Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

भोको पेटको खोजी

डीआर आचार्य काठमाडौँ वैशाख ६, २०७७       

भोको पेटको खोजी

केही दिन भयो, डराइडराइ भए पनि बेलुकातिर बाहिर निस्किरहेको छु । कारण समाचार संकलन नै हो । सुन्दा हुटिट्याउँले आकाश थाम्न खोजेजस्तो पनि लाग्न सक्छ । तर, विस्मात मान्दिन । 'राहत वितरणमा मनपरी', 'हचुवामा राहत वितरण', 'राहतमा कुहिएको चामल', 'खान नपाएर बिजोग', 'मर्नुभन्दा बहुलाउनु निको' जस्ता समाचारले पिरोलिरहने भएकाले नै बाहिरिन मन लाग्छ । मंगलबार अपराह्न कोठाबाट मोटरमा निस्किएँ । प्रेसको ज्याकेट, मास्क र पञ्जा लगाएको थिएँ । मनलाग्दी हिँड्न खुला थिएँ । लोकन्थली चोक पुगेपछि ब्रेक दबाएँ । कता जाऊँ कता भयो । मनसँगै वार्ता गरेँ, 'आ !! आज पूर्वतिर लाग्छु ।' अन्योलमै एक्सिलेटर दबाएँ । खुला सडक । रफ्तार कुदाउन पनि सकिन्थ्यो तर गन्तव्यबिनाको यात्राको गति पनि सुस्त नै हुने रहेछ । मनमा अनेक कुरा खेलाउने गल्ती पनि गरिरहेको थिएँ । वर्षौंदेखि जाम सडकमा मोटर गुडाउने बानी । विस्तारै गुडाउँछु भन्दा पनि क्षणभरमै चार‑पाँच किलोमिटर पार भइसकेछ । लमतन्न सुनसान सडक । पूर्वतिर आकाश धुम्मिएको थियो । पश्चिम खुलेको रहेछ । मोटरको लुकिङ ग्लासबाट पश्चिमतिरको नीलो आकाश देखिइरहेको थियो । धेरै पछाडिसम्म पनि सडक खाली थियो । चारदोबाटो कटिसकेको थिएँ । गति अझ घटाएँ । आँखा दायाँबायाँ पनि डुलिरहेका थिए । ठिमी चोक काट्नेबित्तिकै बायाँतिर केही मानिस बसिरहेको देखेँ । अनुहार 'बिचरा परेको' थियो । मोटर साइड लगाएँ र रोकेँ । नउत्रीकनै प्रेस ज्याकेट र पञ्जा खोलेर ब्यागमा राखेँ । पछाडि चोकमा प्रहरीहरू चेकिङमा व्यस्त थिए । सडकमा हिँडिरहेका यात्रु, पासबिनाका मोटरसाइकल र गाडीहरूलाई फर्काइरहेका थिए । केही मोटरसाइकल दिनभरका लागि 'खोसिएका' पनि थिए । तर, सडकनजिकै बसिरहेका उनीहरूलाई प्रहरीसँग कुनै भय थिएन । अलि फरक लाग्यो । छेउमा गएर सोधेँ, 'तपाईंहरु किन यहाँ बस्नुभएको ?' उनीहरू सबै बोल्न खोजे तर कोही बोलेनन् । मलाई लाग्यो, 'ज्याकेट खोल्नुअघि नै उनीहरूले मलाई देखेका रहेछन् ।' 'पुलिससँग नडराएका उनीहरू सञ्चारकर्मीसँग किन डराउलान् ?' अर्को प्रश्न तेर्सियो । सोधिहाल्न चाहिँ मन लागेन । उभिएकै थिएँ । अर्को जना पनि त्यहीँ आएर बसे । अलि टाठा देखिन्थे । सोधेँ, 'यहाँ किन बस्नुभएको ?' उनले केही नसोची भने, 'खाना खान ।' 'सबै जना ?' 'हजुर !' 'कसले दिन्छ खाना ?' 'खोई ! को हो त थाहा छैन, गाडीमा खाना लिएर आउनुहुन्छ, पेटभरी खुवाउनुहुन्छ, अनि जानुहुन्छ ।' 'कहिलेदेखि ?' 'म आउन थालेको त चार दिन भयो, अगाडि चार दिनदेखि खुवाउन थाल्नुभएको रहेछ ।' 'बिहान‑बेलुका नै ? 'हजुर हो ।' 'कति बजे खुवाउनुहुन्छ ?' 'बिहान ९ बजे, बेलुका ५ बजे ।' घडी हेरेँ । ५ बज्न लागेको थियो । प्रभु बैंकको शाखा कार्यालय र एनएमबी बैंकको एटिएम काउन्टरको आडैमा भोको पेटले लपेटिएकाहरु भातको पर्खाइमा बसेका रहेछन् । मानिसहरू त्यहाँ बस्नुको कारण प्रस्ट भइसकेको थियो । अब खुवाउने मान्छेबारे थाहा पाउनैपर्ने भयो । को हुन् ती दानवीर, जसले लकडाउनका कारण घर जान नसकेर देशको राजधानी सहर काठमाडौँमा धिक्कारिँदै बसिरहेका मजदुर, ज्यामी र बालबालिकाहरूलाई खाना खुवाइरहेका थिए ? म निधार खुम्च्याइरहेको थिएँ । एकजना मानिसले मेरै मोटरसँग जोडेर मोटर राखे । उनी आइपुग्दै गर्दा खानाको पर्खाइमा रहेकाहरुको अनुहारमा बेग्लै चमक आइसकेको थियो । उनले नजिकै आएर भने, 'ल अलि मिलेर बस्नुस्, मास्क लगाउनुहोस्, गाडी आइपुग्न एकछिन लाग्ने भयो ।' म उनको नजिक गएँ । परिचय मागेँ । उनी पुनर्निर्माण प्राधिकरणबाट स्वीकृति प्राप्त नेपाल स्वयंसेवक संघका अध्यक्ष सन्तोष निरौला (तारा) रहेछन् । ००० लकडाउन भएको केही दिनपछि सन्तोष सडक किनारामा हिँडिरहेका थिए । उनको मनमा अनेक कुरा खेलिरहन्थ्यो‑ नोवल कोरोनाभाइरस (कोभिड १९) संक्रमणका कारण विश्व थलापरिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन । सरकारले भौतिक दूरी बढाउन चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि काठमाडौँबाट बाहिरिन नपाएकाहरूको बिजोग छ । सरकारले उनीहरूका लागि राहत प्याकेज घोषणा गरेको थियो । तर, वितरणको तारतम्य नमिल्दा धेरैले राहत पाउन सकेका थिएनन् । सन्तोष लकडाउनको समयमा व्यक्तिगत तवरबाट कसलाई कसरी सहयोग गर्न सकिन्छ भनेर सोचिरहेका थिए । उनको नेतृत्वमा गठन भएको नेपाल स्वयंसेवक संघले भूकम्पको समयमा पनि धेरैको उद्धार गरिसकेको थियो । राहत वितरणका लागि स्वयंसेवक संघमा आबद्ध युवाहरु सामान्य अवस्थामा पनि नेपालका धेरै जिल्ला पुग्ने गर्छन् । विपतको समयमा त नखट्ने कुरै भएन । यसपटक उनले अलि फरक दृश्य देखे‑ सडकमा खान नपाएर शिथिल अवस्थामा पुगेका कुकुरहरु र मन्दिरहरुमा चारो कुरिरहेका परेवाहरु । सन्तोषलाई कुकुर र पन्छीहरूलाई चारो खुवाउन मन लाग्यो । लकडाउनको तेस्रो‑चौथो दिनदेखि नै उनले कुकुरलाई कुखुराको मासुको झोल र भात, बिस्कुट अनि पन्छीहरूलाई मन्दिरहरुमा पुगेर चारो (चामल र चना) खुवाउन थाले । उनीसहित संघमा आबद्ध आशाराम गोथे, राजेश शाही, रविन गोथे, दयाराम गोथे, केदार गोथे, कृष्णसुन्दर गोथेलगायत २० जना यसैगरी भक्तपुर घुम्थे । प्लास्टिकको भाडामा मासुको झोल मुछेको भात र बिस्कुट बोकेर कुकुर खोज्दै हिँड्थे । चामल र चना बोकेर मन्दिर‑मन्दिर पुग्थे । काठमाडौँमा ४० जनाको टोली यसैगरी हिँडिरहेको थियो । 'आनन्द जति ठूलो प्राप्ति केही हुँदैन,' उनी भन्दै थिए, 'कुकुर र पन्छीहरुलाई खुवाउन पाउँदा म यति आनन्दित थिएँ कि त्यो शब्दमा उतार्न सक्दिन ।' केही दिनदेखि हरेक बिहान र साँझ कुकुर र पन्छीलाई खुवाउनु उनको नित्यकर्म जस्तै बन्यो । भक्तपुरको गठ्ठाघरदेखि सडक र मन्दिर चहार्दै उनी जगातीसम्म पुग्थे । कहिलेकाहीँ पशुपतिसम्म पनि जान्थे । एकदिन सन्तोष भक्तपुर दरबार क्षेत्रमा कुकुरलाई बिस्कुट खुवाउँदै थिए । अलि पर मन्दिरको पेटीमा सुतेका एकजना मानिसले उनलाई टुलुटुलु हेरे । आफू जता गयो उनले त्यतै हेरिरहे जस्तो लाग्यो उनलाई । 'किन त्यसरी हेर्नुभयो ?' सन्तोषले सोधे । 'म पनि तीन दिनदेखि भोकै छु,' ती मान्छेले निसंकोच आफ्नो व्यथा सुनाए । सन्तोषको मन पीडाले अमिलिएर आयो । उनी बढो अफ्ठ्यारोमा परे । बिस्कुट देखाउँदै जबर्जस्ती भने, 'खानुहुन्छ त !' 'खान्छु ।' उनलाई अलि सहज महसुस भयो । बिस्कुट दिँदै सोधे, 'पहिला के खानुहुन्थ्यो ?' 'काम गरेर केही पैसा त हुन्थ्यो तर होटलहरुले बचेको खाना दिन्थे, त्यही खान्थेँ ।' 'अहो ! साना होटलहरुले पनि धेरैको कल्याण गरेका रहेछन्,' उनले सम्झिए । 'कति जना हुनुहुन्छ, अफ्ठ्यारोमा पर्नुभएको ?' 'चार‑पाँच जना ।' सन्तोषले साथीहरूलाई घटना सुनाए । सबै साथीहरूको मतो मिल्यो र मानव सेवा आश्रम गए । सुरुका केही दिन आफैंले खाना खुवाउने रकम उठाए । मानव सेवाले खाना पकाउने जिम्मा लियो । खुवाउने काममा पालो मिलाएर सबै खटे । पछि अरुले पनि सहयोग गर्न थाले ।

'सुरुवाती दिनमा ४०‑५० जना थिए होला खाना खाने, अहिले त २ सय जनाभन्दा बढी हुन्छन्,' उनले भने, 'लकडाउन लगातार थपिँदै गएको छ, व्यक्तिगत तवरबाट अब निकै मुस्किल हुनसक्छ ।' खानाका लागि मानव सेवालाई दाताहरुले सहयोग गरिरहेका छन् । मंगलबार बेलुकाको खाना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार लामाले खुवाएका थिए । अरुले पनि सहयोग गरिरहेका छन् । सन्तोषको टोलीले मानव सेवालाई आवश्यकताअनुसार आर्थिक तथा भौतिक सहयोग गर्ने गरेको छ । कुकुर र चराहरुलाई स्वयंसेवक संघका सदस्यले नै रकम उठाएर बिस्कुट र अन्न किन्ने गरेका छन् । 'अब त खुवाउन बानी परिसक्यो, तीन कार्टुन बिस्कुट र तीन‑चार किलो चामल या चना दैनिक किन्नुपर्ने हुन्छ,' सन्तोष भन्छन्, 'तर लकडाउन लम्बिँदै जाँदा पुर्‍याउनै मुस्किल होला जस्तो छ ।' अलिकति खाना बचाएर भए पनि कुकुर र चराहरुलाई दिन उनी आग्रह गर्छन् । भन्छन्, 'एक गाँस कटाएर दिने हो भने यो संकटको घडीमा तिनीहरु पनि बाँच्ने थिए जस्तो लाग्छ, भक्तपुरका कतिपयले यता हामी दिन्छौँ, तपाईंहरू अन्यत्र जानुहोला भन्दा निकै खुसी लाग्यो ।' लकडाउनका कारण गाउँ फर्किन नसकेका र बेखर्ची भएकाहरुलाई लक्षित गरी सरकारले छुट्टै रणनीति बनाइहाल्नुपर्ने उनको सुझाव छ । 'चराचुरुंगी र कुकुरहरूलाई पनि बेलैमा खानेकुरा व्यवस्थापन गर्नुपर्छ,' सन्तोष भन्छन्, 'ताकि खान नपाएर कुकुरहरूले मान्छेलाई झम्टनुपर्ने अवस्था नआओस् ।'

काठमाडौँ ३२ नरेफाँटमा कुकुरलाई कुखुराको खुट्टा खान दिँदै एक व्यक्ति ।

०००

अहिले लकडाउनका कारण मानिसहरू घरमा थुनिएका छन् । त्रास बढेको छ । सरकारको भर नभएर मानिसहरु बाहिरिन खोजिरहेका छन् । काठमाडौँमा खान नपाएपछि सातदेखि १० दिनसम्मको भोको पेट लिएर धेरै गाउँ पुगिसके । यस्तो विपत्तिको समयमा पनि सरकार भने कुनै नयाँ रणनीति बनाएर जुधिरहेको छैन । सामान्य अवस्थामा जसरी चलेको थियो करिब त्यसैगरी चलिरहेको छ । राजधानीलगायत देशका ठूला सहरमा अलपत्र परेर भोकै रहेकाहरूको खोजी धेरैले गरिरहेका छन् । खाना बनाएर खुवाइ पनि रहेका छन् । तर, कति दिनसम्म ? शुक्रबार एकैदिन १४ जना नयाँ संक्रमित फेला परेपछि खुवाउन चाहेर पनि बाहिर निस्कन सोच्नुपर्ने स्थिति आइसकेको छ । लकडाउनको २५औँ दिन बितिसक्दा सरकारले कोरोनाभाइरस परीक्षणलाई भने केही तीव्रता दिएको छ । परीक्षण बढाउँदै लैजाँदा नयाँ संक्रमित फेला पर्ने क्रम बढेको छ । लकडाउन तत्काल खुल्ने छाँटकाँट नदेखिएपछि नागरिक घर फर्किन चाहिरहेका छन् । सरकारले लकडाउनका बेला जहाँ जो छ, त्यहीँ राख्नु रोग फैलिन नदिने मुख्य र उत्तम उपाय हो । तर, लकडाउनसँगै नागरिकको दैनिकी कसरी चलिरहेको छ, नागरिकको सबैभन्दा नजिक रहेको स्थानीय तहलाई यस्तो विषम परिस्थितिमा पूर्णरूपमा कसरी उपयोग गर्न सकिन्छ भन्नेतर्फ सोचेर उपयुक्त कदम चाल्न सरकारले ढिला गरिरहेको छ । कृषि उत्पादनलाई व्यवस्थित र बृहत बनाउन सके जस्तोसुकै संकट निम्तिए पनि नेपालीहरू खान नपाएर मर्नु पर्दैन । सरकारले त्यतातिर बलियो योजना बनाएर लाग्न ढिला गर्नु हुँदैन । स्थानीय तह यसका लागि बलियो खम्बा बन्न सक्छन् । भोक बढ्दै जाँदा रातिराति भाग्दै र लुक्दै घर फर्किने क्रम रोकिएको छैन । खान नपाएर मर्नुभन्दा सास हुँदै घर पुग्ने सोच बनाएर उनीहरू लामो यात्राका लागि तयार भएका हुन् । थुप्रै नागरिक सीमापारि थुनिएका छन् । उनीहरुमाथि मानवीय व्यवहार नभइरहेको गुनासो आइरहेका छन् । जतिसुकै प्रतिकूल परिस्थिति आए पनि ती नागरिकलाई नेपाल भित्र्याएर उचित प्रबन्ध सरकारले गर्नुपर्छ । उनीहरू आर्थिक संकट टार्न बिदेसिएका थिए, जीवन बचाउन आफ्नो माटो सम्झिएर फर्केका हुन् । जहाँ पुगे पनि माटोको माया भुल्न गाह्रै हुन्छ । ऐसका कारण केही वर्ष स्वदेश भुले पनि भोको पेट बस्नुपर्‍यो भने जन्मदिने आमा र जन्मिएको धर्ती नै आफ्ना लाग्नेछन् । धर्तीको मायाले फर्किएकाहरूलाई सरकारले सीमामा अलपत्र नपारोस् । खान नपाएर बिजोग भइरहेका तल्लो वर्गका मानिसलाई पनि दुई छाक जसरी पनि जोहो गरिदेओस् ।

सम्बन्धित खबरहरु