गृहपृष्ठ बिहारमा नेपालीमाथि कहालीलाग्दो ठगी धन्दा, झण्डै २० हजार नेपाली नेटवर्किङको जालोमा
बिहारमा नेपालीमाथि कहालीलाग्दो ठगी धन्दा, झण्डै २० हजार नेपाली नेटवर्किङको जालोमा
२० बर्षीय मीनबहादुर खड्कालाई एकदिन अचानक आफ्नै गाउँका दाई नाता पर्ने व्यक्तिले फोन गरे । ‘विरगञ्जस्थित भारतीय नाका नजिकै एकदमै राम्रो जागिर छ । धेरै दुःख पनि गर्नुपर्दैन । पैसा कमाउन मन छ भने आईहाल । मैले यहाँ टन्न कमाइरहेको छु ।’
उनले लोभ पनि यसरी देखाएकी बाजुराबाट काठमाडौं आएर अभावै–अभावको संघर्षपूर्ण जीवन बाँचिरहेका मीनबहादुर धेरैपटक सोच्न बाध्य बने । उनले पत्तै पाएनन्– अबको केहीदिनभित्रै सम्भवतः म नर्कजस्तो जीवन बाँच्न पुग्दैछु । मृत्युको मुखमा पुगेर फर्किनुपर्छ ।
विश्वास पनि कसरी नगर्नु, आफ्नै गाउँको दाईले भनेको छ । त्यसमा पनि नेपाली ५० हजारदेखि अलि राम्रो गर्न सके ७०/८० हजारसम्म तलब हुने प्रलोभन देखाएका छन् । यता आफ्नो जिन्दगी हेर्दा गोजीमा खाजा खाने पैसा छैन । फलतः उनी यस्तो आकर्षक तलब सुविधासहितको जागिर नछोड्ने निधोमा पुगे र बस चढेर विरगञ्जतर्फ हानिए ।
करिब १२/१५ घण्टाको बसयात्रापछि विरगञ्ज पुगे । तर गन्तव्य कहाँ विरगञ्ज हुनु ? त्यहाँबाट रातभर बस र ट्रेनको यात्रापछि पुगिने बिहारको गया रहेछ । विरगञ्ज भनेर बिहार पु¥याएपछि नै उनको मनमा केही शंका उब्जिसकेको थियो । तर आफ्नै गाउँका दाईले के गर्लान् र भनेर उनी विश्वासमा परे । तर यहीबाट सुरु भयो, जीवनमा नसोचेकै अर्काे अध्याय । ‘आफ्नै साथीले, दाईले भन्दा त विश्वास लाग्छ नी त । फेरि इन्डिया भनेको थिएन, विरगञ्जभन्दा अलि अगाडीमात्रै भनेको थियो ।’, उनले भने ।
त्यहाँ पुग्न बित्तिकै उनलाई एउटा होस्टेलमा राखियो । आफुजस्ता सयौं नेपालीहरु अस्तव्यस्त पल्टिएको देखे । जागिर खाने भनेर गएका उनको सुरुमै मोबाइल थुतियो । सातदिनसम्म तालिम भन्दै बन्धक जस्तो बनाएर झुट बोल्न सिकाईयो । छैंटो दिनमा दुईलाख मागियो । तर सापटी मागेर जागिर खोज्न आएको हुँ, दिन सक्दिन भनेपछि अर्काे बन्द कोठामा लगेर यातना दिन सुरु गरे । भागेर गइस भने पटना नपुग्दै सकिन्छस् भनेर ज्यानमार्ने धम्की दिइयो । त्यतिबेलासम्म कि त कागज बनाएर छोड्ने कि मारिदिने योजना उनीहरुको थियो । ‘मैले लाइफमा पहिलो पटक होला यस्तो कष्ट ब्यहोरेको ।’, मीनबहादुरले भने, ‘सन्दीप सुनार भन्ने हुनुहुन्थ्यो । उहाँको बाबुछोरा दुवै त्यहाँ हुनुहुन्छ । उहाँले मलाई छोपेर कोठाभित्र लिनुभयो । तपाईँले कागज बनाउनुस् भन्नुभयो । त्यसपछि मैले कागज बनाउँदिन भने । मलाई विरगञ्ज भनेर ल्याईएको थियो, जागिर भन्नुभएको थियो तर किन धोका दिनुभयो भनेर सोधे । आफ्नो सबैकुरा भने । १७ हजार सापटी लिएर आएको छु । दुई लाख कसरी बनाउन सक्छु भनेपछि उहाँले फोन गरेर अन्य ३/४ जना मान्छे बोलाउनुभयो । त्यसपछि उनीहरुले धम्की दिए । कागज बनाउनुपर्छ नत्र यही मार्दिन्छौं भने । यदि भागेर गइस् भने गया स्टेशनसम्म पनि पुग्न पाउँदैनस् भनेर धम्की दिए ।’, उनले हामीसँग यसरी घटनाक्रम सुनाए ।
उनले जसलाई विश्वास गरि काठमाडौंबाट बिहारसम्मको यात्रा गरेका थिए, ति व्यक्ति हुन्, राजेन्द्र रोकाया । मीनबहादुर खड्का बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् भने रोकाया त्यसकै छिमेकी गौमुल गाउँपालिकाका स्थायी बासिन्दा हुन् । मीनबहादुरलाई बन्द कोठाभित्र ज्यानमार्ने धम्की दिने व्यक्ति तनहुँका सन्दीप सुनार र उनका बाबु राजिब सुनार हुन् । तर मीनबहादुरले नेपाल गएर उनीहरुको धन्दाका बारे केही बोल्दिन्न, कसैलाई सुनाउँदिन भन्ने कागजमा ल्याप्चे लगाएपछिमात्रै बेलुका ७ बजे छोडिदिएको थियो ।
जागिरको प्रलोभन देखाएर मिनबहादुरलाई खासमा जालमा पारिएको थियो । यसरी नै आफन्त वा साथीभाईले फसाएका झण्डै १५/२० हजार नेपालीहरु भारतको बिहारमा छन् । किनकि उनीहरु इतिहासकै ठूलो नेटवकिङ व्यवसायको जालोमा परेका छन् । ‘सबै त्यहाँ नेपाली नै नेपाली छन् ।’, यही समूहबाट ठगीएका रामेछापका अर्का पीडित नारायण बस्यालले भने, ‘यसो हेर्यो जतापनि नेपाली देखिन्छन् । तर चिनेकै साथीहरुले पनि त फस्दैछस् भनेर भन्दैनन् ।’
यो सबै संगठित ठगीको धन्दा दुई कम्पनीको आवरणमा भइरहेको छ । बिहारको गयास्थित मरनपुर बाइपास रोडमा वेस्टर्न फेशन नाम गरेको एउटा कम्पनी छ । त्योसँगै अर्काे मोर्डन फेशन ट्रेड नाम गरेको कम्पनी पनि छ । जागिर दिन्छु भन्ने बाहिर आवरणमा यी दुई कम्पनीहरुले अहिले लाखौं नेपालीहरुलाई ठगीरहेको ठगीरहेका छन् । यसरी संगठित गिरोह नै बनाएर ठग्ने पनि नेपालीहरु हुन् ।
सुरुमा यहाँसम्म पुर्याउनका लागि आकर्षक जागिरको लोभ देखाईन्छ । त्यहाँ पुगिसकेपछि होस्टेल र फर्म शुल्क भनेर १८ हजार असुलिन्छ । ५० हजारदेखि एक डेढ लाखसम्म कमाई हुन्छ भनेपछि युवाहरु पनि तिर्न बाध्य हुन्छन् । त्यतिबेलासम्म कम्पनीका बारेमा उनीहरुलाई खासै जानकारी हुँदैन । सातदिनको तालिममा संस्कार, अनुशासन, स्मार्ट लक्ष्य, साथी, राम्रो प्रशंसा र लेखाजोखा अर्थात् क्याल्कुलेशनबारे तालिम दिइन्छ ।

तर यी सब देखाउने कुरामात्रै हुन्छन् । असलीयतमा उनीहरुलाई प्रलोभनमा पारी दुई लाख असुल्नु नै मुख्य उद्देश्य हुन्छ । अन्तर्वार्ताका नाममा तिमीहरु पनि अब कम्पनीको ४१ प्रसेन्टको मालिक बन्नुपर्छ, जागिर खाएर पनि कसैले कमाउनसक्छ ? भनेर ब्रेनवास गर्ने काम हुन्छ । दुई लाख तिरेकै भरमा यतिधेरै मानिस र यत्रो कम्पनीको मालिक बन्न पाइन्छ भनेर धेरैजसो उनीहरुको जालमा पर्छन् । तर जसोतसो सरसापट गरि दुईलाख बुझाएपछिमात्रै अर्काे रहस्य खुल्छ । त्यो दुई लाख तिरिसकेपछि उनीहरुले अन्य ४ जनालाई यसैगरि बोलाउनु पर्ने हुन्छ । अर्थात् जसरी आफु फसे उसैगरि एकजना बराबर चार जना फसाउनुपर्ने भन्छन् । नसके दुई लाख भुलेर कागज गरि घर फर्किन बाध्य पारिन्छ । यहीँ कारण कतिको त घरपरिवारसँग सम्बन्ध बिग्रिएको छ । ‘घरका मान्छेले नजाउ यस्तो ठाउँमा फसिन्छ भनेकै थिए ।’, बझाङका विमल खड्काले भने, ‘मैले अहिले घरका मान्छेसँग पनि बोल्न छोडेको झण्डै २ महिना भइसक्यो ।’
कतिले आफ्नै दुई लाख उठाउनका लागि पनि अन्य व्यक्तिलाई यसैगरि फसाउन बाध्य हुन्छन् । यदि फसाउन सफल भएको खण्डमा एकजना बराबर २४ हजार ८ सय भारु अर्थात् भण्डै ४० हजार नेपाली रुपैयाँ कमिशन पाउँछन् । र यो धन्दाको कमाई नै यही हो । यदि यसरी नै मानिस जोड्दै जान सकियो भने कमिशन बराबरको पैसा आउँछ । तर आफुले त्यहाँ पुर्याएको व्यक्ति दुई लाख बुझाउन तयार नभएको खण्डमा भने लिएको मानिसले पाउने कमिशन पनि गुम्छ ।

यी युवाहरु वेस्टर्न फेशन र मोर्डन फेशनमा जागिर खान भन्दै नेपालबाट गएर भाग्यले बाँचेर फर्किएका युवाहरु हुन् । यसमध्ये कतिले दुई लाख बुझाएर फर्किएका छन् भने कतिले त्यही तिर्न नमान्दा यातना भोगेर फर्किएपछि कम्पनीको पर्दाफास गर्न थालेका छन् । यसअघि पनि यही गिरोहले यसरी नै नेपालीहरु ठग्नका लागि ‘वी वीनर ट्रेडमार्ट’ नामको कम्पनी चलाएको थियो । तर त्यसको ठगीबारे पर्दाफास भएपछि त्यसलाई बन्द गरि त्यही गिरोहले वेस्टर्न फेशन र मोर्डन फेशनको नाममा अर्काे कम्पनी खडा गरि फेरि त्यही धन्दालाई निरन्तरता दियो । यो धन्दाको माथिल्लो तहमा बुद्धि तामाङ, ईश्वर ढकाल, नविनकुमार थापा, ललित श्रेष्ठ, राजिब सुनार र दीपक नेपाली लगायतका व्यक्तिहरु छन् ।
यी व्यक्तिहरु जतिजति तल मान्छे थपिँदै जान्छन् त्यति नै मालामाल हुँदै जान्छन् । हजारौं नेपालीहरुलाई ठग्न सफल भएपछि यीनको रवाफ हातै भरि, घाँटीभरि सुनैसुन लगाउने तहमा छ । चिल्लो गाडी र गुस्सीको ब्राण्ड देखाएर त्यहाँ पुग्ने हरेक नेपालीहरुलाई लोभ्याउने गर्छन् । माथिल्लो तहमा रहेका सबैको जीवनशैली विलाशिताले भरिएको ठगीएका अर्का युवा बझाङका धर्मराज थापाले बताए । मुलतः यहाँ सुदूरपश्चिमतिरका धेरै छन् । यो क्षेत्रका युवाहरुलाई यो जालोमा फसाउने धन्दाको माथिल्लो तहमा नविनकुमार थापा छन् । जो यसअघि पत्रकारिता क्षेत्रमा सक्रिय थिए । तर यहाँबाट ठगेर कमाउन थालेपछि भाई भतिजलाई समेत सक्रिय बनाएर पश्चिम क्षेत्रका सोझासिधा युवाहरुलाई फसाउने धन्दामा सक्रिय रहेको मीनबहादुरले बताए ।
उनीहरुले नेपालीहरुलाई झुक्याउनका लागि गार्मेन्टमा काम गर्दै गरेकी युवतीको भिडियो देखाएर प्रचार गर्छन् । कम्पनीमा जोडिएपछि टन्न कमाएको र सपना पुरा हुँदै गरेको बोल्न लगाएर अन्यलाई आकर्षित गर्ने तरिका अपनाएका छन् ।
नेपालमा पिरामिड शैलीको नेटवर्किङ व्यवसायी प्रतिबन्ध छ । यो व्यवसायमा सुरुमा एकजना व्यक्ति हुन्छ । त्यसले चार जना बनाउँछ । चार जनाले १६ जना र १६ ले ६४ बनाउँदै यो फैलिँदै जान्छ । यहाँ पनि यी व्यक्तिहरुले यही धन्दाका लागि बिहारमा झण्डै ५० देखि ६० वटा होस्टल चलाएको खुलेको छ । त्यहाँ झण्डै १५ देखि २० हजार नेपाली यही जालोमा परेको युवाहरुको भनाइ छ । प्रत्येक दिन १ सयदेखि २ सयको संख्यामा नयाँ नेपाली जागिरको खोजिमा त्यहाँ पुग्छन् र यही धन्दाको जालोमा फस्छन् । यसअघि पनि यी दुई कम्पनीले ठगी गरेका नेपालीहरु मिडियामा आएर उनीहरुको धन्दाबारे बोलेका थिए ।

उनीहरुको अबको टार्गेट तपाईँ पनि बन्न सक्नुहुन्छ । त्यसबाट बच्न पहिलो कुरा वेस्टर्न फेशन र मोर्डन फेशनको नाम लिएर कसैले जागिरको अफर गर्यो भने सिधै नकार्नु होला । त्यसमा पनि विरगञ्ज वा बिहारमा जागिर छ भन्दै कसैले बोलाउँछ भने होसियार अपनाउनुपर्छ । तर सबैभन्दा पहिलो यस्तो धन्दामा को–को मुख्यरुपमा भूमिका खेलिरहेका छन् जानीराख्न आवश्यक छ । जसको क्रमशः हामीले नाम राखिदिएका छौं । भोलि यस्तो नाम गरेका व्यक्तिले तपाईँलाई आकर्षक जागिरको लोभ देखायो भने सचेत बन्नुहोला ।
१. बुद्धि तामाङ
२. ईश्वर ढकाल
३. नविनकुमार थापा
४. ललित श्रेष्ठ
५. राजिब सुनार
६. सन्दिप सुनार
७. राम थापा
८. रम्बा थापा
९. कमल थापा
१०. उर्मिला विष्ट
११. दिपा साउद
१२. गिता साउद
१३. सुरज चलाउने
१४. समिर विष्ट
१५. दिपक नेपाली
१६. राजकुमार श्रेष्ठ
१७. निरु मगर
१८. सन्जिव मगर
१९. अनिल बुढाथोकी
२०. देवकी रोका
२१. किरण श्रेष्ठ
२२. बाबुराज श्रेष्ठ
२३. भोजराज श्रेष्ठ
२४. मिनालक्ष्मी प्रधान
ठगीएका युवाहरुले उपलब्ध गराएको जानकारी अनुसार माथिल्लो तहमा उनीहरु रहेपनि यहाँ सयौंको संख्यामा यस्ता ठगहरु छन् ।
०००
प्रकाशित समय : ०९:०० बजे



















