गृहपृष्ठ ‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ महिला फुटबल प्रतियोगितामा हलेसी च्याम्पियन
‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ महिला फुटबल प्रतियोगितामा हलेसी च्याम्पियन
हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा सोही नगरपालिका–७ हलेसीस्थित महादेवस्थान च्याम्पियन बनेको छ । हिन्दू, बौद्ध किरात धर्मावलम्बीको सङ्गकस्थल हलेसीस्थित बसाहाथान खेलमैदानमा आज साँझ सम्पन्न फाइनल खेलमा पद्म स्पोर्टस क्लब ओखलढुङ्गालाई ट्राइबेकरमा हराउँदै हलेसी महादेवस्थान च्याम्पियन बनेको हो ।
निर्धारित समयमा दुवै टोलीबाट गोल नभएपछि ट्राइबेकरमार्फत छिनोफानो गरिएको प्रतियोगितामा हलेसी महादेवस्थानले तीन गोल गर्दा ओखलढुङ्गाले दुई गोल मात्र गर्न सफल भएको थियो । च्याम्पियन बनेको हलेसी महादेवस्थानले नगद एक लाख ११ हजार एक सय ११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको उपविजेता बनेकोे ओखलढुङ्गाले नगद ५५ हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । सेमिफाइनलिष्ट भोजपुर नगरपालिका भोजपुर र जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ खोटाङले जनही नगद २२ हजार दुई सय २२ सहित प्रमाणपत्र प्राप्त गरेको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिए ।
प्रतियोगिता अवधिभरका बेष्ट प्लेयर (उत्कृष्ट खेलाडी) बन्नुभएकी हलेसी महादेवस्थानका खेलाडी प्रतीक्षा ठकुरीले नगद एक हजार पाँच सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बेष्ट डिफेण्डर हलेसीकै कर्सा ओली, बेष्ट मिडफिल्डर ओखलढुङ्गाकी खुस्मा राई, हाइ स्कोरर (सर्वाधिक गोलकर्ता) ओखलढुङ्गाकै सुप्रिया मियाँ, बेष्ट किपर (गोल रक्षक) हलेसीका सुजता तामाङ र बेष्ट कोच (उत्कृष्ट प्रशिक्षक) हलेसीका लोकेन्द्र केसी घोषित भएका छन् ।
विद्यागत पुरस्कार विजेता खेलाडीले जनही एक हजार एक सय ११ को साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी टोली र खेलाडीलाई कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’, नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले पुरस्कार वितरण गरे।
खेलको माध्यमबाट महिलाको शक्ति प्रदर्शन गर्नका लागि नगरपालिकाको आयोजनामा पहिलो पटक सर्वाधिक राशिको खुला महिला फुटबल प्रतियोगिता आयोजना गरिएको नगरप्रमुख राईले बताए । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले गरेका थिए।
‘मेरो गोल, लैङ्गिक हिंसाविरुद्धको बोल’ नारासहित मङ्सिर–८ गतेदेखि सुरु प्रतियोगितामा खोटाङ, भोजपुर र ओखलढुङ्गा गरी १६ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा खोटाङकै प्रथम महिला रेफ्री शशी राई, रोदिना राई र युनिसा राईसहित अन्य दुई जना पुरुष रेफ्रीमार्फत खेल सम्पन्न गराइएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिइन ।
यसैबीच, महिला जनप्रतिनिधिका लागि आयोजित म्युजिकल चियर प्रतियोगितामा उर्मिला विश्वकर्मा प्रथम भएका छन् । नगरपालिकाभित्रका १९ जना महिला जनप्रतिनिधि सहभागी प्रतियोगितामा दिक्षा राई द्वितीय र जुना राई तृतीय भएका छन् ।
म्युजिकल चियर प्रतियोगितामा विजयी जनप्रतिनिधिलाई क्रमशः नगद तीन हजार तीन, दुई हजार दुई र एक हजार एकको साथमा प्रमाणपत्र प्रदान गरिएको छ । नगरपालिकाको आयोजनामा सञ्चालित प्रतियोगिता उद्घाटन तथा समापनमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको साङ्गीतिक प्रस्तुतिसमेत रहेको थियो ।
प्रकाशित समय : २१:११ बजे




















