गृहपृष्ठ बाढीमा बग्नेहरुका लागि बिरानो सरकार, यसपटक पनि उहीँ नियती दोहोरियो

बाढीमा बग्नेहरुका लागि बिरानो सरकार, यसपटक पनि उहीँ नियती दोहोरियो

बाढीमा बग्नेहरुका लागि बिरानो सरकार, यसपटक पनि उहीँ नियती दोहोरियो

नेपाली आकाशमा शुक्रबार अलि नसोचेकै दृश्य देखियो । थाई एयरवाइजको जहाज यात्रुहरु बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको तयारीमा थियो । तर मिस एप्रोच गर्दै पाइलटले जहाजलाई ओभरसुट गरि फर्काए । जहाज घुमेर केहीबेर ललितपुरको आकाशमा होल्ड भयो । त्यहाँबाट केहीबेरपछि मकवानपुरको आकाशमा पुग्यो । तैपनि अवस्थामा फेरबदल आएको थिएन । जहाज बाराको आकाशमा गएर उसैगरि होल्ड हुँदा झण्डै २ घण्टा २० मिनेट बित्यो । यात्रुहरुमा एकैपटक नैराश्यता र छटपटी बढीसकेको थियो । तर लामो प्रयासपछि जहाज विमानस्थलमा अवतरण सफल भयो । कारण एउटैमात्र थियो, खराब मौसम ।

मौसम बिग्रिएर लगातारको बर्षाले अवतरण गर्नैनसक्ने अवस्था बनेपछि जहाजले उपयुक्त समय भेट्टाउनकै लागि काठमाडौं, ललितपुर, मकवानपुर र बाराको आकाशमा २ घण्टा बढी बिताउनुपरेको थियो । इन्डिगो एयरलाइन्स र कतार एयरलाइन्सको जहाजले पनि यही नियती ब्यहोर्नुपर्‍यो ।

अन्तर्राष्ट्रिय उडानको यो हविगत हुँदा आन्तरिक उडानहरु सबै रद्द हुन पुगे । बिहिबार बिहानैदेखि परेको बर्षाले वायुसेवाहरुलाई उडान अवतरण गर्न पर्याप्त मात्रामा भिजिबिलीटी पुगेन । फलतः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने १५० वटा उडान प्रभावित भए । आकाशमा उड्नेहरु असुरक्षित बन्दा जमिनको अवस्था झनै भयावह छ ।

शनिबार बिहानै नख्खु खोलाले घेरेपछि टहरोमा बसिरहेका कामदारहरु छतमा बसेर उद्दारको प्रखाईमा थिए । सुरक्षाकर्मीहरु उद्दारका लागि पुगेपनि लामो समय अलमलिए । डोरी फालेर उनीहरुको उद्दार गर्ने कोशिस गरियो । त्योभन्दा अघि नै तीन जनालाई बगाईसकेको थियो । छतमा चार जना थिए । तर प्रखाईको ४५ मिनेटसम्म पनि कुनै गतिलो संयन्त्र त्यहाँ नपुगेपछि मच्चिएर आएको बाढीले टहरो बगायो र उनीहरु चार जना बागमतीमा हेर्दाहेर्दै बिलिन भए । जुन भिडिओ अहिले सामाजिक सञ्जालभरि देख्न सकिन्छ ।

घटनापछि गृहमन्त्री रमेश लेखकले भीजीबीलीटी कम भएका कारण उद्दार गर्न नसकिएको बताए । तर उनीहरु बग्दै गरेको भेलमा पसेर काभ्रेका चनिकलाल तामाङले दुई जनाको उद्दार गरे । २०३८ सालपछि नख्खुखोला यो तहले उर्लिदै आएको थियो । पुल बगाइरहेको थियो । खोला आसपासका घरलाई बगाउँदै आएको नख्खुखोलाको उच्च बहावमा चनिकलाल हाम फालेका थिए । अर्थात् सरकारले सकिएन भनेको ठाउँमा चनिकलालले सके ।

यी सबै दृश्यले विपतको पूर्वतयारीमा कति संयमित थियो भन्ने प्रस्टै भयो । संघीय राजधानीमै सरकार पुग्न सकेन भने अन्य स्थानको अवस्था कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ । बाढीमा बग्नेहरुका लागि सरकार बिरानो बन्यो । यसपटक पनि उहीँ नियती दोहोरियो । पूर्वतयारी र समयमै उद्दार कार्य नहुँदा बग्ने बगिरहे । सरकार दौडधुपमै सीमित बन्यो ।

बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै यो रिपोर्ट तयार पार्दासम्म ३४ जनाको मृत्यु भएको छ । काठमाडौंमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ । देशभर अहिलेसम्म कम्तिमा ५० जनाले ज्यान गुमाइसकेका छन् । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीमा बेपत्ता भएका ६ बालकमध्ये ३ जनाको शव फेला परेको छ ।

काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाकाहरु बन्द भएका छन् । पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले शनिबार बिहानैदेखि यो सडक खण्ड बन्द बनाएको छ । काठमाडौं–मुग्लिन–नारायणगढसम्म शनिबार रातभर सवारी चलाउन रोक लगाइएको छ ।

नियती फेरिएन

कुनैबेला नेपालीको नियती यस्तो थियो कि, मासु खानकै लागि दशैं नै पर्खिनुपथ्र्याे । तर त्यो नियती बद्लिएपनि दशैंकै मुखमा मात्र चिल्ला बाटोघाटो देख्न पाइने नियतीले भने नेपालीहरुलाई सुखसँग बाँच्न दिएको छैन । संघ सरकारदेखि स्थानीय तहसम्मले दशैकै बेला मर्मत सम्भार र बाटो सोहरसारमा लागिपर्छ ।

त्यसमा पनि दशैंकै मुखमा यात्रा गर्दै हुनुहुन्छ भने होसियार, देशले बनाएका राजमार्गहरुको अवस्था यस्तो छ कि, घरबाट सकुशल यात्रामा निस्किएको मान्छे सकुशल गन्तव्यमा पुग्छ कि पुग्दैन भन्ने चिन्ता हुन्छ । उता घरकालाई निद्रा पर्दैन, यता यात्रामा रहेको व्यक्ति ज्यान नै दाउमा चढाएजसरी यमराजलाई छल्दै हिड्नुपर्ने बाध्यतामा छन् ।

देशभरका सडकहरुको अवस्था चार ठाउँ टालिएको भोटोभन्दा तहसनहसपूर्ण छ । त्यसमा पनि कतिपय राजमार्ग र स्थानीयस्तरका सडक बाटोहरु चाडपर्वलाई लक्षित गरि मर्मत सम्भार गरिएका छन् । तर त्यही बाटो पनि दुईदिन पानी पर्न नपाउँदै भत्किने, माथिबाट पहिरो आउने र यातायात सेवा नै अवरुद्ध हुनुपर्ने अवस्थामा पुग्छन्।

विहिबार बेलुकादेखि शनिबार दिनभर पनि लगातार पानी परिरहेको छ । अझै चारदिन यसैगरि पानी पर्ने पूर्वानुमान भएपनि शनिबार रातिदेखि अलि कम हुने प्रक्षेपण छ । तर यत्ति पानी पर्दैमा देशभरका अधिकांश राजमार्गहरु अवरुद्ध बनेका छन् । सरकारले हाईअलर्ट जारी गर्दै दुईदिन रात्रिकालिन सवारीसाधन चलाउन रोक नै लगाएको छ ।

अन्य देशका सरकारले बर्षैभरि सडक पूर्वाधारलाई प्रमुख प्राथमिकता राखेर मर्मत सम्भारदेखि सुविधासम्पन्न बनाउनमा जोड दिएका हुन्छन् । तर एउटा नेपाल सरकार छ, जसले कुनै पर्व विशेष वा ठूलै दुर्घटना भोगिसकेपछिमात्रै जिउमा तातो लगाउँछ । फलतः पानी पर्न बित्तिकै यातायातका सञ्जाल नै अवरुद्ध भएर जनताले दुःख पाइरहेका छन् ।

देशभर कहाँ कहाँ सडक सञ्जाल अवरुद्ध भयो ? सूची हेरौं ।

१. धेरै पानी परेपछि काठमाडौंदेखि चितवनसम्मको सडक खण्ड शुक्रबार बेलुका सातबजेदेखि शनिबार बिहान ५ बजेसम्मका लागि बन्द गरिएको छ ।

२. पहिरो झर्दा काठमाडौं–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ । राति सवारी चलाउन रोक लगाइएको छ ।

३. पृथ्वीराजमार्ग अन्तर्गत धादिङको धुनवेशी नगरपालिका–९ मा पहिरो जाँदा सडक दुवैतर्फ बन्द छ ।

४. हेटौंडा–काठमाडौं राजमार्गमा ढुंगा र माटोले सडक अवरूद्ध हुँदा यातायात ठप्प छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा पहिरो आउँदा दुबैतर्फको सडक बन्द भएको छ ।

५. सिन्धुलीस्थित मध्यपहाडी लोकमार्गमा गोलन्जोर गाउँपालिका–६ स्थित सडकमा ढुंगा माटो खसेपछि दुवैतर्फ यातायात बन्द भएको छ ।
६. काभ्रेको रोशी गाउँपालिका–८ चारसयबेँसीस्थित बिपी राजमार्गमा आएको पहिरोले सडक अवरुद्ध छ ।

७. सिस्नेरी–दक्षिणकाली सडकखण्ड पनि पहिरोले पूर्ण रूपमा बन्द छ ।

८. कपिलबस्तुको शिवराज नगरपालिका–१ मा पहिरो खसेर पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा बन्द छ ।
९. अर्घाखाँचीस्थित सन्धिखर्क–सडक खण्डमा पहिरो जाँदा आवतजावत ठप्प छ ।

१०. गुल्मीको सत्यवती–६ स्थित रूद्रबेनी खोलामा पानीको बहाव बढेकाले सडक अवरूद्ध भएको छ ।

११. कोशी प्रदेशस्थित विराटनगरबाट गाइघाट जाँदै गरेको बस कोशी ब्यारेजबाट चिप्लीएर नदीमा खसेको छ । २० जना सवार सबैको उद्दार गरिएको छ ।

आइतबारसम्म भारी वर्षा हुने सम्भावना रहेकाले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्री बस नचलाउन सरकारले अलर्ट जारी गरेको छ ।

देशभरको अवस्था बुझ्न यो सूची हेरौं

०००

प्रकाशित समय : १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु