गृहपृष्ठ तिहारमा एक अर्ब ११ करोडको भाइमसला आयात, काजुमात्रै २६ करोडको भित्रियो
तिहारमा एक अर्ब ११ करोडको भाइमसला आयात, काजुमात्रै २६ करोडको भित्रियो
नेपालीका चाडवाड भड्किलो बन्दै जाँदा खर्च पनि त्यहीअनुसार बढ्दै गएको छ ।
खासगरी दशैंतिहारका लागि विदेशबाट अर्बौँका खानेकुरा भित्रिने गरेका छन् । नेपालीको दोस्रो ठूलो चाडका रुपमा परिचित तिहारलाई लक्षित गर्दै भारत, चीन र तेस्रो मुलुकबाट अर्बौँका खानेकुरा भित्रिएका छन् ।
चाडवाड भड्किलो बन्दै जाँदा नेपालको घाटा पनि दिनदिनै चुलिँदो छ । नेपाली परम्परामै नभएको भाइमसला अहिलेको तिहारमा अत्यावश्यक बनिसकेको छ । भाइमसलाका लागि मात्रै नेपालको बर्षेनि अर्बौँ रुपैयाँ बाहिरिने गरेको छ ।
यस पटकको तिहारलाई लक्षित गरेर एक अर्ब ११ करोड सात लाख रुपैयाँ बराबरको भाइमसला अर्थात ड्राइफ्रुट्स आयात गरिएको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा मात्रै त्यतिका परिमाणको सामान आएको हो । भन्सार विभागका अनुसार भाइमसलामा हालिने काजु, बदाम, ओखर पेस्ता, नरिवल, छोकडा किसमिस त्यतिका परिमाणमा आयात भएका हुन् ।
भन्सार विभागको तथ्यांकअनुसार तिहारलाई लक्षित गरी सबैभन्दा धेरै काजु आयात गरिएको छ । काजु मात्रै तीन महिनामा २६ करोड एक लाख रुपैयाँ बराबरको २ लाख ९८ हजार ९४६ किलो आयात विभागको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी यही तीन महिनाको अवधिमा २० करोड ९८ लाख ३९ हजार रुपैयाँको ६ लाख ७ हजार २ सय २५ केजी ओखर आयात भएको छ । यस्तै, १८ करोड ५९ लाख ५८ हजारको २ लाख ३२ हजार ६९३ किलो बदाम आयात भएको छ ।
विभागका अनुसार १० करोड ६१ लाख ६१ हजार रुपैयाँको तीन लाख २४ हजार ६ सय ७५ किलो किसमिस आयात भएको छ ।
तीन लाख २० हजारको नरिवल, दुई लाख रुपैयाँको कटुस, एक करोड ४५ लाखको पेस्ता, एक करोड ३० लाखको छोकडा पनि आयात भएको छ ।
प्रकाशित समय : २०:४२ बजे