global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान’ सम्पन्न, राष्ट्रपतिद्वारा पुरस्कार प्रदान

‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान’ सम्पन्न, राष्ट्रपतिद्वारा पुरस्कार प्रदान

‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान’ सम्पन्न, राष्ट्रपतिद्वारा पुरस्कार प्रदान

‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’ आज सम्पन्न भएको छ । चलचित्र विकास बोर्डद्वारा शीतलनिवासमा आयोजित कार्यक्रममा चलचित्रका विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा कलाकारहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान तथा पुरस्कार प्रदान गरेका छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधिमार्फत नेपालको प्रकृति र संस्कृति समेटेर अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्र निर्माण गर्न आग्रह गरेका छन् । उनले चलचित्रलाई नेपालको पर्यटन उद्योगसंँग जोड्नसमेत आग्रह गरे।

उनले भने, “नेपाली भाषा संस्कृति तथा परम्पराको जगेर्नामा नेपाली चलचित्रको भूमिका महत्वपूर्ण छ । चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभएर समाज, जीवन र जगतलाई अभिव्यक्त गर्ने सशक्त माध्यम पनि हो ।”

उनले पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिँदा दर्शकले औधी रुचाउन थालेको पनि उल्लेख गरे । राष्ट्रपति पौडेलले मौलिक कथा, प्रस्तुतिमा नविनता र अधिक सृजनशीलताले नेपाली चलचित्र क्षेत्रलाई नयाँ उचाईमा पु-याउने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले भने, “आधुनिक युगमा चलचित्र कुनै पनि समाजको संस्कृति, पहिचान र विविधतालाई देश तथा विदेश पु-याउने माध्यम बनेको छ । यसबाट लाभ लिन जरुरी छ ।”

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपालको महत्वपूर्ण एक अङ्ग चलचित्र रहेको बताए । उनले भने, “चलचित्रको महत्व सरकारले राम्रोसँग बुझेको छ । यस क्षेत्रलाई सम्मानित बनाउन लागिरहेका छौँ । प्रविधिगत विकाससँगै समयानुकूल बनाउने हाम्रो लक्ष्य छ । यसका लागि देखिएका कठिनाइलाई विस्तारै सुधार गर्दै अगाडि बढिरहेका छौँ ।”

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले बनाएको योजना र गरिरहेको कामको नतिजा केही समयमा देखिने बताए । उनले भने, “अहिले हामी विसं २०२६ को ऐनमा चलिरहेका छौँ । अहिलेको समयमा चलचित्र क्षेत्रलाई अगाडि बढाउन नयाँ ऐनको विकल्प छैन । त्यसैले यो हाम्रो आवश्यकतालाई यसैवर्ष पूरा गर्ने अठोट लिएको छु र यसमा सम्बन्धित निकायको पूर्ण सहयोग हुन्छ भन्नेमा विश्वस्त छु ।”

‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ को निर्णायक समितिको संयोजक निर्देशक बद्रीबहादुर अधिकारी र सदस्यमा बोर्ड सदस्य रविचन्द्र अधिकारी, कलाकार सुशील, छायाँकार गौरीशङ्कर धुजु, सवनम मुखिया, निर्देशक दीपा पाण्डे बस्नेत र सोमप्रसाद खतिवडा छन्।

प्रकाशित समय : २१:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु