गृहपृष्ठ धार्मिक पर्यटकीयस्थल ऋखार ओझेलमा
धार्मिक पर्यटकीयस्थल ऋखार ओझेलमा
अग्ला पहाडले घेरिएको, हरियाली बुकी । थरिथरीका लेकाली फूलले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर अवस्थित छ । सानो तलाउमा रहेको डुङ्गा आकारको ढुङ्गामाथि अवस्थित ऋखार मन्दिर आकर्षक, अनौठो र मनमोहक देखिन्छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा अवस्थित ऋखार ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । यस क्षेत्रको प्रसिद्ध धार्मिकस्थलका रुपमा परिचित ऋखार धौलागिरि हिमालको काखमा चार हजार १० मिटर उचाइमा अवस्थित छ । प्राकृतिक सुन्दरताको छटाले भरिएको ऋखारकोे लेकाली भू–भागमा यार्सागुम्बा, केतुकी, बहमबेद, पाँचऔँले, सिलाजित, सतुवा, निरमसी जटामसी, चिराइतोलगायत बहुमूल्य जडिबुटी पाइन्छ ।
तलाउमाथि रहेको डुङ्गा आकारको ढुङ्गामा निर्मित मन्दिर ऋखारको मुख्य आकर्षक रहेको छ । भक्तजन र स्थानीयको पहलमा ऋखार क्षेत्रमा अन्य मन्दिरसमेत निर्माण भएका छन् ।
म्याग्दी सदरमुकाम बेनीबाट गलेश्वर, गाउँपालिकाको केन्द्र मौवाफाँट, दग्नाम, दरमिजा, चिमखोला, घ्याँसीखर्क, दुवाडी, पात्लेखर्क हुँदै दुई दिनको यात्रामा ऋखार पुग्न सकिन्छ ।
मुस्कुराइरहेको आँखैमा ठोक्किने हिमाल र हरियालीले सजिएका अग्ला पहाडको सुन्दरताभित्र लुकेको ऋखार ऋषिले तपस्या गरेको प्रसिद्ध तपोभूमिका रुपमा रहेको ऋखार संरक्षण समितिका अध्यक्ष चित्र छन्त्यालले बताए । उनका अनुसार उच्च हिमाली क्षेत्रमा अवस्थित रहेकाले वैशाखदेखि असोजसम्म पूजाआजा हुन्छ ।
ऋखार मन्दिरमा ऋषितर्पणी अर्थात् जनैपूर्णिमाको दिन बिशेष पूजा हुने गरेको छन्त्यालले जानकारी दिए । केही वर्षअघिसम्म कुइनेमङ्गले आसपासका बासिन्दाको कम चहलपहल हुने ऋखारमा पछिल्लो समय प्रचारप्रसारको कारण जिल्ला बाहिरबाट ठूलो सङ्ख्यामा पर्यटक र भक्तजन आउन थालेको उनको भनाइ छ ।
यस मन्दिरमा पूजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण भक्तजन बढ्दै गएका छन्त्यालले बताए । यहाँ म्याग्दीका साथै, पर्वत, बागलुङ, कास्की, नवलपरासी, काठमाडौंलगायत क्षेत्रबाट भक्तजन पुग्ने गर्छन् । दुर्गम र भौगोलिक रुपमा कठिन क्षेत्र पार गरी ऋखारमा पुगेका भक्तजन र पर्यटकलाई यस क्षेत्रबाट देखिने मनोरम दृष्यले लोभ्याउने गर्दछ ।
पहिलोपटक यहाँ पुगेका बेनीका दामोदर शर्माले धार्मिक महिमा र प्राकृतिक सुन्दरताले भरिएको ऋखारमा प्रचारप्रसार र पूर्वाधार निर्माण गर्न सकेमा उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने बताए । उनले यहाँबाट देखिने दृष्यले आफू लोभिएको बताए ।
प्रकाशित समय : १६:४५ बजे