनेका छन् ।
के यो भत्काउन सम्भव छ ?
भक्तपुरमा रहेको कमलपोखरी पनि यसैगरि भूमाफियाले कब्जा गरि संरचना बनाएका थिए । १५ रोपनी नौं आना सार्वजनिक जग्गा २०४२ सालमा विभिन्न व्यक्तिको नाममा विक्रि भएको थियो । तर स्थानीयहरुले विरोध गरि अदालतमा मुद्दा हाले । जिल्ला अदालत भक्तपुरले २०७५ असार २० मा फैसला गर्दै ऐतिहासिक कलमपोखरी अथवा पलेस्वाँ पुखुःलाई सार्वजनिक पोखरीका रूपमा कायम गर्ने फैसला ग¥यो ।
यो नजिरले पनि छायाँ सेन्टरले हडपेको जग्गा फर्किने सम्भावना छ । विगतमा भक्तपुर र भारतको नाइडामा यस्तै प्रकृतिका संरचना भत्काएको उदाहरण दिएर अहिलेसम्म संसदमा यो विषय १२ पटक कुरा उठेको छ । सांसद प्रेम सुवालले मात्रै नौं पटक आवाज उठाएका छन् भने गतबर्षको फागुन १० मा अमरेश सिंहले समेत बोलेका थिए ।
५ अर्ब लगानीमा बनेको यो भवन एकै ठाउँमा सबै सुविधा भएको मिनि ठमेल बनाउने उद्देश्य राखि तयार पारिएको हो । अहिले यहाँ ५ तारे होटलदेखि सिनेमा हल लगायतका संरचना छन् । चारवटा बैंकको मुख्य लगानी देखिन्छ । पृथ्वीबहादुर पाँडे आफै नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका अध्यक्ष हुन् । उनले राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट बैंक, नेपाल बैंक र प्रभु बैंकबाट समेत रकम लिएर लगानी गरेका छन् । उनीसहित रास्वपाका नेता सुमन विक्रम पाण्डे पनि यसका लगानीकर्ता हुन् ।
अब सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा रहेको यो मुद्दामा मंसिर १७ गते दुवै पक्षले लिखित बहस नोट पेश गरेपछि २४ गते फैसला हुने सम्भावना छ । विगतका नजिर र तथ्यले पाँडे समूहबाट यो जग्गा खोस्नैपर्ने देखिन्छ । तर यो अब सर्वाेच्चको फैसलामा निर्भर बनेको छ ।
०००
प्रकाशित समय : ०९:०० बजे