गृहपृष्ठ दुईदिने नेपाल भाषा साहित्य तःमुञ्या सम्पन्न
दुईदिने नेपाल भाषा साहित्य तःमुञ्या सम्पन्न
जनता म्वाःसा भाषा म्वाई अर्थात जनता रहे भाषा रहन्छ भन्ने उद्घोषका साथ भक्तपुरको कमलविनायकमा आयोजित ४४ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत सम्मेलन) सम्पन्न भएको छ ।
नेपाल भाषा (नेवारी भाषा) को क्षेत्रमा नेपालकै सबैभन्दा ठूलो मानिएको साहित्य सम्मेलन सोमबार बिहान ११ बजे सुरु भई आज सम्पन्न भएको आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुले जानकारी दिए।
सम्मेलनमा विभिन्न साहित्यकार तथा साहित्यप्रेमीहरूले आ–आफनो कविता, कथा र निबन्ध वाचन गरेका थिए भने बिच–बिचमा राजनीतिज्ञ, विभिन्न विषयका ज्ञाता, अनुभवी तथा विशेष अतिथिहरूले आ–आफनो अनुभव एवं ज्ञानबारे जानकारी दिएका थिए ।
आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ, सङ्घीय सांसद प्रेम सुवाल, डा शम्भु पहाडी, डा सरोज धिताल, स्त्री तथा प्रसूतिसेवा विशेषज्ञ डा सानुमैयाँं श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ एवं साहित्यकारहरूले नेपाल भाषा साहित्य सम्मेलन र यसको महत्वमाथि आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ, सम्पदा संरक्षणकर्मी भागवत नरसिंह प्रधान, शिक्षासेवी मोहनप्रसाद प्रजापति, समाजसेवी जगतलाल मानन्धर, बौद्धिक व्यक्तित्व रत्नसुन्दर शाक्य, अग्रज किसान ललित अवाल, पुराना सफाइ मजदुर गणेशराम दुवाल र सांस्कृतिक गुरु रत्नभक्त न्हेम्हाफुकीलाई नेमकिपा अध्यक्ष बिजुक्छेँले सम्मानसमेत गरे।
तःमुंज्याले समाज, देश र जनताको निम्ति महत्वपूर्ण योगदान गर्ने महानुभावहरूलाई सम्मान गर्दै आएकामा यसवर्ष पनि विभिन्न क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्तित्वहरूलाई सम्मान गरिएको आयोजक समितिका अध्यक्ष लवजुले जानकारी दिए ।
सम्मेलनको क्रममा दुवै दिन विभिन्न नृत्य, ख्याल(व्यङ्य), गीत र एकाङ्की नाटक प्रस्तुत गरिएका थिए ।
प्रकाशित समय : २१:५१ बजे