गृहपृष्ठ बाढीपहिरोले दुई दर्जन जलविद्युत् आयोजनामा क्षति, निजी क्षेत्रका २० वटा, ११७७ मेगावाट उत्पादन बन्द

बाढीपहिरोले दुई दर्जन जलविद्युत् आयोजनामा क्षति, निजी क्षेत्रका २० वटा, ११७७ मेगावाट उत्पादन बन्द

बाढीपहिरोले दुई दर्जन जलविद्युत् आयोजनामा क्षति, निजी क्षेत्रका २० वटा, ११७७ मेगावाट उत्पादन बन्द

बाढीपहिरोका कारण निजी क्षेत्रले निर्माण गरेका कम्तीमा २० वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रका जलविद्युत् आयोजनामध्ये अहिलेसम्म २० आयोजनामा क्षति पुगेको जानकारी आएको बताएको छ।

तीमध्ये १५ आयोजनामा २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति भएको छ। अन्य आयोजनाको क्षतिको विवरण आउन बाँकी छ।

धेरै आयोजना सम्पर्कविहीन छन्। अहिलेसम्म प्राप्त जानकारीअनुसार निजी क्षेत्रले बनाएका आयोजनाको ७२१.८५ मेगावाट बिजुलीको उत्पादन ठप्प हुन पुगेको छ।

मान्डु हाइड्रोपावरमा सबैभन्दा धेरै क्षति भएको छ। २२ मेगावाट क्षमताको यो जलविद्युत् आयोजनाको पावर हाउस पूर्णरुपमा डुबानमा परेको छ भने बाँध क्षेत्रमा पनि क्षति पुगेको छ। आयोजनामा १ अर्ब रुपैयाँ बराबरको क्षति भएको इप्पानले जनाएको छ।

माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्धित पाँचथरस्थित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको पावर हाउस डुबानमा परेको छ। यो आयोजनामा करिब २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ। यो आयोजना गत वर्षको बाढीबाट पनि प्रभावित थियो।

पाँचथर पावरद्वारा प्रवर्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना पुनर्निर्माण सकेर आउन लाग्दा फेरि बाढीको चपेटामा परेको छ। आयोजनामा भएको क्षतिको विवरण आउन बाँकी छ।

साहस ऊर्जाद्वारा प्रवर्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ। यो आयोजनाको हेडवर्क्समा क्षति पुगेको छ।

सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँध र टेलरेसमा क्षति भएपछि उत्पादन बन्द भएको छ। आयोजनामा करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

क्षति भएका आयोजनाको सूची

१) मान्डू हाइड्रोपावरद्वारा प्रवर्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजना, मकवानपुर (पावर हाउस पूर्णरुपमा डुबेको, बाँध क्षेत्रमा क्षति) करिब १ अर्ब रुपैयाँ बराबरको क्षति।

२) माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजना, पाँचथर (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको) करिब २५ करोड रुपैयाँ बराबरको क्षति।

३) पाँचथर पावरद्वारा प्रवर्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनर्निर्माण सकेर संचालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त) क्षति यकिन हुन बाँकी।

४) साहस ऊर्जाद्वारा प्रवर्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजना, सोलुखुम्बु (हेडवर्क्समा क्षति, उत्पादन बन्द) क्षति यकिन हुन बाँकी।

५) सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत् आयोजना, इलाम (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द), करिब ५ करोड रुपैयाँ बराबर क्षति।

६) सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्धित ९.६ मेगावाटको माइखोला जलविद्युत् आयोजना, इलाम (बाँध र प्रसारणलाइनमा क्षति) करिब ७ करोड रुपैयाँ बराबर क्षति।

७) फेमे खोला जलविद्युत् आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूर्णरुपमा क्षति) करिब १० करोड रुपैयाँ बराबर क्षति।

८) सिउरीखोला जलविद्युत् आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति) करिब २ करोड रुपैयाँ बराबर क्षति।

९) सुपरन्यादी जलविद्युत् आयोजना, ४० मेगावाट, लामुजुङ, (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति) क्षति यकिन हुन बाँकी।

१०) इलेप खोला तातोपानी जलविद्युत् आयोजना, २५ मेगावाट, धादिङ, (पहुँचमार्गमा ठूलो क्षति) क्षति यकिन हुन बाँकी।

११) माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना २१६ मेगावाट, नुवाकोट, (क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको) करिब १० करोड रुपैयाँ बराबर क्षति।

१२) हेवाखोला जलविद्युत् आयोजना, ५ मेगावाट (प्रस्तावित ९.९ मेगावाट), पाँचथर (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको) करिब १० करोड रुपैयाँ बराबर क्षति।

१३) सभाखोला बी जलविद्युत् आयोजना, १५.१ मेगावाट, पाँचथर, (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको) करिब ७ करोड रुपैयाँ बराबर क्षति।

१४) सभाखोला सी जलविद्युत् आयोजना, ६.३ मेगावाट, पाँचथर, (पहुँचमार्गमा क्षति) करिब ३ करोड रुपैयाँ बराबर क्षति।

१५) लान्द्रुक मोदी जलविद्युत् आयोजना, ८६.५९ मेगावाट, कास्की, (पहुँचमार्गमा क्षति) करिब ८ करोड रुपैयाँ बराबरको क्षति।

१६) सुपर त्रिशूली जलविद्युत् आयोजना, १०० मेगावाट, नुवाकोट (२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलिब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको) करिब २५ करोड रुपैयाँ बराबरको क्षति।

१७) लाङटाङ खोला जलविद्युत् आयोजना, २० मेगावाट, रसुवा। बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति। क्षतिको रकम यकिन हुन बाँकी।

१८) खानीखोला जलविद्युत् आयोजना, २ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद। करिब १० करोड रुपैयाँ बराबरको क्षति।

१९) टुङ्गुन ठोस्ने जलविद्युत् आयोजना, ४.३६ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद। करिब १५ करोड रुपैयाँ बराबरको क्षति।

२०) माया खोला जलविद्युत् आयोजना, १४.९ मेगावाट, संखुवासभा, बाँध र पहुँचमार्गमा क्षति, करिब २ करोड रुपैयाँ बराबरको क्षति।

सरकारी आयोजनामा पनि क्षति

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पनि उत्पादन बन्द भएको छ। कन्ट्रोल विल्डिङ माथिबाट आएको बाढी पहिरोका कारण आयोजनामा क्षति पुगेपछि उत्पादन बन्द भएको हो।

कन्ट्रोल विल्डिङमा कार्यरत दुई सैनिक र आयोजनाका २ कर्मचारी बेपत्ता भएको कम्पनीका सूचना अधिकारी मित्रमणि पोखरेलले जानकारी दिए। उनका अुनसार आयोजनामा पुगेको क्षतिबारे अध्ययन भइरहेको छ।

प्रसारण लाइनतर्फ खिम्ति-लामासाँघु प्रसारण लाइनको एउटा टावर बगाएको र कावेली करिडोरको दुई वटा टावर ढलेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी मनोज सिलवालले जानकारी दिए।

 

प्रकाशित समय : २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु