गृहपृष्ठ महाकुम्भ सन् २०२५ मा एआइको प्रयोग हुने
महाकुम्भ सन् २०२५ मा एआइको प्रयोग हुने

आगामी महाकुम्भ सन् २०२५ को तयारीमा उत्तर प्रदेश सरकारले प्रयागराज रेलवे स्टेशनहरूलाई निगरानी गर्न प्रविधिसँग सुसज्जित गरेर भक्तहरूको सुरक्षालाई प्राथमिकता दिइरहेको छ ।
महाकुम्भमा पहिलो पटक सिसिटिभी क्यामेरासँगै एक सय फेसियल रिकग्निसन ९एफआर० क्यामेरा जडान हुन लागेको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) द्वारा सञ्चालित यी एफआर क्यामेराहरू संदिग्ध गतिविधिहरूको निगरानी र सम्भावित खतराहरू पहिचान गर्न अत्यधिक प्रभावकारी छन् ।
महाकुम्भमा करिब १० करोड मानिसले रेलबाट यात्रा गर्ने अपेक्षा गरिएको छ । यसलाई ध्यानमा राख्दै प्रयागराज रेलवे डिभिजनले विशेष सुरक्षा व्यवस्था गरेको छ ।
प्रयागराज रेलवे डिभिजनका पिआरओ अमित सिंहले भक्तजन र पर्यटकहरूका लागि सुरक्षित र सहज अनुभव सुनिश्चित गर्न व्यापक सुरक्षा उपायहरू अन्तर्गत एआई–आधारित एफआर क्यामेराहरू लगाइने बताए ।
यी क्यामेराहरूले एआई टेक्नोलोजी प्रयोग गरेर अनुहारहरू चिन्न सक्छन् । यसले ठूलो भीडमा पनि संदिग्धहरूलाई पहिचान गर्न अनुमति दिन्छ । यो क्षमताले संदिग्ध गतिविधिहरूलाई रोक्न र भीडको अवस्थाहरू बढ्नुअघि नियन्त्रण गर्न मद्दत गर्दछ ।
सिंहका अनुसार छ सय ५० सिसिटिभी क्यामेराबाहेक पहिलो पटक प्रयागराजको रेलवे स्टेशनहरूमा एक सय एफआर क्यामेराहरू जडान गरिनेछ । प्रयागराज सहरका सबै नौ रेलवे स्टेशनका रुट र प्लेटफर्मको अनुगमन गरिनेछ ।
यो काम डिसेम्बरको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । महाकुम्भ सुरु हुनुअघि जनवरीसम्ममा सबै उपकरण सञ्चालनमा ल्याइनेछ ।
प्रकाशित समय : २०:०३ बजे