गृहपृष्ठ बागेश्वरी मन्दिरको फोहोर व्यवस्थापन भएन
बागेश्वरी मन्दिरको फोहोर व्यवस्थापन भएन
नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा थुप्रिएको फोहोर लामो समयदेखि व्यवस्थापन हुन सकेको छैन । फोहोर व्यवस्थापन नहुँदा मन्दिर क्षेत्रको सौन्दर्य बिग्रनुको साथै दुर्गन्धित हुन थालेको छ ।
नेपालगन्जका सामाजिक अगुवा नन्दलाल वैश्यले प्रसिद्ध बागेश्वरी मन्दिर क्षेत्रमा फोहोरको व्यवस्थापन नहुनु दुःखद भएको बताए। उनले पटकपटक उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएपनि फोहोर नउठाएको गुनासो गरे। मन्दिर परिसरको तलाउमा भएको फोहोरले मन्दिरको सौन्दर्य बिग्रँदै गएको र नवरात्र सुरु हुन लागेकाले अविलम्ब सरसफाइ गर्न उनको आग्रह छ ।
मन्दिर व्यवस्थापन समिति र उपमहानगरपालिका उदासीन भएको आरोप वैश्यको छ । मन्दिर व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले नवरात्र सुरु हुन लागेकाले सरसफाइमा ध्यान दिइएको बताए। उनले केही दिनमा मन्दिर परिसरको तलाउ सफा हुने जानकारी दिए । जुङ्गे महादेव मन्दिरको पुनःनिर्माण भएकाले सरसफाइमा ढिला भएको उनको भनाइ छ ।
जुङ्गे महादेव मन्दिरस्थल पुनःनिर्माण समयमा पूरा हुन नसक्दा त्यससँग सम्बन्धित काम प्रभावित भएका छन् । मन्दिर परिसरको तलाउमा घाँस र झार उम्रिएको छभने पानीका बोतलले तलाउ फोहोर देखिएको छ । मन्दिर परिसर क्षेत्रमा फोहोर थुप्रिन थाले पनि तलाउ क्षेत्रको सरसफाइमा गुठीले बेवास्ता गरेको स्थानीय बताउँछन् ।
प्रकाशित समय : १४:४७ बजे