गृहपृष्ठ ७०० मेगावाट बिजुली खेर जाँदै
७०० मेगावाट बिजुली खेर जाँदै
बर्खायाम सुरु भएयता नेपालका नदीनालामा पानीको सतह बढेसँगै विद्युत् उत्पादन पनि बढ्न थालेको छ । अधिकांश जलविद्युत आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालनमा आउन थालेका हुन् । तर, रातको समयमा विद्युत खपत कम हुने हुँदा उत्पादित ७०० मेगावाट बिजुली त्यसै खेर गइरहेको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार, विद्युत उत्पादन बढेसँगै मध्यरातको समयमा ७०० मेगावाटसम्म बिजुली खेर गइरहेको हो । बिहान र दिउँसोको तुलनामा रातको समयमा विद्युत लोड खपत कम हुने हुँदा बिजुली खेर जाने गरेको प्राधिकरणले जनाएको छ ।
नेपालमा हाल विद्युत् जडित क्षमता करिब ३३०० मेगावाट पुगेको छ । त्यसमध्ये अहिले ३२०० मेगावाट बिजुली ‘पिक आवर’ मा उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषको खबरहबलाई जानकारी दिए ।
उनका अनुसार बिहान र दिउँसोका ‘पिक आवर’ मा २७०० मेगावाटसम्म विद्युत् खपत हुने गरेको छ । ‘अहिले ‘पिक आवर’ मा २७०० मेगावाट बिजुली खपत भइरहेको छ,’ उनले भने, ‘मध्यरातमा करिब ७०० मेगावाट बिजुली बढी भइरहेको छ । दिउँसो र साँझ पनि ४/५ सय मेगावाट बिजुली त सरप्लस (बचत) नै छ ।’
पछिल्ला दिनमा बाढी र पहिरोका कारण जलविद्युत् आयोजनालाइ त्यति असर नगरेको उनले बताए । कहिलेकाही कुनै सबस्टेशन र पावरहाउसमा प्राविधिक समस्याबाहेक अन्य जटिल समस्या नआएको उनको भनाइ छ ।
हालसम्म विद्युत् प्राधिकरणको ५६३ मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९२ मेगावाट र निजिक्षेत्रबाट प्रवद्धित कम्पनीबाट २१०० मेगावाट बिजुली उत्पादन भइ राष्ट्रिय प्रणालीमा जोडिइसकेको छ ।
त्यस्तैगरी, निजी क्षेत्रबाट नै ८१.९ मेगावाटको सोलार इनर्जी, उखुको बगास लगायतबाट ६ मेगावाट ऊर्जा उत्पादन भइरहेको छ । प्राधिकरणअन्तर्गत ४५६ मेगावाटको माथिल्लो तामाकोशी, सान्जेलगायतका जलविद्युत आयोजनाहरूबाट पनि अहिले पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको छ ।
रातमा बढी हुने बिजुली उपयोग हुन नसकिरहेको घोषले बताए । करिब २०० मेगावाट हाराहारी बिजुली मात्रै भारत निर्यात भइरहेको उनले बताए । ‘रातमा बढी हुने बिजुलीको त्यति उपयोग हुन सकेको छैन,’ उनले भने, ‘विगतकै हाराहारीमा २०० मेगावाटमात्र निर्यात भइरहेको छ । रातमा बढी हुने बिजुली भारतमा मा पनि त्यति लोड नहुने हुँदा उपयोग गर्न सकिएको छैन ।’
हिउँदयाममा प्राधिकरणलाई बिद्युत खपत लोड धान्न नसकेर मुस्किल हुने गरेको थियो । गत २०८१ बैशाख/जेठ महिनामा खपतको लोड धान्ने बिजुली उत्पादन हुन नसक्दा भारतबाट २/३ सय मेगावाट बिजुली आयात गर्नुपर्ने अवस्था थियो ।
कुल विद्युत जडित क्षमता ३१०० मेगावाट हुँदा खोलानालामा पानीको सतह घटेर विद्युत उत्पादन १७०० मेगावाट हाराहारी हुने गर्थ्यो। प्राधिकरणका अनुसार, त्यतिबेला नै ६/७ सय मेगावाट बिजुली अपुग हुने स्थिति थियो ।
तर, बर्खायाम सुरु भएसँगै देशभरका नदीनालामा पानीको सतह बढेकाले विद्युत् उत्पादन क्रमिक बढिरहेको प्राधिकरणले जनाएको छ ।
नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित (रन अफ दि रिभर) प्रकृतिका छन् । बर्खायाममा पानीको बहाव बढ्नासाथ बिजुली उत्पादन बढ्छ । हिउँदमा खोलानाला घट्ने र सुक्ने हुँदा विद्युत् कम उत्पादन हुने गरेको छ ।
प्रकाशित समय : १८:४३ बजे