गृहपृष्ठ बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा गिरावट
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा गिरावट
बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन घटेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन शून्य दशमलव सात प्रतिशत अर्थात् ४३ अर्ब ४५ करोड रुपैयाँले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप दुई दशमलव तीन प्रतिशत अर्थात् एक खर्ब ३३ अर्ब २४ करोड रुपैयाँले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४ दशमलव नौ प्रतिशतले बढेको छ ।
२०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः पाँच प्रतिशत, ३० दशमलव तीन प्रतिशत र ५७ दशमलव पाँच प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः पाँच प्रतिशत, २६ दशमलव सात प्रतिशत र ६१ दशमलव तीन प्रतिशत थियो ।
२०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशलव नौ प्रतिशत छ । २०८० साउन मसान्तमा यस्तो निक्षेपको अंश ३५ दशमलव दुई प्रतिशत थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव तीन प्रतिशत अर्थात् १४ अर्ब ११ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा शून्य दशमलव एक प्रतिशत अर्थात् चार अर्ब ३५ करोड रुपैयाँले घटेको थियो ।
प्रकाशित समय : १९:५३ बजे