nmb bank

गृहपृष्ठ यो वर्ष खाद्यले दशैंमा करिब दुई हजार खसीबोका र च्यांग्रा ल्याउने

यो वर्ष खाद्यले दशैंमा करिब दुई हजार खसीबोका र च्यांग्रा ल्याउने

यो वर्ष खाद्यले दशैंमा करिब दुई हजार खसीबोका र च्यांग्रा ल्याउने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंमा १ हजार ८ सय वटा खसीबोका र च्यांग्रा खरिद गर्ने निर्णय गरेको छ । गत वर्ष ल्याएका सबै नबिकेपछि यस वर्ष कम ल्याउन लागिएको हो ।

यस वर्ष १ हजार ५ सय खसीबोका र ३ सय च्यांग्रा खरिद गर्ने निर्णय भएको कम्पनीका प्रमुख अधिकृत रमेश आचार्यले जानकारी दिए । ‘गत वर्ष कम्पनीले दशैंका लागि विभिन्न जिल्लाबाट खरिद गरी ल्याएका खसीबोका र च्यांग्रा बिक्री नभएर लामो समयसम्म राख्नुपरेको हुँदा यस पटक थोरै ल्याउने निर्णय गरिएको हो,’ उनले भने ।

व्यापार गर्ने उद्देश्यले भन्दा पनि सरकारी निकायको बजारमा उपस्थिति जनाउनमात्र कम्पनीले यस पटक खसीबोका र च्यांग्रा कम ल्याउने निर्णय गरेको आचार्यको भनाइ छ । दशैंलाई खसीबोका र च्यांग्रा खरिद गर्न यसपटक कम्पनीले ३ करोड ६९ लाख बजेट छुट्याएको छ ।

गत वर्ष कम्पनीले दशैंलाई खसीबोका र च्यांग्रा खरिद गर्न ८ करोड ३३ लाख बजेट छुट्याएको थियो । यो बजेटमा ३ हजार खसीबोका र च्यांग्रा ल्याउने लक्ष्य राखेको थियो । यस वर्ष कम्पनीले गत वर्षको तुलनामा ४ करोड ६४ लाख रुपैयाँ बजेट घटाएको छ भने खसीबोका र च्यांग्रा खरिद गर्ने कोटा पनि घटाएको छ । कम्पनीले गत वर्ष दशैंलाई ३ हजार खसीबोका र च्यांग्रा खरिद गर्ने लक्ष्य राखेकोमा २ हजार २०१ मात्र ल्याएको थियो ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार गत वर्ष कम्पनीले ल्याएका ३१ वटा खसीबोका मरेका थिए । यस्तै, ५ सय ४२ वटा च्यांग्रा ल्याएकोमा २० वटा मरेका थिए । गत वर्ष दशैंका लागि ल्याएका खसीबोका र च्यांग्रा बिक्री नभएर मरेको हुँदा यस पटक १८ सयमात्र ल्याउने योजना कम्पनीको रहेको न्यौपानेले जानकारी दिइन् । कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ बजेट छुट्याएकोमा २ करोड ४९ लाख रुपैयाँका खसीबोका र १ करोड ३० लाखका च्यांग्रा खरिद गर्ने योजना छ ।

गत वर्ष कम्पनीले दशैंलाई लक्षित गरी ल्याएका च्यांग्रा बिक्री नहुँदा लामो समयदेखि व्यापार कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयको खोरमा राख्नुपरेको थियो । त्यसक्रममा च्यांग्रामाथि कुकुरले आक्रमणसमेत गरेका थिए । कम्पनीले दशैंका लागि ५ सय ४२ वटा च्यांग्रा खरिद गरी ल्याएको थियो । तीमध्ये दशैंमा २६४ वटा बिक्री भएका थिए भने बिक्री हुन बाँकी २७८ वटा च्यांग्रा कम्पनीले कार्यालयमै खोरमा राखेको थियो ।

कार्यालयले दशैंमा निर्धारण गरेको मूल्यमा च्यांग्रा बिक्री नभएपछि पटक पटक नयाँ मूल्य निर्धारण गरी बिक्री गरेको थियो । कम्पनीको कार्यालयमा बाँकी रहेका ४७ वटा च्यांग्रामध्ये कुकुरको आक्रमणबाट २० वटा मरेका थिए भने १४ घाइते भएका थिए । गत वर्ष दशैंमा च्यांग्राको मूल्य प्रतिकिलो १ हजार २६० रुपैयाँ निर्धारण गरिएको थियो, जसमा १० प्रतिशत छुट दिएर १ हजार २५० रुपैयाँमा बिक्री गरिएको थियो ।

च्यांग्रा बिक्री नहुँदा पहिलो पटक कात्तिक ३ गते मूल्य संशोधन गरी प्रतिकिलो १ हजार २२५ रुपैयाँ निर्धारण गरी बिक्री गरेको थियो । सो मूल्यमा पनि च्यांग्रा बिक्री नहुँदा बजार मूल्य अध्ययन गरी कात्तिक १० गते प्रतिकिलो ७५ रुपैयाँ घटाएर १ हजार १५० रुपैयाँ निर्धारण गरिएको थियो । फेरि पनि च्यांग्रा बिक्री नभएपछि कम्पनीले पुस १ गते प्रतिकिलो २५ रुपैयाँ घटाएर १ हजार १२५ रुपैयाँ मूल्य निर्धारण गरी च्यांग्रा बिक्री गरेको थियो ।

कम्पनीले दशैंका लागि तुलसीपुर, वीरगन्जलगायत स्थानबाट खसीबोका खरिद गर्ने गरेको छ भने दार्चुला र हिमाली जिल्लाहरुबाट च्यांग्रा ल्याउने गरेको छ । खाद्य कम्पनीले हरेक वर्षको दशैंतिहारलाई लक्षित गरी खसीबोका र च्यांग्रा विभिन्न जिल्लाबाट संकलन गरी काठमाडौंमा बिक्री गर्दै आएको छ ।

चाडपर्वमा व्यापारीले उपभोक्ताबाट चर्को मूल्य असुल्ने सम्भावनालाई मध्यनजर गर्दै बजारमा मूल्य हस्तक्षप गर्ने उद्देश्यले विगत लामो समयदेखि बाहिरी जिल्लाबाट खसीबोका र च्यांग्रा खरिद गरी राजधानीमा बिक्री गर्ने गरेको छ । कम्पनीले यो वर्ष पनि यसलाई निरन्तरता दिन लागेको हो ।

प्रकाशित समय : १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु