गृहपृष्ठ बोनस बाँडेर हकप्रद सेयर घटाउँदै बीमा कम्पनी

बोनस बाँडेर हकप्रद सेयर घटाउँदै बीमा कम्पनी

बोनस बाँडेर हकप्रद सेयर घटाउँदै बीमा कम्पनी

दुई बीमा कम्पनीले घोषणा गरेको हकप्रद सेयर संशोधन गर्ने अर्थात् घटाउने भएका छन् । पुँजी बजारमा सूचीकृत प्रभु महालक्ष्मी लाइफ र एनएलजी इन्स्योरेन्स कम्पनीले जारी गर्ने भनेर घोषणा गरेको हकप्रद सेयर संशोधन गर्ने निर्णय गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्‍याउन निर्देशन दिएको छ । प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुर्‍याउन हकप्रद सेयर जारी गर्ने घोषणा गरेका कम्पनीहरू संशोधन गर्दै घटाउन थालेका हुन् ।

प्रभु महालक्ष्मी लाइफले चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले प्रस्तावित हकप्रद सेयर घटाउँदै अब ७ प्रतिशत मात्रै निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

बोनस सेयर वितरण गर्ने भएपछि कम्पनीले हकप्रद सेयर घटाउने निर्णय गरेको कम्पनीले जनाएको छ । १० प्रतिशत बोनस सेयर ७ प्रतिशत हकप्रद सेयर जारीपश्चात् कम्पनीको चुक्ता पुँजी प्राधिकरणले तोकेबमोजिम ५ अर्ब ५ करोड ६३ लाख रुपैयाँ पुग्ने कम्पनीको भनाइ छ ।

यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा भएकाले चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउनुपर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पुँजीको ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । प्रस्ताव गरेको उक्त हकप्रद सेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । तर, बोर्डले अनुमति नदिँदा हालसम्म हकप्रद सेयर जारी गर्न सकेको छैन ।

यसबीचमा कम्पनीले ५.५ प्रतिशत बोनस सेयर वितरण गर्‍याे । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ पुगेको छ । उक्त बोनस घटाउँदै कम्पनीले हकप्रद सेयर संशोधन गरेको छ । अब कम्पनीले चुक्ता पुँजीको ६२.५६ प्रतिशत मात्रै हकप्रद सेयर जारी गर्ने भएको छ ।

धितोपत्र बोर्डले हकप्रद सेयर जारी गर्न अनुमति नदिएपछि बोनस सेयर वितरण गरेका कारण संशोधन गरेको कम्पनीहरू बताउँछन् । तर, हकप्रद सेयर संशोधन हुँदैमा कुनै असर नपर्ने बीमा कम्पनीका सीईओहरूको भनाइ छ । तर, पुँजी बजारमा लगानीकर्ताको मनोविज्ञानमा भने असर पर्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुली बताउँछन् ।

‘कम्पनी र लगानीकर्ताले सोंच्ने तरिका फरकफरक हुन्छ, कम्पनीले प्राविधिक रूपमा सही व्याख्या गरेपनि त्यसले लगानीकताको मनोविज्ञानमा केही न केही असर पुगेको हुन्छ । तर, सकरात्मक असर पुग्छ वा नकरात्मक असर पुग्छ त्यो लगानीकर्तामा निर्भर हुन्छ,’ उनले भने, ‘कस्तो असर गर्छ भनेर सेयर मूल्यमा हुने परिवर्तनका आधारमा मात्र भन्न सकिन्छ ।’

प्रकाशित समय : ०७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु