गृहपृष्ठ आश्विन कृष्ण द्वादशी : फर्पिङको हरिशङ्कर जात्राको मुख्य दिन

आश्विन कृष्ण द्वादशी : फर्पिङको हरिशङ्कर जात्राको मुख्य दिन

आश्विन कृष्ण द्वादशी : फर्पिङको हरिशङ्कर जात्राको मुख्य दिन

ठूलो खट बोकिने दक्षिणकाली नगरपालिकाको फर्पिङमा परापूर्वकालदेखि मनाइने हरिशङ्कर यात्राको मुख्य कार्यक्रम आजदेखि सुरु भएको छ । खट घुमाउने यात्राका रुपमा परिचित यो जात्राको मुख्य कार्यक्रम आजदेखि सुरु भएको हो । भाद्र शुक्ल पूर्णिमादेखि फर्पिङ क्षेत्रका पुरातात्विक, सांस्कृतिक एवं धार्मिक दृष्टिले महत्वपूर्ण स्थानमा खट यात्रा गरी मनाइने हरिशङ्कर जात्राको खट घुमाउने परम्पराको आज मुख्य दिन हो ।

यात्राको समाप्ति आश्विन शुक्ल प्रतिपदाका दिन अर्थात् घटस्थापनाका दिन गोपालेश्वरको यात्रा गर्ने मूर्तिलाई मन्दिरबाट देवताको घर (आगमछेँ) मा ल्याएर राखेपछि हुने दक्षिणकाली नगरपालिकाका उपप्रमुख वसन्ती डङ्गोल तामाङले राससलाई जानकारी दिए।

यो यात्रामा शिखरनारायणलाई हरि र गोपालेश्वरलाई शङ्करका रुपमा मानिन्छ । फर्पिङवासीका अनुसार यहाँको हरिशङ्कर यात्रा एवं भक्तपुरको विस्केट जात्राका विषयमा मृत्युपश्चात् यमराजले पनि प्रश्न गर्छन् भन्ने विश्वास लिइन्छ । यसैले यी दुवै यात्रा हेर्नै पर्ने मान्यता पनि यहाँ छ । भाद्र शुक्ल पूर्णिमाका दिन विधिवत् सुरु गरिने जात्राको विधिविधान भने भाद्र शुक्ल प्रतिपदाकै दिनदेखि सुरु हुने गरेको छ ।

यात्रामा शिखरेश्वर, गोपालेश्वर, नन्दिकेश्वर, अघोरेश्वर, कनकेश्वर, तिलविक्रमेश्वर र सिद्धिगणेश्वरका सात वटा खट बोकिन्छ । सबै खटमा सम्बद्ध देवताका मुखलिङ्ग शैलीका मूर्तिहरु स्थापना गरिएको हुन्छ । यो यात्रामा बोकिने खट नेपालका खटयात्रामध्येमा सबैभन्दा ठूलो हुने गरेको छ । यो यात्राको एउटा खट बोक्न कम्तीमा पनि ५० जना मानिस चाहिन्छ ।

हरिवंश पुराणमा विष्णु र शिवलाई एउटै स्वरुप मानिएकाले यो यात्रा चलाउने गरिएको यहाँका वृद्धहरु बताउँछन् । फर्पिङको हरिशङ्कर यात्रा वाणासुरका पालादेखि सुरु भएको विश्वास गरिन्छ । वाणासुरले चलाएको यात्रा भएकाले यसमा आर्य र अनार्यबीचको समन्वय समेत रहेको स्थानीयवासीको भनाइ छ । जात्राका माध्यमबाट यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने गरी प्रचारप्रसार गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित समय : १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु