global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ डेङ्गु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव

डेङ्गु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव

डेङ्गु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव

चिकित्सकहरूले डेङ्गु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उनीहरूले दीर्घ रोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्न सक्ने औँल्याए ।

धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने बताए ।

“डेङ्गु सङ्क्रमण हुँदैमा आत्तिइहाल्नुपर्दैन, डेङ्गुले शरीरमा प्लेटलेट्स मात्रा घटाउन सक्छ, यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्छ”, उनले भने, “प्रशस्त आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभाबी औषधि सेवन गर्नु हुँदैन ।” कतिपयमा डेङ्गीले जटिलता ल्याउन सक्ने भन्दै सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्ने उनको भनाइ छ ।

डेङ्गुबाट बच्ने उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको प्रमुख चिकित्सक प्रधानले बताए । डेङ्गु सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिक स्थलमा पानी जम्न दिन नहुने उनले बताए ।

डेङ्गुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने प्रमुख चिकित्सक प्रधानले बताए ।

गण्डकी प्रदेशका कास्की, तनहुँलगायतका जिल्लामा गत असारयता डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म गण्डकीका ११ वटै जिल्लामा गरी १२ हजार बढीमा डेङ्गुको संक्रमण पुष्टि भएको छ ।

डेङ्गुबाट कास्कीमा पाँच, म्याग्दीमा एक र तनहुँमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीका अनुसार असारदेखि कात्तिकसम्म डेङ्गुको संक्रमण बढी फैलने गर्छ ।

उनले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेङ्गु तीव्र रूपमा फैलिएको बताए । डेङ्गु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए ।

प्रकाशित समय : ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु