गृहपृष्ठ केरुङबाट १३ टन तौलका गाडी मात्रै आउजाउ गर्न पाउने, मंगलबारदेखि एकतर्फी रूपमा यातायात सञ्चालन हुने
केरुङबाट १३ टन तौलका गाडी मात्रै आउजाउ गर्न पाउने, मंगलबारदेखि एकतर्फी रूपमा यातायात सञ्चालन हुने
चीनसँगको व्यापारिक नाका रसुवातर्फको केरुङ सडकमा सामानसहित १३ टनका सवारी साधन मात्रै आउजाउ गर्न पाउने भएका छन् ।
सीमा क्षेत्रका चिनियाँ अधिकारीहरूले सोमबार रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेललेलाई दिएको सूचना अनुसार क्षतिग्रस्त सडकको ट्रयाक खोल्ने काम मात्रै भएकाले ठूला कन्टेनर र हेभी व्यापारिक सामान बोक्ने सवारी साधन चलाउन तत्काललाई असम्भव हुने जनाएका हुन् ।
नाका बन्द भएको एक महिनापछि मंगलबारदेखि एकतर्फी रूपमा यातायात सञ्चालन गर्न लागिएको हो । नेपालतर्फको रसुवागढीबाट चीनको केरुङसम्म २४ किमि सडक गत असोज दोस्रो साताको बाढीले क्षति पुर्याएको थियो । चिनियाँ प्राविधिकहरूले हेभी इक्विमेन्ट प्रयोग गरी एक महिनासम्म लगातार प्रयास गर्दा पनि सडक सञ्चालन गर्न कठिन भएको छ ।
बाढीपहिरोका कारण तातोपानी र रसुवा नाका जोड्ने सडक क्षतिग्रस्त भएपछि उत्तरका दुई स्थलमार्गबाट हुँदै आएको चीनसँगको व्यापार ठप्प हुँदै आएको थियो । तातोपानी नाका तीन दिन पहिलेदेखि सञ्चालनमा आएको छ । रसुवातर्फको नेपाली भूभागको सडक कामचलाउ भए पनि चिनियाँ क्षेत्रमा भने तहसनहस भएको रसुवा भन्सारका अधिकारीहरू बताउँछन् ।
रसुवा भन्सार अधिकृत तथा सूचना अधिकारी रविन्द्र प्याकुरेलले अहिले सरकारले तोकेको लक्ष्य अनुसार मासिक २ अर्ब ५० करोड राजस्व संकलन गर्नुपर्छ । तर राजस्व संकलन महिना दिनदेखि ठप्प छ ।
चीनबाट मुख्यतया तयारी पोसाक, ज्याकेट, कस्मेटिक, स्टेसनरी सामान, जुत्ता, व्याग, कृषि तथा जलविद्युतका मेसिनहरू, इलेक्ट्रिक गाडी, फर्निचरलगायतका सामान आयात हुने गरेको छ ।
तिहारमा भने सजावटका सामान बढी मात्रामा आउने गरेको छ । नाका बन्द भएपछि रसुवाबाट आयात गर्न तयारी गरिएका बिजुलीका झिलीमिली सामान केरुङ गोदाममा थन्किएका छन् ।
बाढीले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबिसे–मितेरीपुल सडक खण्ड खुलेपछि तातोपानी नाका पूर्वअवस्थामा सञ्चालनमा आएको छ । उक्त नाकाको लार्चा, कोदारी र लिपिङमा बाढीले बढी क्षति गरेको थियो ।
लार्चास्थित भोटेकोशी र लिपिङ खोलामा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ । कोदारी पहिरो पन्छाएर अस्थायी रूपमा गाडी आउजाउको व्यवस्था मिलाइएको हो ।
तातोपानी भन्सार अधिकृत तथा सूचना अधिकारी सूर्य काफ्लेका अनुसार ठूला कन्टेनरबाट सामान आउन थालेको छ । उनका अनुसार अहिले दैनिक ३० देखि ३५ वटा नेपाली कन्टेनर भन्सारबाट छुट्ने गरेको छ । तिहारका लागि आयात गरिएका स्याउ, ओखर, फलफूललगायत खाद्य बस्तु धेरै भित्रिने गरेको छ ।
तयारी पोसाकलगायतका व्यापारिक सामान भने न्यून परिमाणमा मात्र भित्रिने गरेको काफ्लेले जानकारी दिए । दसैं, तिहार र छठ पर्वमा बिक्री गर्न आयात गरिएका व्यापारिक मालबस्तु चीनको सडक र गोदाममा थन्किएको महिना दिन बितेको छ । सडक सञ्चालन भए पनि अहिल्यै सबै सामान नेपाल भित्रिने सम्भावना नभएको व्यापारीहरूको भनाइ छ ।
स्याउ आयातकर्ता विष्णु श्रेष्ठले तातोपानी नाकाबाट आयात गर्न खोजिएको स्याउ बोकेका कन्टेनर अझै ल्याउन नसकिएको बताए । स्याउका कतिपय कन्टेनर चीनतर्फ फर्काएर कोल्डस्टोरमा राखिएको छ ।
केरुङ सडक अवरुद्ध हुँदा नेपाली व्यवसायीको करोडौं मूल्यका व्यापारिक मालवस्तु महिना दिनदेखि सीमा र चीनका विभिन्न सहरका गोदाममा थन्किएका छन् । यस अवधिमा नेपाली व्यवसायीको करोडौं मूल्यका फलफूल तथा मसलाजन्य खाद्य वस्तु भने कुहिएर नोक्सान भएको छ । केही फलफूल र तयारी पोसाकलगायतका व्यापारिक सामान अहिले पनि केरुङका गोदाममा रहेका छन् ।
‘एकतर्फी र निश्चित तौल भएको गाडी मात्र आउजाउ गर्न पाउने सूचना आएको छ,’ प्रजिअ पौडेलले भने । व्यवसायीले भने प्रतिकन्टेनर ६–७ टन सामान एकतर्फी आयात गर्न सक्ने व्यवस्थाले व्यापार सहज रूपमा गर्न नसकिने बताए ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले कम्तीमा २० टन सामान ल्याउन नदिने हो भने नाका खोल्नु र नखोल्नुको अर्थ नहुने बताए । व्यापारीलाई कम तौलको सामान ढुवानी गर्दा घाटा हुने उनले बताए ।
‘नाका खोलियो भन्ने सन्देश मात्र हो । कारोबारका हिसाबले उपलब्धि हुँदैन,’ उनले भने । केरुङतर्फको सडकको धेरै ठूलो भाग भोटेकोशी नदीमा भासिएको र पहरा फोरेर ट्रयाक खोल्नुपर्ने अवस्था रहेको सीमाका नेपाली अधिकारीहरूले बताए ।
प्रकाशित समय : २१:४९ बजे



















