global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ‘स्वस्थ तनमनको आधारशिला खेलकुुद’

‘स्वस्थ तनमनको आधारशिला खेलकुुद’

‘स्वस्थ तनमनको आधारशिला खेलकुुद’
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले स्वस्थ तनमनको आधारशिला खेलकुुद भएको बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) कास्कीद्वारा आज पोखरामा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले स्वस्थ शरीरमा स्वस्थ मन हुने र स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताए ।
‘स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो । अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगी सिद्ध छ”, प्रमुख भट्टले भने, “स्वस्थ शरीर र निरोगी मस्तिष्कबाट नागरिकले सुन्दर भविष्यको रूपरेखा कोर्छन् । अनि मात्र मुलुक समृद्ध बन्दछ ।”
खेलकुद र शिक्षा एक अर्काका पूरक भन्दै प्रमुख भट्टले शिक्षासँगै खेलकुदको माध्यमबाट सर्वाङ्गीण विकासका लागि विद्यालयको महत्त्वपूर्ण भूमिका हुने बताए । खेलकुद विकासको आधारस्तम्भ विद्यालय रहेको बताउँदै उनले दक्ष जनशक्ति, सुयोग्य नागरिक उत्पादनको कारखानाको रूपमा रहेको विद्यालयमा खेलकुदको विकासको विकल्प छैन भने।
पछिल्लो समय नेपाल खेलकुदको माध्यमबाट समेत विश्वमाझ परिचित हुँदै गएको बताउँदै प्रदेश प्रमुख भट्टले सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरूलाई खेलकै माध्यमबाट पराजित गर्न सकेको र खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको धारणा राखे ।
खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशिला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढिरहेको प्रमुख भट्टको भनाइ छ ।
‘स्वास्थ्य, अनुशासन र प्रतिभा प्रस्फुटनका लागि खेलकुद’ नाराका साथ आयोजित खेलकुद महोत्सवमा कास्कीका ७५ विद्यालय तथा कलेजका पाँच हजारभन्दा बढी विद्यार्थीले विभिन्न विधाका खेलकुद प्रतियोगितामा सहभागिता जनाउने हिसान कास्कीका सचिव किरण सापकोटाले जानकारी दिए।

प्रकाशित समय : २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु