गृहपृष्ठ स्व पत्रकार पाठकका परिवारलाई एक लाख प्रदान
स्व पत्रकार पाठकका परिवारलाई एक लाख प्रदान
झापामा स्व पत्रकार नेत्र पाठकको परिवारलाई राहतस्वरुप एक लाख प्रदान गरिएको छ ।
नेपाली पत्रकारिताकै इतिहासमा पहिलो पटक पत्रकार महासङ्घकै कोषबाट आफ्ना सदस्यको निधन भएपछि पत्रकार महासङ्घ झापा शाखाले एकाघर परिवारका सदस्यलाई एक लाख प्रदान गरेको हो । पत्रकार सहारा उपचार कोषमार्फत आफ्ना सदस्यको निधन भएमा बढीमा एक लाखसम्म परिवारका सदस्यलाई राहतस्वरुप प्रदान गर्ने कार्यविधिअनुरुप यो रकम हस्तान्तरण गरिएको महासङ्घका अध्यक्ष एकराज गिरीले बताए ।
उक्त रकम स्व पत्रकार पाठककी श्रीमती सीता पाठक र बुहारी हिमा पाठकले ग्रहण गरिन । महासङ्घ झापा शाखाको कार्यकक्षमा आज आयोजित सङ्क्षिप्त कार्यक्रममा शाखाका पूर्वअध्यक्ष भीम नेम्वाङ र केशव आचार्यले आफ्ना सदस्यप्रतिको यो उत्तरदायित्वको प्रशंसा गरे।
महासङ्घ जिल्ला शाखाका उपाध्यक्ष केशव भट्टराईका अनुसार झापा शाखाले स्थापना गरेको उक्त उपचार कोषमा एक करोड ११ लाख रहेको छ । कोषको ब्याजमार्फत घाइते वा बिरामी पत्रकारलाई र सुत्केरी पत्रकार महिलालाई समेत उपचार खर्च प्रदान हुँदै आएको छ । सोही कोषमार्फत ज्येष्ठ पत्रकारलाई वार्षिक रुपमा औषधोपचार खर्च पनि पत्रकार महासङ्घ जिल्ला शाखाले प्रदान गर्दै आएको महासङ्घका सचिव डिकेश लामाले बताए।
प्रकाशित समय : १६:०० बजे