गृहपृष्ठ बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या
बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या
अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा दुई हजार ५३३ परिवार प्रभावित भएका छन् । लगातारको वर्षापछि बागमती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो ।
बाढीले बाँध फुटाएर गाउँमा पसेपछि जिल्लाको दक्षिण पश्चिममा रहेका आठवटा पालिका प्रभावित भएका हुन् । बाढी तथा डुबानमा परेर २९० घर पूर्णरुपमा नष्ट भएको छभने ५७४ घरमा आंशिक क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए।
यस्तै, जिल्लामा एक हजार ६६९ घर बाढी पसेर डुबाएको छ । बाढी तथा डुबानमा परेर घरबास गुमाएका परिवार नजिकैका आफन्तकामा शरण लिएर बसिरहेका प्रजिअ अधिकारीले जानकारी दिए। केहीलाई स्थानीय प्रशासनले नजिकैका सार्वजनिक भवन तथा धर्मशालामा राखेका छन् । विस्थापितहरुलाई प्रहरी प्रशासनले खानेपानी तथा चिउरा, चाउचाउलगायत खाद्यान्न समेत वितरण गरिरहेका उनले जानकारी दिए।
बलरा नगरपालिकाको ११ वडामा १०६ वटा घर पूर्ण रुपमा र २८२ घरमा आंशिक क्षति पुगेको छभने ५०८ घर बाढीमा डुबेको छ । बाढीमा डुबेका घरमा समेत कम्मर कम्मरसम्म पानी जमेकाले बस्न सक्ने अवस्था नरहेको बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहले जानकारी दिए। जिल्लामा क्षतिको विवरण संकलन गरिरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । स्थानीय तह, विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा राहत पुर्याउने काम गरिरहेको प्रजिअ अधिकारीले बताए।
प्रकाशित समय : १४:५३ बजे