जडीबुटी व्यवसायबाट मासिक एक लाखबढी आम्दानी
वि.सं.२०८१ कात्तिक ७ बुधवार १५:४२
shares

धरान उपमहानगरपालिका–१५ मा जडिबुटी व्यवसाय सञ्चालन गरी शेर्पा समुदायका महिलाले मासिक एक लाखसम्म आम्दानी गर्दै आएका छन् ।
यहाँका महिलाले यार्सागुम्बा, चिराइतो, पदमचाल, हर्चो, पाषाणभेद, सतुवा, जेठीमधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिमुरलगायत तीन सयबढी जडीबुटी बिक्री गर्दै आएका छन् ।
करिब २० वर्ष अघिदेखि जडीबुटी व्यवसाय गर्दै आएकी धरान–१५ की फूपुुपोंग्सुवा शेर्पाले यही व्यवसायबाट मासिक एक लाखदेखि एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको जानकारी दिइन । जडीबुटी बेचेर जीविकोपार्जन हुदैँन भन्नेलाई उनि एक सफल व्यवसायीका रुपमा उदाहरणीय बनेकी छन् ।
पोंग्सुवाले भनिन, “लामो समय जडीबुटी बोकेर हटिया बजारतिर घुम्दै बेच्ने गरिन्थ्यो । अहिले स्थायी रुपमा जडीबुटी बेच्ने व्यवसाय सञ्चालन गरिरहेको छु ।” सुरुवाती समयमा धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली, पोखरा, रामेछाप, काठमाडौं लगायत ठाउँमा घुमेर जडीबुटी बिक्री गर्ने गरेको बताउँदै उनले अहिले इटहरी उपमहानगरपालिका–६ मा पसल सञ्चालन गरेको जानकारी दिइन।
पोंग्सुवाले भनिन, “सुरुमा व्यापार कम थियो, घरखर्च पु-याउन समस्या हुन्थ्यो । अहिले समय फेरिएसँगै व्यापार पनि बढेको छ । परिवारको खर्च, छोराछोरी पढाउन सबै यही व्यापारले पुगेको छ, धरान–१५ बगरकोटमा दुई तले घर पनि बनाएकी छु ।”
पहिले गाउँदेखि सहरसम्म महिनौँदिन लगाएर हिँडेर व्यापार गर्दा खर्च जुटाउन गाह्रो हुने गरेको सुनाउँदै उनल अहिले मासिक एक लाख ५० हजार बढी आम्दानी हुने गरेको जानकारी दिइन। किमाथाङ्का, सङ्खुवासभा, सोलु भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासा, सिक्किम, दार्जिलिङलगायत भारतका विभिन्न स्थानबाट जडीबुटी खरिद गरेर बिक्री गर्ने गरेको उनले बताइन।
“सामान खरिद गर्न कहिले आफैँ जाने गरेको छु भने कहिले अनलाइन मगाउने (अर्डर) गरेपछि गाडीमार्फत आउँछ”, पोंग्सुवाले भनिन । जडीबुटी बेच्न अनुमतिपत्र (लाइसेन्स) लिइसकेपछि अहिले व्यवसाय सञ्चालनमा सहजता आएको उनले बताइन। नगरपालिकाले हरेक वर्ष औषधि व्यापारसम्बन्धी तालिम दिने गरेकाले थप हौसला प्राप्त भएको उनको भनाइ छ ।
उनि जस्तै धरान–८ का आचुङ्मा भोटे इटहरी–६ स्थित टेङ्ग्रा खोलाको नजिकै रहेको पुल किनारको खुल्ला आकाशमुनी पारिलो घाममा जडीबुटी बिक्री गरिरहेको अवस्थामा भेटिइन । उनले बिक्रीका लागि विभिन्न प्रकारका जडीबुटी आकर्षक देखिनेगरी खोला किनारमा लहरै राखेकी छन् । उनले भनिन, “१८ वर्षदेखि यही व्यापार गर्दै आएको छु, सबै खर्च कटाएर मासिक ६० हजारबढी आम्दानी हुने गरेको छ ।”
दावाले नेपालका विभिन्न ठाउँ र भारतबाट जडीबुटी आउने गरेको बताइन। उनले भनिन, “अन्य पेसामा ज्ञान नभएकाले जडीबुटी व्यवसाय रोजेको हुँ । सस्तोमा पाँचदेखि तीन हजारसम्मका जडीबुटी बिक्री हुन्छन् ।” उनका अनुसार पसलमा अहिले दुई सयबढी किसिममा जडीबुटी छन् ।रासस

























