गृहपृष्ठ केन्द्रीय बैंकद्वारा पहिलो दिन १ करोड ८० लाख सुकिला नोट सटही
केन्द्रीय बैंकद्वारा पहिलो दिन १ करोड ८० लाख सुकिला नोट सटही
नेपाल राष्ट्र बैंकले असाेज १३ गते अर्थात् पहिलो दिन १ करोड ८० लाख सुकिला नोट सटही गरेको छ। दसैँलाई लक्षित गर्दै सर्वसाधारणका लागि असाेज १३ गतेदेखि अर्थात् हिजोबाट सफा र सुकिलो नोट सटही सुविधा दिन थालेको बैंकले पहिलाे दिन साे रकम बराबरकाे सुविधा दिएकाे हाे ।
राष्ट्र बैंकबाट प्रत्येक दर (५, १०,२०, ५० र १००) का ८ सय बण्डल सटही गर्दा १ कराेड ८० लाख बराबरकाे सुकिला नोट सटही भएकाे हाे । केन्द्रीय बैंकका साथै अन्य बैंक तथा वित्तीय संस्थाले पनि सफा र सुकिलो नोट सटही सुविधा दिइरहेका छन् ।
राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ्ग विभाग र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढीस्थित कार्यालयबाट सुकिलो नोट साटिरहेको छ । एक जना व्यक्तिले पाँच, दश, बीस, पचास र एक सय रुपैयाँ दरका नोटसहितको १८ हजार पाँच सय रुपैयाँसम्म साट्न पाउनेछन् ।
राष्ट्र बैंकले विगतका वर्षका एकपटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकोमा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो र सफा नोट साट्न सकिने जनाएको छ ।
दसैँ अगाडि सटही गरिएका नोट चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र त्यसपछि ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित समय : १९:५२ बजे