गृहपृष्ठ साइबर अपराध छापामा श्रीलङ्कामा २३० चिनियाँ पक्राउ
साइबर अपराध छापामा श्रीलङ्कामा २३० चिनियाँ पक्राउ
श्रीलङ्काली प्रहरीले अनलाइन ठगीमा अन्तर्राष्ट्रिय बैंकहरूलाई लक्षित गरेको आरोपमा दुई सय ३० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको विदेशमन्त्रीले मङ्गलबार बताएको छ । यस कार्यमा बेइजिङबाट पठाइएका सुरक्षा अधिकारीहरूको सहयोग रहेको थियो ।
विदेशमन्त्री विजिता हेराथले गत साता गरिएको प्रहरी छापामा कथित ठगीमा प्रयोग गरिएका दुई सय ५० कम्प्युटर र पाँच सय मोबाइल फोन पनि जफत गरिएको बताए । कति रकम चोरी भएको थियो भन्नेबारे अनुसन्धान जारी रहेको जानकारी दिए ।
“उनीहरूले विशेषगरी विदेशी बैंक र वित्तीय संस्थाहरूलाई लक्षित गरेका छन्”, हेराथले छापामा लक्षित गिरोहहरूका बारेमा भने ।
कोलम्बोस्थित चिनियाँ दूतावासले श्रीलङ्काली प्रहरीसँग ‘विशेष अभियान’ सञ्चालन गर्न सुरक्षा अधिकारीहरूको एउटा ‘कार्य समूह’ पठाएको थियो ।
“ठूलो सङ्ख्यामा आपराधिक संदिग्धहरू पक्राउ परेका छन्”, दूतावासले वक्तव्यमार्फत भनेको छ, “स्वदेश फिर्ता र अन्य कामहरू जारी छन् ।”
सबैभन्दा ठूलो शनिबार भएको छापामा प्रहरीले एक सय २६ चिनियाँ पुरुषका साथै दुई भियतनामी, एक थाई र एक फिलिपिनोलाई पक्राउ गरिएको थियो ।
श्रीकङ्कासँग बलियो दूरसञ्चार पूर्वाधार छ । मुलुकको आर्थिक पतन हुनुभन्दा तीन वर्षअघि सन् २०१९ को जुन–अप्रिलमा श्रीलङ्का दक्षिण एसियामा फाइभ जी नेटवर्क सुरु गर्ने पहिलो मुलुक थियो ।
दूतावासको विज्ञप्तिमा चीनमा साइबर अपराधीहरूमाथिको कडाइले केहीलाई विदेशमा आपराधिक अवसरहरू खोज्न प्रेरित गरेको हुनसक्ने बताइएको छ । “चीन श्रीलङ्कासँग कानून कार्यान्वयन सहयोग थप सुदृढ गर्न तयार छ”, विज्ञप्तिमा भनिएको छ ।
जुनमा प्रहरीले अर्का दुई सय जना संदिग्धलाई पक्राउ गरेको थियो । उनीहरू मुख्यतया भारतीय थिए । उनीहरूमाथि पनि अनलाइन वित्तीय ठगी सञ्चालन गरेको आरोप लगाइएको थियो ।
प्रकाशित समय : २३:३० बजे


















