काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ट्रम्पको शक्तिशाली पुनरागमनका १० कारण

3.46K
shares

रिपब्लिकनहरुले ‘हाउट हाउस’मात्रै कब्जा गरेका छैनन्, अमेरिकी संसद सिनेटमा समेत जबरजस्त बहुमत हासिल गर्दै डेमोक्र्याटहरुलाई पाखा लगाएका छन् । अनेक मुद्दा मामिला र विवादबाट गुज्रिएर चुनाव प्रचारका क्रममा कान नै उडेपनि गोलीको शिकार बन्नबाट बचेका ट्रम्पले अन्ततः विश्वका सबैभन्दा शक्तिशाली राष्ट्रपतिको रुपमा पुनरागमन गरेका छन् । अमेरिकी जनताले ट्रम्पमाथि नै विश्वास गरेपछि कमला ह्यारिस पछारिइन् । त्यसका खास केही कारणहरु छन्, जसलाई हामी श्रृंखलाबद्ध तरिकाले प्रस्तुत गर्दैछौं ।

कारण नम्बर एक : जो बाइडेनको फितलो कार्यकाल

बुढा र बिरामी राष्ट्रपति जो बाइडेन । जसको कार्यकालमा अर्थतन्त्र थलियो, महंगी आकासियो र कानुन निर्माणमा ढिलासुस्ती भयो । सुरुमा चुनावी रेसमा आफै उत्रिए । हार्ने मूल्यांकनपछि कमला ह्यारिसलाई अघि सार्दै उम्मेदवार बनाए । जबकि सर्वेक्षणले पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामालाई उम्मेदवार बनाउँदा जित निकाल्ने प्रक्षेपण गरेका थिए । यसर्थ ट्रम्पको जितमा बाइडेनको औसत कार्यकाल नै कारण बन्यो ।

कारण नम्बर २ : एलन मस्कसहितका धनाढ्यहरुको समर्थन

ट्वीटरले डोनाल्ड ट्रम्पको एकाउन्ट नै डिलिट गरेपछि एलन मस्कले त्यही ट्वीटर नै किनेर एक्स बनाएका थिए । जो अहिले ट्रम्पकै प्रमुख आर्थिक दाताका रुपमा उभिए । ट्रम्पलाई गरेको आर्थिक सहयोगकै कारण उनीले मुद्दा खेपेर अदालतको कठघरामा समेत उभिनुपर्‍यो । धनाड्यहरुले यसरी साथ दिएपछि यसैपनि व्यापारी रहेका ट्रम्पलाई चुनाव जित्न सहज भयो । जितपछि ट्रम्पले एलन मस्कलाई रिपब्लिकनका ‘नयाँ स्टार’ भनेका छन् ।

कारण नम्बर ३ : कमला ह्यारिस

महिलालाई पटकपटक अमेरिकाले अस्वीकार गरेको विगत छ । हिलारी क्लिन्टनको हारदेखि कमलासम्मै आईपुग्दा अमेरिकामा महिला अनुमोदित हुन सकेनन् । अहिलेसम्मका ४७ मध्ये एकजना पनि महिला राष्ट्रपति बनेका छैनन् । ६० औं राष्ट्रपतीय निर्वाचनमा विश्व हाँक्ने संकल्पसहित चुनावमा होमिएका ह्यारिसलाई अमेरिकी नागरिकले साँचो बुझाउन चाहेनन् । उनले उठाएका महिला र प्रजजन अधिकारसम्बन्धीका एजेन्डाहरुमा महिलाहरुको ऐक्यवद्धता भएपनि मतमा परिणत हुन सकेन । त्यतिमात्रै नभएर आप्रवासी नै भएपनि आप्रवासीहरुकै मत पाउन सकिनन् । त्यसमध्ये पनि भारतीय मुलका आप्रवासीको मतसमेत ह्यारिसको पक्षमा देखिएन ।

कारण नम्बर ४ : विश्वमा भइरहेका युद्ध र ट्रम्पले गरेको युद्ध रोक्ने घोषणा

अहिले रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । रुसलाई हराउन अमेरिकी नागरिकले कर तिरेको पैसा पटकपटक युक्रेनमाथि खर्च गरेपछि असन्तुष्ट चुलिएको थियो । इजरायल र हमाससहित मध्यपूर्वको युद्धमा इजरायली प्रधानमन्त्री बेन्जामीन नेतान्याहूलाई च्यापेर हतियारदेखि ठूलो धनराशी खर्च भएपछि खस्किँएको अर्थतन्त्रमा असर गरेको थियो । जसको अमेरिकीहरुले पटकपटक विरोध गरे । तर पनि युद्ध चर्काएर उपलब्धी हासिल गर्न नसकेपछि त्यसको असर चुनावमा देखियो । तर यहिबेला ट्रम्पले आफुले जिते चलिरहेका युद्ध रोक्ने र कमलाले जिते तेस्रो विश्वयुद्ध हुने दाबी नै गरेपछि जित्न सहज भयो ।

कारण नम्बर ५ : विश्वका शक्तिशाली नेताहरुको समर्थन

ट्रम्पलाई विश्वका महाशक्ति राष्ट्रका शक्तिशाली नेताहरुको मौन समर्थन देखियो । जहाँ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि चिनियाँ राष्ट्रपति सी जिनपिङ र उत्तर कोरियाका किमजोङ उनको मात्रै होइन, कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत मौन समर्थन देखियो । जहाँ भारतीय आप्रवासीको मत तान्न ट्रम्पले मोदी कोट लगाउनेदेखि भारतीयसँग आफ्नो सामिप्यता रहेको जिकिर समेत गर्न भ्याए । किनकि आप्रवासीमध्ये सबैभन्दा धेरै भारतीय मुलका मतदाता दोस्रो संख्यामा थिए । त्यसमा पनि ह्यारिस भारतीय मुलकै भएकाले ट्रम्प मत काट्नुपर्ने बाध्यता थियो ।

कारण नम्बर ६ : ट्रम्पका जबरजस्त एजेन्डा

ट्रम्पले प्रथमतः प्रोजेक्ट २०२५ नै बनाएर आफ्ना एजेन्डाहरु अघि सारेका थिए । एकबर्ष अगाडीदेखि नै एजेन्डामा अडिग रहेर मेक्सिकोमा पर्खाल लगाउनेदेखि ‘अमेरिकन फस्ट’को नारा अघि सारेका थिए । कर घटाउनेदेखि रैथाने अमेरिकनदेखि प्रवासमा रहेका अमेरिकनहरुको संरक्षण जस्तो गम्भीर मुद्दालाई बोक्न सफल भए । त्यसबाहेक घट्दो आयस्रोतका बीच आप्रवासीहरुले गर्दै आएको सस्तो मूल्यको श्रमलाई रोक्ने उनको एजेन्डालाई असली अमेरिकनहरुले साथ दिए । ५० राज्य रहेको अमेरिकामा डोमोक्रेटको दबदबा रहेका स्टेटहरुमा पनि उनले प्रचार शैलीले हस्तक्षेपकारी देखियो ।

कारण नम्बर ७ : मतमा व्यक्त पुरातनवादी सोच

बर्षौदेखि गोराको राज भएको अमेरिकामा कालो वर्णकी कमल ह्यारिसलाई छान्न मतदातालाई सकस पर्‍यो । जतिसुकै लोकतान्त्रिक भनिएपछि पुरातनवादी सोच हाबी हुँदा ट्रम्पलाई फाइदा भयो । कट्टर पुरातनवादीको प्रतिनिधित्व गर्ने ट्रम्पले पुर्खौली मुद्दालाई समेत बोक्दा उनी चुनावमा सफल भए ।

कारण नम्बर ८ : ट्रम्पको कुटनीति

विश्वमै अमेरिकी दबदबा र अमेरिकी राज हेर्न चाहने अमेरिकनहरु आफ्नो शासकले विश्वमाथि नै शासन गरेको हेर्न चाहन्छन् । कुटनीति र विदेश नीतिमै फेल खाएको आरोप झेलेका बाइडेनको उत्तराधिकारी ह्यारिसलाई निर्वाचित गराउँदा उही शैली दोहोरिने चिन्ता उनीहरुको थियो । जहाँ पहिलो राष्ट्रपति बन्दा नै आफ्ना कटु सत्रु राष्ट्रहरुसँग सम्बन्ध विस्तार गर्न सफल भएकोदेखि ट्रम्पले उत्तर कोरियामा गरेको भ्रमणलाई समेत अमेरिकनहरुले सम्झिए । यता कुटनीतिलाई हतियारको व्यापारसँग समेत जोडेर हेर्ने अमेरिकाले मध्यपूर्वको तेल कुटनीतिमा समेत ट्रम्पका भावी योजनालाई मन पराएका छन् ।

कारण नम्बर ९ : गोली खान तयार ट्रम्प

चुनावी सभाकै क्रममा ट्रम्पमाथि दुईपटक गोली प्रहार भयो । तर कानमा टेप लगाएरै भएपनि ट्रम्पले चुनावी अभियानलाई निरन्तरता थिए । त्यसले पनि जनताको सेन्टिमेन्ट बटुल्न सफल भए । यता ह्वाइट हाउसबाटै बाइडेनले पटकपटक गरेका आक्रमणलाई समेत उनले अभियानबाटै जवाफ दिए । ट्रम्पलाई मतदान गर्ने फोहोरी हुन् भन्ने बाइडेनको भनाइपछि ट्रम्पले मैदानमै उत्रिएर फोहोर संकलन गरेका थिए । जसलाई जवाफको सही शैलीका रुपमा जनताले अथ्र्याए ।

कारण नम्बर १० : अमेरिका बचाउने नेतृत्वको खोजी

आर्थिक, सामाजिकदेखि राजनीति संकट झेलिरहेको अमेरिका जबरजस्त नेतृत्वको खोजीमा थियो । तर दुईवटै उम्मेदवारलाई जनताले परीक्षण गरेका थिए । यसअघि नै राष्ट्रपति बनेका ट्रम्प र पाँच बर्ष उपराष्ट्रपति बनेरै बिताएकी ह्यारिसको कार्यकाललाई दाँजेर हेर्दा अमेरिकनले आवश्यकता ट्रम्पको देखे । किनकि यतिबेला आक्रामक नेतृत्व लिएर विरासत धान्नसक्ने नेतृत्वको खोजी भइरहेको छ । पाँच बर्ष उपराष्ट्रपति चलाउँदा पनि कमला ह्यारिसले सम्झिनलायक उपलब्धी नदिएको आरोप झेलिरहेकी थिइन् । जसले उनलाई चुनाव हराउन भूमिका खेल्यो ।

अब के हुन्छ ?

ट्रम्पको पुनरागमनपछि अब अमेरिकी नीति कस्तो हुन्छ भन्ने चासोको साथ हेरिएको छ । किनकि अमेरिकी नेतृत्वकै कारण विश्व राजनीतिको धार बग्नेछ ।

१. विश्व व्यापारमा सन्तुलित अवस्था बन्नसक्छ ।
२. बन्द रहेको रुस र अमेरिकाबीचको व्यापार सुचार हुने आश छ ।
३. चीन र भारतसँग चिड्ढिएको व्यापार सम्बन्ध सुधार हुनसक्छ ।
४. बाइडेनकै बलमा युद्ध खेलेका युक्रेनी राष्ट्रपति जेलेन्स्किीलाई धक्का लाग्नसक्छ ।
५. ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहूँको नयाँ सम्बन्धले मध्युपूर्व युद्धको छिनोफानो गर्नसक्छ ।
६. ट्रम्प र मोदीको पुरानो सम्बन्ध पुनरागमनले नेपालमाथि भने भारतीय दबाब एकक्षत्र बन्नसक्छ ।
७. विश्वका विभिन्न संघसंस्थालाई अनुदान दिएर पाल्दै आएको अमेरिकाले सहयोग कटौती गर्नसक्छ, जसको असर बहुराष्ट्रिय संघसंस्थालाई पर्नेछ ।
८. विश्वमा भइरहेका युद्धहरु कि रोकिनेछन्, कि ट्रम्पकै सनकका कारण झन चर्किएर तेस्रो विश्वयुद्धको संकट आउनेछ ।
९. इरान, भारत र चीनजस्ता मुलुक मिलेर बनेको ब्रिक्सले आफ्नै मुद्रा निकाल्ने तयारी छ । यसको सामना पनि ट्रम्पलाई चुनौती बन्नेछ ।
१०. ट्रम्पको आप्रवासी नीतिले अमेरिकालाई सपना बनाएर अवैध तरिकाले भित्रिन खोज्ने विश्वभरकै नागरिकलाई अफ्ठ्यारो पर्नसक्छ ।

२०१६ मा डोनाल्ड ट्रम्प पहिलोपटक राष्ट्रपति बने । २०२० मा जो बाइडेनसँग चुनाव हारे । २०२४ मा जो बाइडेनको फितलो प्रस्तुतिकै कारण जनताले दोस्रो कार्यकालका लागि चुने । अमेरिकी जनताले पत्याएपछि कसको के लाग्छ, कुल ५३८ मतमध्ये चुनाव जित्न २७० इलेक्टोरल मत ल्याउनुपर्छ । तर ट्रम्पको २७९ पुग्यो । कमला ह्यारिसका पक्षमा भने २१९ मात्रै खस्यो ।

ट्रम्पलाई भोट गर्नेमध्ये झण्डै एक लाखको संख्यामा नेपाली मुलका अमेरिकनहरु पनि छ । ८२ करोडभन्दा बढी मतदाताले भोट गरेका छन् । ट्रम्पको कडा आप्रवासन नीति र राष्ट्रिय सुरक्षाको एजेन्डाले अमेरिकी सपना पालेर बसेका धेरैलाई चिन्तित पनि बनाएको छ । त्यसमध्ये अवैध तरिकाबाट अमेरिका छिर्ने योजना बनाएकाहरु प्रताडित बन्नुपर्ने हुन पनि सक्छ । किनकि उनले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउने योजना अघि सारेका छन् । फलतः अवैध आप्रवासनबारे चिन्ता लिएका रैथाने अमेरिकीहरुले उनलाई मतमार्फत समर्थन दिए ।

०००