गृहपृष्ठ ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ नेपाल रेडक्रसको ६२औँ स्थापना दिवस मनाइयो
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ नेपाल रेडक्रसको ६२औँ स्थापना दिवस मनाइयो
नेपाल रेडक्रस सोसाइटीको ६२औँ स्थापना दिवस ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज देशव्यापी रूपमा मनाइएको छ । स्थापना दिवसका अवसरमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालय ताहचलमा रेडक्रसको झण्डोत्तोलन गरिएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले मानवीय सेवामा अहोरात्र खट्ने रेडक्रसका स्वयंसेवक र कर्मचारीको योगदानको सराहना गर्दै सम्पूर्ण रेडक्रसकर्मी सदैव मानवीय सेवामा उत्रनुपर्ने बताउनुभयो । नेपाल रेडक्रसका उपाध्यक्ष राधा नेपालीले रेडक्रसका स्वयंसेवक र कर्मचारीको प्रभावकारी समन्वय र आपसी सहकार्यबाट रेडक्रसका गतिविधि सफल रूपमा कार्यान्वयन गर्न सहयोग पुगेको बताए ।
सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रसमा करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवामा तल्लीन रहेको जानकारी दिए । हाल सोसाइटीअन्तर्गत सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, एक हजार छ सय १५ उपशाखा, एक सय २० सहयोग समिति र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचना रहेका छन् ।
रेडक्रस सोसाइटीले विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तको प्रवर्द्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधि सञ्चालन गरिरहेको छ ।
प्रकाशित समय : १८:५९ बजे