global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ कीर्तिपुर नगरपालिका उपनिर्वाचन: मतदाता रिझाउँदै उम्मेदवार

कीर्तिपुर नगरपालिका उपनिर्वाचन: मतदाता रिझाउँदै उम्मेदवार

कीर्तिपुर नगरपालिका उपनिर्वाचन: मतदाता रिझाउँदै उम्मेदवार

यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारहरु मतदाता रिझाउनमा व्यस्त छन् । कीर्तिपुर नगरपालिकामा नगरप्रमुखसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागिसमेत उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मतदानको ७२ घण्टा अगाडि अर्थात् मङ्सिर १३ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । त्यसैले यहाँ सबै उम्मेदवार मतदाता रिझाउने अन्तिम प्रयासमा जुटिरहेकी छन् । कीर्तिपुर नगरपालिकामा मतदाता शिक्षा कार्य र आचारसंहिता पालनाका सम्बन्धमा प्रभावकारी अनुगमन भइरहेको उनले बताइन ।

कीर्तिपुर नगरपालिकामा कूल ३१ हजार एक सय १२ मतदाता रहेका छन् । कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र र विभिन्न दलका गरी जम्मा २० उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । त्यसमध्ये नौ उम्मेदवार विभिन्न राजनीतिक दल, एक यौनिक अल्पसङ्ख्यक तथा ११ स्वतन्त्र उम्मेदवार छन् ।

कीर्तिपुर नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार सङ्घीय राजधानीमै रहेको र सबैभन्दा बढी प्रतिनिधि छान्ने स्थानीय तह भएकाले यहाँ सबैको चासो र ध्यान केन्द्रित भएको देखिन्छ । “सबै दलका र स्वतन्त्र उम्मेदवारले आ–आफ्नो ढङ्गले चुनावी प्रचारप्रसार गरिरहनुभएको छ, उहाँहरु बोलाएका समयमा सर्वदलीय बैठकमा आएर सहयोग गरिरहनुभएको छ”, उनले भनिन।

कीर्तिपुरमा १५ हजार ९५ पुरुष, १६ हजार १५ महिला र दुई अन्य मतदाता रहेका निर्वाचन अधिकृत कार्कीले जानकारी दिइन । कीर्तिपुरमा चुनावी माहोल सौहाद्र्ध रुपमा अघि बढिरेको छ । निर्वाचन कार्यालयलाई सबै राजनीतिक दल र उम्मेदवारबाट पूर्ण सहयोग भइरहेको तथा सबै निर्णय बहुमतबाट नभइ सर्वसम्मतिका आधारमा भइरहेको उनले बताइन । आचारसंहिताको परिधिभित्रै रही उम्मेदवारले चुनावी सभा र घरदैलो कार्यक्रम गर्दै मत मागिरहेकी छन् ।

मुख्य प्रतिस्पर्धा प्रमुख तीन दलबीच

मतदातासँगको छलफल र कुराकानीका आधारमा प्रमुख दलबीच नै बढी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यद्यपि स्वतन्त्र उम्मेदवारको पक्षमा पनि मतदाताको अभिमत जान सक्ने अवस्थालाई नकार्न भने सकिन्न । नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार कृष्णमान डङ्गोलले चुनाव प्रचारप्रसारको काम प्रारम्भिक रुपमा १० वटै वडामा पूरा गरेको उल्लेख गर्दै बेथिति र विकृति अन्त्य गरी विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको जनभावना बुझेको प्रतिक्रिया दिए।

उनले भने, “नगरका प्राथमिकता शिक्षा, स्वास्थ्य, रोजगार, वातावरण, सडक र खानेपानी नै हुन । अव्यवस्थित बसोबासको अन्त्य र खानेपानीको कमी हटाइ पर्याप्त खानेपानीको व्यवस्था गरी बाहैमहिना आपूर्तिमा ध्यान पु-याइने छ ।”

नेकपा (एमाले)बाट नगरप्रमुखका उम्मेदवार डा सुरेन्द्र मानन्धरले आफू निर्वाचित भएको खण्डमा शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, भौतिकपूर्वाधार, कला, संस्कृति, सङ्गीत, खेलकुद, फोहरमैला व्यवस्थापन, खानेपानी, ज्येष्ठ नागरिक, प्रशासनिक सुधार गर्ने जनता समक्ष प्रतिबद्धता गर्दै मतदाताको घरदैलो गरिरहेको बताए ।

यस्तै माओवादी केन्द्रबाट नगरप्रमुखका उम्मेदवार शिवशरण महर्जनले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रवद्र्धलाई मुख्य एजेण्डा बनाउँदै नगरमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायत समस्या समाधान गर्न लागिपर्ने प्रतिबद्धता जनाए ।

केही पार्टीले चुनावमा खटिने कार्यकर्तालाई प्रशिक्षण दिँदै आफना उम्मेदवारको पक्षमा मत माग्न मतदाताको ढोका–ढोकामा पुग्न दलसँग आबद्ध भातृ सङ्गठनका प्रतिनिधिलाई निर्देशन दिइरहेकोसमेत देखिन्थ्यो । नगरपालिकाको सभाहलमा मतगणनास्थल कायम गर्ने गरी सर्वदलीय सहमति भइसकेको छ । मतपत्र नगरप्रमुख र वडाध्यक्षको फरक फरक भएकाले मतदान भएको दुई दिनभित्रै मतगणना सम्पन्न गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित समय : १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु