गृहपृष्ठ बाढीपहिरोको असर : निजी क्षेत्रका १५ जलविद्युत आयोजनामा २ अर्ब ३९ करोडको क्षति
बाढीपहिरोको असर : निजी क्षेत्रका १५ जलविद्युत आयोजनामा २ अर्ब ३९ करोडको क्षति
गत शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले निजी क्षेत्रले बनाएका २० वटा जलविद्युत आयोजनामा गम्भिर क्षति पुर्याएको छ । यसमध्ये १५ वटा आयोजनामा दुई अर्ब ३९ करोड रुपैयाँबराबरको भौतिक क्षति पुगेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार बाढीका कारण निजी क्षेत्रले निर्माण गरेका अधिकांश आयोजनाको पहुँच मार्गमा क्षति गरेको छ । कतिपय आयोजनाका उपकरणहरु बगाएको छ । केही आयोजनका पावरहाउस डुबानमा परेका छन् भने केही आयोजनाहरुको उत्पादन बन्द हुन पुगेको छ । कुल १३ सय मेगावाटभन्दा बढी बिजुली उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरणले बिजुली निर्यात रोकेर उल्टै भारतबाट बिजुली आयात गर्नुपरेको छ ।
इप्पानका अनुसार मान्डु हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना, मकवानपुरको पावरहाउस पूर्ण रुपमा डुबेको छ । यस्तै, माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनाको पावरहाउस डुबानमा परेको छ ।
पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजना पनि क्षतिग्रस्त बनेको छ । यो आयोजना गत वर्षको बाढीले क्षतिग्रस्त भएर अहिले पुनर्निर्माण गरी सञ्चालनमा आउने तयारीमा थियो । यस्तै, साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दूधकोशी जलविद्युत आयोजनाको हेडवक्र्समा क्षति पुगेको छ भने अहिले उत्पादन बन्द गरिएको छ ।
इप्पानका अनुसार इलामस्थित सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाको बाँध र टेलरेसमा क्षति पुगेको छ । उत्पादन बन्द छ । इलामकै सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ । यो आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेको हो । पाँचथरको एक मेगावाटको फेमे खोला जलविद्युत आयोजनाको बाँध र विद्युतगृह पूर्णरुपमा क्षति भएको छ ।
यस्तै, लमजुङस्थित ५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजनाको टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको जनाइएको छ । लमजुङकै ४० मेगावाटको सुपरन्यादी जलविद्युत आयोजनामा पनि बाढीले नोक्सान गरेको छ । यसको पहुँचमार्गमा क्षति पुगेको छ भने प्रोटेक्सन वालमा क्षति गरेको छ ।
यस्तै, धादिङस्थित इलेप खोला तातोपानी जलविद्युत आयोजनाको पहुँच मार्गमा पनि बाढीले क्षति पुर्याएको छ । यो आयोजना २५ मेगावाटको हो । नुवाकोटमा रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको क्याम्प हाउस, पहुँचमार्गमा क्षति पुर्याएको छ भने बाढीले ३ वटा कन्टेनर बगाएको छ । यो आयोजना २१६ मेगावाट क्षमताको हो ।
यसैगरी बाढीले पाँचथरको १० मेगावाट क्षमताको हेवाखोला जलविद्युत आयोजनाको क्रसर पुरेको छ । आयोजनाको पहुँचमार्गमा क्षति पुगेको छ भने प्रसारणलाइनको टावर ढलेको छ । पावरहाउसमा जडान गर्न ल्याइएका सामाग्री पनि बाढीले बगाएको बताइएको छ ।
पाँचथरकै सभाखोला बी जलविद्युत आयोजनामा पुग्ने पहुँचमार्गमा क्षति पुगेको छ । पावरहाउस पुरिएको र बाँधमा समेत क्षति पुगेको छ । यो १५.१ मेगावाट क्षमताको आयोजना हो । बाढी र पहिरोले पाँचथरकै ६.३ मेगावाटको सभाखोला सी जलविद्युत आयोजनाको पहुँचमार्गमा क्षति गरेको छ ।
अर्कोतिर कास्कीको लान्द्रुक मोदी जलविद्युत आयोजनाको पनि पहुँच मार्गमा क्षति गरेको छ । यो आयोजनाको क्षमता ८६.५९ मेगावाटको हो । यस्तै, नुवाकोटको एक सय मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजनाका २ वटा स्काभेटर, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको बताइएको छ । यो आयोजनाको बेलीब्रिज बगाएको छ भने पावरहाउस स्काभेसन पुरिएको अवस्था छ ।
इप्पानले अन्य केही आयोजनाहरुमा सञ्चार सम्पर्क टुटेका कारण ती आयोजनाहरुको अवस्थाबारे अहिलेसम्म जानकारी नआएको बताएको छ ।
कुन आयोजनामा कति क्षति
१) बागमती साना जलविद्युत १ अर्ब रुपैयाँ
२) तल्लो हेवाखोला जलविद्युत २५ करोड
३) हेवाखोला जलविद्युत यकिन हुन बाँकी
४) सोलु दूधकोशी यकिन हुन बाँकी
५) माइखोला क्यासकेड ५ करोड
६) माइखोला ७ करोड
७) फेमे खोला १० करोड
८) सिउरीखोला २ करोड
९) सुपरन्यादी यकिन हुन बाँकी
१०) इलेप खोला तातोपानी यकिन हुन बाँकी
११) माथिल्लो त्रिशूली १ १० करोड
१२) हेवाखोला १० करोड
१३) सभाखोला बी ७ करोड
१४) सभाखोला सी ३ करोड
१५) लान्द्रुक मोदी ८ करोड
१६) सुपर त्रिशूली २५ करोड
१७) लाङटाङ खोला एकिन हुन बाँकी
१८) खानीखोला १० करोड
१९) टुङ्गुन ठोस्ने १५ करोड
२०) माया खोला २ करोड
स्रोतः इप्पान
ऊर्जा र सिँचाइमा ४ अर्ब ९६ करोड क्षति
दुई दिनको वर्षाका कारण मुलुकभर आएको बाढी तथा पहिरोले ऊर्जा र सिँचाइ क्षेत्रमा ४ अर्ब ९६ करोडबराबरको क्षति भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री दीपक खड्काले ऊर्जातर्फ २ अर्ब ४५ करोड, सिँचाइतर्फ १ अर्ब ३५ करोड र नदी नियन्त्रणतर्फ १ अर्ब १६ करोड रुपैयाँ गरी ४ अर्ब ९६ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए ।
मन्त्री खड्काले क्षतिको यो प्रारम्भिक अनुमानमात्रै रहेको भन्दै अझै बढ्न सक्ने जनाए । बाढी र पहिरोका कारण १ हजार १ सय मेगावाटका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको जानकारी उनले दिए । मन्त्री खड्काले भने, ‘बाढी र पहिरोले निजी क्षेत्रका २६ भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको छ ।’ दुई दिनसम्म लगातार परेको वर्षाका कारण तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने विद्युत प्राधिकरणका दुई जना कर्मचारी र सुरक्षामा खटिएका नेपाली सेनाका दुई जना गरी चार जना बेपत्ता भएको मन्त्री खड्काले बताए । निजी क्षेत्र र सरकारको लगानीमा निर्माण भएका जलविद्युत आयोजना र ट्रान्समिसन लाइनमा ठूलो क्षति भएको उनको भनाइ छ ।
गत वर्ष पूर्वमा आएको बाढीले ऊर्जा क्षेत्रमा १० अर्ब बराबरको क्षति गरेको थियो । सरकारले निर्माणाधिन आयोजनामा राति नबस्न र यातायात बन्द गर्न भनेकाले कम क्षति भएको मन्त्री खड्काको भनाइ छ ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले तामाकोसी जलविद्युत आयोजना बन्द छ । पछिल्लो तीन दिनयता बन्द रहेको तामाकोसी लामो समय बन्द गर्नुपरे लोड व्यवस्थापनमै समस्या हुने देखिएको उनले बताए । उनका अनुसार काबेली करिडोरका दुई टावरमा क्षति भएको छ । इलाम र पाँचथरमा बिजुली सेवा अवरुद्ध छ । त्यहाँ सेवा सुचारु गर्ने प्रयास भइरहेको छ ।
यस्तै, तामाकोसी नदीले खिम्ती लामोसाँघु टावर बगाएका कारण २ सय मेगावाट ऊर्जामा समेत अवरोध भएको छ । त्यहाँबाट बिजुली काठमाडौं ल्याउने गरिएको थियो । तामाकोसीले थप ८ सय मेगावाट बिजुली प्रसारण गर्ने टावर जोखिममा रहेको समेत ऊर्जा मन्त्रालयले जनाएको छ । १ हजार १० मेगावाट विद्युत जडित क्षमताका १५ निर्माणाधीन आयोजनामा समेत क्षति पुगेको छ ।
प्रकाशित समय : २०:३५ बजे