गृहपृष्ठ बालुवाटारमा भाग खाने भेला, उपसभामुखलाई हटाएर प्रधानन्यायाधीश आफु अनुकुल
बालुवाटारमा भाग खाने भेला, उपसभामुखलाई हटाएर प्रधानन्यायाधीश आफु अनुकुल
देशको शिर झुकाउने काम गरेको भन्दै उपसभामुख इन्दिरा राना मगरलाई हटाउने खेल संवैधानिक परिषद्मा सत्तापक्षको बहुमत पुर्याउने रणनीति मात्रै हो भन्ने पुुष्टि हुन खोज्दैछ । उपसभामुखले गरेको गैरकानुनी कामको चिन्ताले भन्दा पनि बहमुत नभए आसन्न नियुक्ति गुम्ने डर सत्तालाई छ । प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई समेत हातमा लिएर सत्ता गठबन्धन प्रधानन्याधीश नियुक्तिको प्रक्रियामा लाग्दा माओवादी पनि भाग पाए ठिकै छ नीतिमा पुगेको छ । अर्थात, उपसभामुखलाई भ¥याङ बनाएर जनताको नजरमा परस्पर विरोधी देखिने सत्ता र प्रतिपक्ष भागबन्डामा फेरि एक ठाउँमा उभिएका छन् ।
उपसभामुख मगरलाई हटाउने चर्चाकै बीच काँग्रेस सभापति शेरबहादुर देउवाको जन्मदिनको संयोगमा बनाएर बालुवाटारमा भएको शीर्ष तीन नेताको भेटले धेरै कुराहरु बाहिर ल्याएको छ । अहिले ६ सदस्यीय संवैधानिक परिषद्मा प्रधानमन्त्री ओली अल्पमतमा छन् । विपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख प्रतिपक्ष कित्तामा छन् । प्रधानमन्त्रीसँग सभामुखमात्रै देखिन्छन् । प्रधानन्यायाधीशको भूमिका तटस्थ देखिन्छ । फलतः सरकारले बहुमत पुर्याउनकै लागि रानालाई हटाउन खोजेको छ ।
अर्कोतर्फ बाहिरी आवरणमा इन्दिरा हटाउने खेलको विपक्षमा रहेका माओवादीका अध्यक्ष प्रचण्ड नै संवैधानिक परिषद्मा बार्गेनिङ गर्न पुगेका छन् । आफुलाई केही न्यायाधीशको भाग दिए इन्दिरा हटाउने मुद्दालाई आफूले नजरअन्दाज गरिदिने र नियुक्तिमा सघाउने वचन प्रचण्डले दिएका छन् । सरकारले प्रधानन्यायाधीश मात्रै नियुक्त गर्न खोजिरहेका बेला प्रचण्डले संवैधानिक निकायमा खाली रहेका सबै पदाधिकारी सोलोडोलो नियुक्त गर्न प्रस्ताव गर्नुले उनीहरुको भेट अर्थपूर्ण भन्दा बढी स्वार्थपूर्ण देखिएको छ । प्रचण्डलाई कन्भिन्स गर्नकै लागि वा आफु अनकूलको बहुमत बनाउनकै लागि ओलीले मंगलबार बोलाएको संवैधानिक परिषदको बैठक शुक्रबारका लागि सारेको थिए ।
तर अहिले सतहमा आएको सबैभन्दा ठूलो विषय नै प्रधान्यायाधीश हो । र उपसभामुखमाथि भइरहेको चलखेलको उपज पनि उनले देशको शिर झुकाउने कदम चालेको नभई संवैधानिक परिषद्मा सत्तापक्षको बहुमत बनाएर आफु अनुकूल सर्वोच्चको प्रधानन्यायाधीश नियुक्ति गर्नु हो । अहिलेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज २० गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । भावी प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले आठ जनाको नाम सिफारिस गरेको छ । वरिष्ठताका आधारमा प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश बन्ने पक्कपक्की जस्तै छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निकटसमेत रहेका राउतलाई नै नियुक्त गर्नुपर्नेमै काँग्रेस रहेका बेला बीचमा केही गडबढ नभए राउतले नै १४ महिनासम्म समग्र न्यायपालिकाको कमाण्ड गर्नेछन् ।
तर त्यो गडबढी परराष्ट्रमन्त्रीसमेत रहेकी आरजु राणा देउवा बन्न सक्ने सम्भावना रहेको चर्चा छ । किनभने अहिले ओली र आरजुकै सन्तुलनमा सत्ता पनि चलिरहँदा महिला अधिकारका मुद्दा लगायत विविध विषयमा आरजु र सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको दोस्ती रहँदै आएको छ । आरजुले मल्ललाई प्रधानन्यायाधीश बनाउन चाहे देउवाको सपना चकनाचुर हुनेछ । किनकि एमाले र प्रधानमन्त्री ओली पनि पासा पलएर मल्ललाई प्रधानन्यायाधीश बनाउने बाटोमा छन् ।
यसको अर्को सम्भावना के पनि हो भने, एमालेकै कोटाबाट न्याय सेवामा प्रवेश गरेकी मल्ल, ओलीले संसद विघटन गरेका बेला विघटनको पक्षमा थिइन् । तर, संवैधानिक इजलासमा विघटन बदर गर्ने पक्षमा बहुमत हुँदा पछि मल्ल पनि त्यसमै सही ठोक्न बाध्य बनेकी थिइन् । तर, यो गठबन्धन ०८४ सालसम्मै जाने भएकाले १८ महिनासम्म राउतलाई प्रधानन्यायाधीश बनाउने र कार्यकाल सकिएपछि स्वतः मल्ललाई प्रधानन्यायाधीश बनाउन सहयोग गर्ने भन्दै काँग्रेसले एमालेलाई कन्भिन्स गर्न खोजिरहेको छ । ओली नै प्रधानमन्त्री भएका बेला २०७५ सालमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिमार्फत अस्वीकृत गरी ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीश बनाएका थिए । यही खेलोफड्को अहिले पनि हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
‘कुनै पनि सर्वाेच्चको न्यायाधीश प्रधानन्यायाधीश नियुक्त हुनसक्ने व्यवस्था छ ।’, वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले भने, ‘त्यसैले न्याय परिषद्ले ८ जनाको नाम सिफारिस गरेको हो । त्यसको अर्थ यो ८ जनामध्ये जसलाई पनि प्रधानन्यायाधीश बनाउन सक्छौं भनेको हो । त्यसैले सहमति जुट्यो भने पहिलो नभएर दोस्रो वा तेस्रो मात्रै होइन, आठौंलाई पनि बनाउन सकिन्छ ।’
अर्कोतर्फ काँग्रेसलाई उपसभामुख पनि दिने र काँग्रेसकै कोटाका प्रधानन्यायाधीश पनि नियुक्त गरिए संवैधानिक परिषद्मा एमालेलाई चुनौती हुनसक्छ । अर्थात काँग्रेसको बार्गेनिङ पावर पनि बढ्दै जाने भएकाले त्यसलाई सन्तुलनमा राख्ने प्रधानमन्त्री ओलीको चाहना छ । जसमा प्रचण्ड पनि संवैधानिक परिषद्मा आफ्नो दुई अंकको शक्ति देखाउँदै समयमै भाग लिइहाल्ने रणनीतिमा देखिएका छन् । जुन सडकमार्फत सरकारको विरोध गर्ने तर भाग पाउने भएपछि पार्टीको कार्यक्रम छोडेरै काठमाडौं फर्किने प्रचण्ड दौडले थप प्रष्ट पारेको छ ।
प्रकाशित समय : १२:१३ बजे