गृहपृष्ठ फेम्बोसा सम्मेलनः जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल
फेम्बोसा सम्मेलनः जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल
दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च (फेम्बोसा)को १२औँ अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।
निर्वाचन आयोग नेपालको आयोजनामा आजदेखि सुरु भई दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइले निर्वाचनमा पारेको प्रभावका विषयमा छलफल हुनेछ ।
‘निर्वाचनका उदीयमान प्रवृत्तिः जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइ’ विषयमा सुरु १२औँ फेम्बोसा सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । सम्मेलनमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलङ्काका निर्वाचन आयोगका अध्यक्ष तथा उच्च पदाधिकारीसहित १० जना विदेशी प्रतिनिधिहरुको सहभागिता छ ।
चालिसभन्दा बढी नेपाली प्रतिनिधिहरुको सहभागिता रहेको सम्मेलनमा अन्य विकास साझेदार संस्था संयुक्त राष्ट्रसङ्घ (युएन), निर्वाचन पर्यवेक्षक संस्थाका प्रतिनिधि तथा पूर्वनिर्वाचन आयुक्तहरुको सहभागिता छ ।
सम्मेलनमा मुख्यगरी जलवायु परिवर्तनले पारेको असर, विपद्, सामाजिक सञ्जालको बढ्दो प्रभाव र बसाइँसराइलगायत पक्षले निर्वाचन र निर्वाचन प्रक्रियामा पारेको प्रभावका विषयमा विभिन्न सत्रमा छलफल हुनेछ । सम्मेलनमा विषयगत सत्र सञ्चालन हुनेछ । हरेक सत्रबाट आएका निष्कर्षलाई काठमाडौँ घोषणापत्रका रुपमा सार्वजनिक गरिने आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइले निर्वाचन प्रक्रियामा चुनौती खडा गरेको भन्दै यस्ता उदीयमान समस्याबारे सम्मेलनमा गहन छलफल हुने जानकारी दिए । उनले ती समस्याले निर्वाचनमा कसरी प्रभाव पारिरहेको छ र त्यसलाई न्यूनीकरण गरी निर्वाचनलाई प्रभावकारी ढङ्गबाट सम्पन्न गर्न के गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित हुने बताए ।
सम्मेलनको उद्घाटन समारोहको अध्यक्षता गरेका निर्वाचन आयोग भूटानका अध्यक्ष दोशो सोनाम तोग्वेले कोभिड–१९ महामारीका समयमा सन् २०२१ मा भूटानमा भएको सम्मेलनले महत्वपूर्ण निष्कर्ष निकालेका जनाउँदै त्यसको आधारमा रहेर दक्षिण एसियमा देखिएका चुनौतीलाई सामूहिकरुपमा सामना गर्न सफल भएको स्मरण गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा उनले फेम्बोसाको झन्डा प्रमुख निर्वाचन आयुक्त थपलियालाई हस्तान्तरण गरेर आगामी सम्मेलनको अध्यक्षताको जिम्मेवारी दिएका थिए ।
आजको सत्रमा प्राविधिक विषयसहित निर्वाचन र जलवायु परिवर्तन, निर्वाचन र आप्रवासन, निर्वाचन र सामाजिक सञ्जाल तथा एआईसम्बन्धी छलफल गरी निष्कर्ष निकालिने छ । भोलि विषयगत सत्रदेखि आएका निष्कर्षलाई एकीकृत गरी काठमाडौं घोषणापत्र जारी गरिने निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित समय : १४:३४ बजे