गृहपृष्ठ पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न शिक्षामन्त्रीको निर्देशन
पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न शिक्षामन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सानोठिमीस्थित विभिन्न कार्यालयहरूको बिहीबार निरीक्षण गरेकी छन्। विशेष शिक्षा परिषद्को बैठकको अध्यक्षता गर्न परिषदको सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पुगेकी मन्त्री भट्टराईले बैठकपछि केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखाको निरीक्षण गरेकी हुन्।
निरीक्षण लगत्तै मन्त्री भट्टराईले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न र पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन सुझाव दिइन्। उनले चिकित्सा शिक्षा आयोग, मान्यता तथा समकक्षता, छात्रवृत्ति र वैदेशिक सम्बधनमा सञ्चालित विद्यालय सम्बद्ध काम गर्ने शाखाको निरीक्षण गरी कार्यप्रवाह, समस्या र चुनौतीबारे जानकारी समेत लिइन्।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रसँगको अन्तर्क्रियामा मन्त्री भट्टराईले अनुसन्धानलाई वास्तविक बनाई अनुसन्धानका उपलब्धिलाई कार्यान्वयन गर्नका निम्ति योजनासहित अन्तर निकाय समन्वय गर्न सुझाव दिइन्।
प्रकाशित समय : १२:०८ बजे