गृहपृष्ठ सुदूरपश्चिममा शेरबहादुरमाथि अपमान र सम्मानको राजनीति
सुदूरपश्चिममा शेरबहादुरमाथि अपमान र सम्मानको राजनीति

राष्ट्रका लागि खुल्ला छोडिएको खुल्लामञ्चबाट जनतालाई फटाहा बद्मास भनेका शेरबहादुर देउवालाई आफ्नै जिल्लाबासीले लखेट्ने प्रयास गरे ।
सम्भवतः सुदूरका शेर शेरबहादुरलाई पहिलोपटक आफ्नै जिल्लाबासीले जायज प्रश्न उठाउन सक्ने ताकत देखाएका थिए । किनकि उनी सुदूरपश्चिमका राजाजस्तै हुन् । शेरबहादुरका अघि झुक्ने र लुक्नेमात्रै छन् । तर यसपटक गृहजिल्ला पुग्दा शीर शिउरिएर छुप्नुपर्ने अवस्थामा पुगे । मान सम्मानभन्दा बढी अपमानको सामना गर्नुपर्यो । विगतमा जिल्ला पुगेर गरेका वाचा सम्झाउँदै कार्यकर्ता र सुरक्षा घेराभित्र रहेका शेरबहादुरलाई केही युवाले निर्मम प्रश्न गरे । ‘चुनावका बेला राजधानी ल्याउँछु भन्नु भएको थियो । खोई ? सडक पीच गरेको खोई ?’, युवाहरु प्रश्न गर्दै पछिपछि शेरबहादुर जवाफ छल्दै अघिअघि दौडिनुपर्यो ।
गृहजिल्लामै युवा प्रहारको शिकार बनेका शेरबहादुरले शुक्रबारको पत्रकारको सम्मेलनमा भने खुलेआम झुट बोले । युवाहरुले उठाएको प्रश्न थियो, ‘सुदूरपश्चिमको राजधानी डडेल्धुरा ल्याउँछु भन्नु भएको थियो । किन आएन ? तर जवाफ दिँदै उनले भने, ‘मैले राजधानी ल्याउँछु भनेकै थिएन ।’
तर चुनावका बेला बसपार्कमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले भनेका थिए, ‘ राजधानी ल्याउनु कुनै ठूलो कुरा होइन । डडेल्धुरामै ल्याउन सकिन्छ ।’
हुनत् बुढेशकाल लागेर पनि होला, चुनावका बेला मतदाता रिझाउन आफैले बोलेका कुरा देउवाले खुलआम बिर्सिएका छन् ।
रोचक त के भयो भने, चण्डमुसण्डहरुले शेरबहादुरमाथिको अपमानको बद्ला उनकै पत्नी आरजुलाई सम्मान दिएर गर्नका लागि उर्दीजस्तै चलाए । पति एकसाताको प्याकेज बनाएर गृहजिल्ला प्रवेश गरेकै बेला शुक्रबार आरजु पनि सुदूरपश्चिम पुगिन् । नेपाली काँग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले विज्ञप्ती निकाल्दै कार्यकर्ता र आमजनतालाई फुलमालासहित जयजयकारमा आउन आह्वान गर्यो । यो विज्ञप्तीको पुछारमा लेखिएको छ, ‘फुलमालासहित उपस्थितिका लागि हार्दिक अनुरोध ।’
उहिले राजा रानी सवारी हुँदा बाटोमा ढकुरे हेर्नेको जमात हुन्थ्यो । तर राजाले फुलमाला लिएर आउ चाहीँ भन्दैन थिए । गणतन्त्रमा शेरबहादुरहरु राजाकै जस्तो जीवन बाँच्न थालेपछि उर्दी पनि सामान्य बन्दै गएको छ । देशको नेतृत्व गरिरहेका शासकहरुको रवैया हेर्दा जनता कालोमोसो बोकेर बस्ने तहमा पुग्दैछन्, कार्यकर्ताले चाकडी गर्न फुलमाला र अबिर जात्राको आह्वान गर्न थालेपछि यसलाई असामान्य मानिएको छ ।
आखिर भयो पनि त्यस्तै, आरजुको मानसम्मान र जयजयकार धनगढीबाटै सुरु भयो । विमानबाट जमिनमा पाइला टेक्ने बित्तिकै टक्क गलामा रुद्राक्षको माला, खादा र सयपत्रीले आरजुको खातिरदारी गरियो । त्यसपछि आरजु बोल्न थालिन् । सुदूरको सबैभन्दा ठूलो मुद्दा बन्दै गएको लथालिङग गेटा सञ्चालनदेखि सरकारसम्मका प्रश्नमा जवाफ दिनुपर्यो । तथापी उनी खास उद्देश्यभन्दा पनि मेला भर्न गृहजिल्ला गएकी हुन्।
सुदूरपश्चिमका लागि आरजु तिनै व्यक्ति हुन्, जसले चुनावका बेला काँग्रेसलाई भोट हालेमात्रै बजेट पाउने भन्दै कार्यकर्तामाझ धम्की आशयको भाषण गरेकी थिइन् । उनले फ्रि भिसा फ्रि टिकटको लोभसमेत देखाएकी थिइन् । अहिले जनताले प्रश्न गर्दैछन्, सुदूरमा काँग्रेसले जितेपछि कति बजेट आयो र कता खर्च भइरहेको छ । किनकि उनले आफ्ना उम्मेदवारलाई भोट दिए छ्यालब्याल् बजेट आउने नत्र नआउने शैलीको भाषण गरेकी थिइन् । जुन राज्य जनतालाई गर्ने समान व्यवहारका विरुद्ध थियो ।
पाँचपटक प्रधानमन्त्री भएर सात पटकको तयारी गरिरहेका देउवाबाट साँचो अर्थमा जनताले पाउनुपर्ने जति विकास निकास नपाएको यर्थात् हो । फलतः अहिले निर्मम प्रश्न गर्ने र उस्तै परे लखेट्नेसम्मको योजनामा जनता देखिन्छन् । २०४८ सालदेखि ८१ सम्म त्यही क्षेत्रको निर्णायक प्रतिनिधि भएर राजनीति गरिरहेका देउवासँग असलीरुपमा जनता निकै आक्रोशित छन् । फलतः सागर ढकालजस्ता युवाहरु प्रतिद्वन्द्वी बन्दा शेरबहादुरहरुलाई मुस्किल चुनाव जित्नुपरिरहेको छ ।
तर यसपटक पनि उनले आश्वासन भने बाड्न छुटाएनन् । यसअघि नै उनले चुनावी अभियानका क्रममा सुदूरपश्चिमको राजधानी डडेल्धुरा ल्याउनेदेखि एअरपोर्ट बनाउने र महाकाली नदीमा भारतसँग जोड्ने पक्की पुल बनाउने आश्वासन बाँडेका थिए । कञ्चनपुर र डडेल्धुुरा जोड्ने दैजी–जोगबुुडा सडक ट्र्याक खुलेको ४० वर्षसम्म कष्टपूर्ण यात्रा गर्नुपरेको छ । यीनै एजेण्डामा टेकेर देउवा देशको राजनीतिको मुलप्रवाहमा राज गरिरहँदा जनताले भने राउटेसरहको जीवत ब्यतित गर्नुपरेको बाध्यता एकातिर छ । सायद नागरिकले पनि स्वविवेकिय मूल्यांकन सुरु गरेर हुनुपर्छ, हिजो ढोग गर्नेहरुले अब ठोक भन्न थालेका छन् । शिर्षस्थहरुले शिर जोगाउन नसके यो श्रृंखल्ला थप बढ्ने पक्का छ ।
प्रकाशित समय : १२:१६ बजे