गृहपृष्ठ अमेरिकामा ओलीकाे अंग्रेजी र देशको प्रतिनिधित्वमाथि मजाक !
अमेरिकामा ओलीकाे अंग्रेजी र देशको प्रतिनिधित्वमाथि मजाक !
यतिबेला देश होस् कि विदेश, नागरिक तहबाट शिर्ष नेता लखेट्ने होडबाजी चलेको देखिन्छ । यसको केन्द्र भागमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली छन् ।
संघीय राजधानी काठमाडौंको टुँडीखेल र दरबारमार्गमा आयोजित कार्यक्रमको विरोध छिचोलेर अहिले ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिकामा छन् । जसलाई उनले शुक्रबार सम्बोधन गरेका छन् । त्यो सँगै विभिन्न देशका प्रतिनिधिसँग साइडलाइन वार्तासमेत गरिररहेका छन् । तर प्रधानमन्त्री ओलीले त्यहाँ पनि देशभित्रकै नियती भोग्नुपर्यो । आफ्नो देशका प्रधानमन्त्रीमाथि जनताले देखाएको यो व्यवहार हेर्दा लाग्छ, अब शिर्ष नेता संसारको जुनसुकै कुनामा पुगेपनि जोगिएर हिड्नुपर्ने अवस्थामा पुग्दैछन् । जसरी प्रधानमन्त्री ओलीलाई जोगाउनकै लागि न्युयोर्कमा आयोजित कार्यक्रम नै स्थगित गरियो ।
यो घटनाक्रमले नेता नालायक भएकी, जनता जागे ? गम्भीर समिक्षाको विषय बन्दैछ । मुलतः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग वार सुरु भएपछि ओलीप्रति जनताले भैरभाब देखाउन थालेका थिए । त्यो शिलशिला ओली अमेरिका पुग्नु र यता रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी चल्नुले झनै व्यापक बनायो ।
नेपालमा जेनातेना सेना प्रहरीको बलमा सार्वजनिक कार्यक्रममा देखिएपनि अमेरिकामा भने ओलीले सम्बोधन गर्ने कार्यक्रम नै स्थगित गरियो । उनीसँगै महासभामा भाग लिन गएकी परराष्ट्रमन्त्री आरजु राणा पनि अमेरिकै छिन् । ओलीले आफ्नै देशका नागरिकबाट असुरक्षित रहेको महसुस गरेपछि सुरक्षा संवेदनशिलता देखाउँदै न्युयोर्कमा नेपाली समुदायले आयोजना गरेको कार्यक्रम नै स्थगित गरिएको थियो । जुन कार्यक्रमलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले संयुक्त रुपमा सम्बोधन गर्ने तय थियो ।
सबैभन्दा दुःखद् कुरा एउटा देशको प्रधानमन्त्री सिंगो मुलुकको प्रतिनिधित्व गरेर जाँदा, जनताबाट यो तहको दुर्व्यवहार हुनु सुखद संकेत होइन । तथापी केही अपवाहले समेत स्थान पाएका छन् ।
सामाजिक सञ्जालमा यतिबेला प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणा अमेरिकामा रहेको एउटा भिडिओले चर्चा पाएको छ । त्यसमा विमानस्थल र सार्वजनिक कार्यक्रमको भिडिओ देखाएर नाराबाजी गरेको शैलीमा लखेटिएको भाष्य निर्माण गरिएको छ । जुन यथार्तभन्दा फरक हो । अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरुमा अमेरिकाको दृश्य र काठमाडौंमा विरोध गरिएका आवाजहरु भरेर दुरुस्तै बनाई छताछुल्ल पारिएको छ । यो प्रविधिको दुरुपयोग हो ।
सार्वजनिक भिडिओहरुमा सत्यता नभएपनि प्रधानमन्त्री र परराष्ट्रमन्त्री सहभागी भएर नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रममा विरोधको तयारी भएको सत्य हो । मुलतः प्रतिपक्ष दलसँग आवद्ध माओवादी, रास्वपा र उपेन्द्र यादव लगायतका दलप्रति नजिक रहेका नेता कार्यकर्ताले प्रधानमन्त्रीलाई बोलाएर विरोध गर्ने तयारी गरेका थिए । ओली अमेरिकामा रहेकै बेला नेपालमा सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई पक्राउ गर्यो । जोशी पक्राउ परेपछि रवि लामिछानेले यताबाट प्रधानमन्त्री ओलीलाई ‘न्युयोर्कबाट आँखा नसन्काउन’ भन्दै विदेशमा रहेका आफ्ना समर्थकलाई उचाल्ने गरी बलेको आगोमा घिउ थपिदिए । केही नेपालीले सामाजिक सञ्जालमा ग्रुप बनाएरै कालो झण्डा, कालोमोसो र जुत्ताको माला लगाउने तयारी गरे । यही सम्भावित घटनाक्रमको सुईको पाएपछि अन्तिममा कार्यक्रम स्थगित गरियो । जसका कारण सहभागीहरु आफै सांसद, आफै मन्त्री र आफैलाई प्रधानमन्त्री मानी फोटो खिच्दै तितरवितर भए ।
हल्लै हल्लाको संसार भनेजस्तो अहिले ओली र आरजुलाई लखेटिएको भन्ने भाष्य स्थापित गरेर सामाजिक सञ्जालमा डम्फु बजाइएको छ । यो भ्रममा अरु त परकै कुरा स्वयंम् काँग्रेस सभापति शेरबहादुर देउवा पनि परेका छन् । उनले एउटा कार्यक्रममा अमेरिकामा पत्नि आरजुमाथि नाराबाजी गरेको भन्दै तथ्य नबुझी यसको प्रतिवाद गरेका छन् । जबकी सार्वजनिक भिडियो नै कृतिम रुपमा तयार पारिएको थियो । यसअघि टुँडिखेलमा देउवाको पनि नामै किटेर युवाहरुले नाराबाजी गरेका थिए ।
अमेरिकाको कोलम्बिया युनिभर्सिटीमा प्रधानमन्त्री ओलीले अंग्रेजीमा गरेको सम्बोधनलाई लिएर पनि ट्रोल बनाईएको छ । सम्बोधनका क्रममा शब्द प्रयोग गर्दा ओली धेरै ठाउँमा चुकेका छन् । नेपाली भाषा प्रयोग गरेर त्यसलाई अंग्रेजीमा अनुवाद गर्न लगाएको भए सायद त्यसको ओझ रहन्थ्यो । तर अंग्रेजीको हुटहुटीमा परेर ‘ठुटे इंग्लिस’ छाड्दा ओली आलोचनाको शिकार भए । उनको अंग्रेजी हेर्दा काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै प्रश्न र उत्तरबीचको तादम्यता मिलेन ।
सिंगो देशको प्रतिनिधित्व गरेर पुगेका ओलीले देशको हित र आवश्यकतामा केन्द्रीत भएर आफ्ना धारणा राख्नुपर्ने थियो । विश्वव्यापी जलवायु परिवर्तनको असरले नेपालमा हिमताल फुटेको, हिउँ पग्लिन थालेको, धेरै हिमताल फुट्ने उच्च जोखिममा रहेको र त्यसको पत्यक्ष असर जनताले भोगेको विषय उठाउनुपर्ने थियो । तर यी सबै विषय ओझेलमा परे ।
नेतालाई जनताबाट जोगिएर हिड्नुपर्ने सुरक्षा थ्रेटको चिन्ताले जकड्दा ध्यान नै भंग भएजस्तो देखियो । मुलतः समस्या जनतामा पनि देखियो । ‘प्रधानमन्त्री वा मन्त्रीहरूसँग निजी वा दलीय विमति हुन सक्छन् । तर अन्तर्राष्ट्रिय मञ्चमा भाग लिइरहेका बेला निजी असन्तुष्टि र दलीय विमतिलाई लिएर प्रधानमन्त्रीमाथि यो हदसम्मको अनादर, अपमान र दुर्व्यवहार गर्नु व्यक्तिको होइन, सिंगो नेपालीको अपमानसरह हो । प्रधानमन्त्रीलाई विदेशी भूमिमा विरोध गर्नु राष्ट्रहितको विषय होइन, जबकि असहमति भए राख्ने सयौं विकल्पहरु छन् ।
प्रकाशित समय : १०:४१ बजे