गृहपृष्ठ नाडा ‘अटो शो’ पछिको समिक्षाः ईभीमा आकर्षण र आशंका एकैसाथ
नाडा ‘अटो शो’ पछिको समिक्षाः ईभीमा आकर्षण र आशंका एकैसाथ
राजधानीको भृकुटीमण्डपमा भदौ ११ देखि १६ सम्म चलेको ‘नाडा अटो शो २०२४’ सकिएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा महासंघ)को आयोजनामा प्रत्येक वर्ष चल्ने शोमा यो पटक भने प्रायः प्रिमियमदेखि सस्तो गाडीसम्म देखिए । त्यसमा पनि विद्युतीय सवारीसाधन (ईभी)को आकर्षण विगतभन्दा बढी देखियो । अटो शोमा आएका नयाँ गाडी पनि अधिकांश ईभी नै देखिए ।
अटो शोमा ५५ ब्रान्डका गाडी प्रदर्शनीमा राखिएको थियो । लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण लगायत ३३ कम्पनी अटो शोमा सहभागी भएका थिए । यस्तै ७ वित्तीय संस्थासमेत स्टलै राखेर अटो शोमा सहभागी भए । जहाँ १ सय ३० स्टल थिए ।
यसपालीको अटो शोमा ८ नयाँ ब्रान्ड भित्रिएका छन् । नेपालमा पहिलो पटक आएका ब्रान्डहरुमध्ये नामी, जेइकु, एक्सपेङ, अवतार, लिपमोटर, केई, जिकर र बिएडब्लु थिए ।
६ दिनसम्म चलेको अटो शोमा ८२ हजार ४ सय ७० जना सर्वसाधारणले अवलोकन गरेका छन् । मुलतः अटोमोबाइल व्यवसायको क्षेत्र सुस्ताइरहेका बेला आयोजित शोले देशको अर्थतन्त्र चलायमान बनाउन उल्लेख भूमिका खेलेको निष्कर्ष आयोजक संस्था नाडा महासंघले निकालेको छ ।
शोमा उत्कृष्ट चार पाङ्ग्रे सवारीसाधनको स्टल सीजी मोटर्स प्रालिको रीडराले जितेको छ भने उत्कृष्ट दुई पाङ्ग्रेतर्फको स्टल बैद्य इनर्जी प्रालिको एथेरले जितेको छ । त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेस्ट स्टल अवार्ड एमएडब्लुु प्रालिको सोकोनले जितेको छ भने बेस्ट कम्पोनेन्टको पुरस्कार सत्यदीप इन्टरनेसनल प्रालिको भिडोलले जितेको छ ।
नाडा महासंघले दुई दशकभन्दा बढी समयदेखि आयोजना गर्ने अटो शोको यो १६ औं संस्करण हो । जसको अवलोकनका लागि अर्थमन्त्री विष्णु पौडेलसमेत सहभागि भएका थिए ।
कति भयो बुकिङ ?
नाडा अटो शोमा जेइकु र ओमोडाका ३ सय ५० भन्दा बढी गाडी बुकिङ भएका छन् । जसमा जेइकुको मूल्य ६६ लाख ९९ हजार तोकिएको छ । यो रियर ह्विल ड्राइभ सिस्टममा १३५ किलोवाट क्षमताको मोटर हो । यसमा २२० एनएम टर्क र २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स छ । एसपीजी मोटर्सले यसलाई नेपाली बजारमा ल्याएको छ।
ओमोडा ई–५ लक्स भेरिएन्टको मूल्य भने ६१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नेपाली बजारमा नाडा अटो शो मार्फत ५ डिलक्स सार्वजनिक भएका छन् । नयाँ भेरिएन्ट ई–५ डिलक्सको मूल्य भने ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
चिनियाँ ब्रान्ड जिलीको प्रिमियम इलेक्ट्रिक ब्रान्ड ‘जिकर एक्स’का गाडी भने ३० वटा बुकिङ भएका छन् । जिकरको टु ह्विल ड्राइभ भेरिएन्टको यसको मूल्य ७९ लाख ९९ हजार तोकिएको छ ।
सबैभन्दा लामो रेन्ज दिने विद्युतीय गाडी (ईभी) भित्र्याएको ‘स्काइवेल’ले भने १२६ युनिट बुकिङ गर्न सफल भएको छ । नेपालस्थित आधिकारिक वितरक जी मोटर्सका अनुसार स्काइवेल ६ सय २० किलोमिटर, ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्ज गरी तीन भेरिएन्टमा बुकिङ गरिएको हो । जी मोटर्सका अनुसार ५१.९२ किलोवाट आवर ब्याट्री अप्सन भएको ईभीको मूल्य ७९ लाख ९० हजार रुपैयाँ र ७१.९८ किलोवाट आवर ब्याट्रीवालाको मूल्य ८९ लाख ९० हजार रुपैयाँ रहे पनि नाडा अटो शोमा ४ सय १० किलोमिटर रेन्जको बीई ११ को ७५ लाख ९० हजार, ५ सय २० किलोमिटर रेन्जको बीई ११ को ८५ लाख ९० हजार थियो ।
शोमा टाटाले ६ सय ४४ युनिट गाडी बुकिङ गरेको छ । यसको आधिकारिक विक्रेता सिप्रदीका अनुसार शोमा टाटा ‘पन्च ईभी’ र ‘टियागो ईभी’ को अधिक बुकिङ गरिएको छ । जहाँ पन्च ईभी ४ सय ७५ र टियागो ईभी १ सय ६९ युनिट बुकिङ भएको शोपछि कम्पनीले जनाएको छ । पछिल्लो समय नेपालमा ईभी प्रतिको आकर्षण उच्च रहेका बेला भारतीय ब्रान्ड टाटाको पन्च ईभीले आक्रामक बुकिङ गरेको हो । किनकि यो मूल्यका हिसाबले समेत निकै सहज रहेको छ । टाटा पन्च ईभी प्लस एस एमआर, एलआई र प्लस एलआर भेरिएन्टमा उपलब्ध छन् । प्लस एस एमआरको मूल्य ३३ लाख ९९ हजार, पन्च ईभी इम्पावर्ड एलआईको ३६ लाख ९९ हजार र पन्च ईभी इम्पावर्ड प्लस एलआरको ३८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
‘गतबर्ष भन्दा अहिले हाम्रा लागि नाडा अटो शो सुखद् रह्यो ।’, सिप्रदीका जनरल म्यानेजर सावन्त जंग सिजापतिले भने, ‘हाम्रोमा अवलोकन गर्न मानिसहरु पनि एकदमै धेरै आउनु भयो । बुकिङ पनि आक्रामक भएको छ । यसपटक ६४४ वटा बुकिङ भएको छ । जसको डेलिभरी पनि हामीले सुरु गरिसकेका छौं । अटो शो सकिएको दुईदिनमै ५०/६० वटा डेलिभरी भएर गइसकेको छ । गतबर्ष पनि हामीले ५५० जति बुकिङ गरेका थियौं ।’
चिनियाँ ईभी ‘नामी’ले समेत उत्साहजनक प्रदर्शनी गरेको छ । नामीले शोमा ७ सय १७ युनिट गाडीको बुकिङ गर्न सफल भएको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कर्पले जनाएको छ ।
कम्पनीका अनुसार नाडा अटो शोमा नामीका ‘ई–१’ को मूल्य २९ लाख ९९ हजार, ‘ई–२’ को ३१ लाख ९९ हजार र ‘ई–३’ को ३४ लाख ९९ हजार तोकिएको छ ।
एमएडब्लुले नेपाल भित्र्याएको सेरेसको पनि शोमा २ सय १० युनिट बुकिङ भएको छ । ‘सेरेस–३ प्रिमियम’ को मूल्य नाडा शोमा ४८ लाख ८७ हजार थियो तर यसको नियमित मूल्य ५२ लाख ९९ हजार हो । ‘सेरेस–३ कम्फर्ट’ को मूल्य नाडामा ४५ लाख ४९ हजार तोकिएको थियो।
यही कम्पनीले नेपालमा भित्र्याएको दिपलले १ सय ६५ युनिट बुकिङ गरेको छ । ‘दिपल एल०७’ को मूल्य नाडामा ६९ लाख ९९ हजार थियो । त्यस्तै ‘दिपल एस ०७’ को मूल्य नाडा शोमा ७१ लाख ९९ हजार छ ।
सरसर्ती हेर्दा करिब १५ अर्ब बराबरका गाडीहरु नाडा अटो शोमा बुकिङ भएका छन् । शोले अहिलेको आर्थिक शिथिलतालाई बिर्साईदिएको अर्थमा समेत हेरिएको छ । कममा ३० लाखदेखि बढीमा एक करोड ९० लाखसम्मका गाडी नाडा अटोमा राखिएको थियो । ईभीमा अधिकांशको आकर्षण हुनुका पछाडी बैंकहरुले ८० प्रतिशतसम्मको ऋण दिएका थिए । सातवटा बैंकले त अटो शोमै स्टल राखेर ऋण प्रवाहको नीति लिएका थिए । अर्थात् सस्तो र स्थिर ब्याजदरको स्किम ल्याएर उनीहरुले ग्राहकलाई आकर्षित गरेका थिए ।
अटो शोपछि प्रतिक्रिया दिँदै नाडाका अध्यक्ष करण चौधरीले नयाँ गाडी किन्न चाहनेको संख्या देखेर उत्साहित भएको बताएका छन् । ‘ग्राहकको आकर्षण हेर्दा आर्थिक मन्दीको आभाष भएन ।’, उनले भने, ‘यसले हामीलाई निकै उत्साहित बनाएको छ । हाम्रो शो सफलताका साथ सकिएको छ ।’
६ दिनसम्म चलेको नाडा अटो शोमा ४ हजार २ सय बढी गाडीहरु बुकिङ भएका छन् । त्यसमा तीन हजार ६ सय चार पाङ्ग्रे र ६ सय दुई पाङ्ग्रे सवारी बुकिङ भएका छन् । तर बुकिङ भएकै आधारमा विगतको अवस्था हेर्दा व्यवसायी उत्साहित भइहाल्ने अवस्था भने छैन । किनकि निकै न्यून मूल्यमा बुकिङ गर्न पाईने भएपछि शोमा बुकिङ गरिहाल्ने तर पछि नकिन्ने गरेको पाइन्छ । बुकिङ गरेको पैसासमेत फिर्ता पाउने भएपछि यस्ता घटनाहरु धेरै भएका छन् । अहिले पनि एउटा व्यक्तिले एकभन्दा धेरै गाडीहरु बुकिङ गरेको पाईएको छ । यसअघि १० हजार चाहिने भएपनि अहिले ५ हजार रुपैयाँमै गाडीको अग्रिम बुकिङ गर्न सकिने सुविधा राखिएको थियो ।
‘तर हाम्रोमा त्यस्तो खालको समस्या धेरै देखिएको छैन ।’, सिप्रदीका जिएम सिजापतिले भने, ‘सामान्यतः त्यो भइहाल्छ । कसैको खरिदका बेला लोन मिल्दैन । कसैको पैसा मिल्दैन । कसैको गाडी एक्सचेन्ज नै मिल्दैन । कसैको घर सल्लाह नै मिल्दैन । त्यसैले यस्तो समस्या देखिन्छ । जुन जहाँ बुकिङ गरेपनि देखिन्छ । तर सिप्रदीमा हामीले जेनियुन कस्टुमरसँग मात्रै बुकिङ गर्ने गरेका छौं । ५ सय वा हजारमै बुकिङ गरेका छैनौं । त्यसैले बुकिङमध्ये ७०/८० प्रतिशत बिक्रि गर्छौ भन्ने विश्वास छ।’
समग्रमा नाडा अटो शोमा यसपाली चिनियाँ विद्युतीय गाडीको वर्चश्वले बजार छपक्कै पारेको छ । ईभी गाडी प्रति मानिसहरुको आकर्षण बढ्दै गइरहेको देखिन्छ । तर बेला ईभी गाडीले धोका दिएको, प्राविधिक त्रृटिकै कारण दुर्घटना भइरहेका विषय सार्वजनिक हुँदा मानिसहरुमा पर्याप्त आशंकासमेत छ ।
ईभीमाथि आशंका
गत असार १८ गतेको घट्ना हो । २० बर्षदेखि गाडी चलाउँदै आएकी काठमाडौंकी विद्या बनमाली प्रधान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै भयंकर दुर्घटनामा परिन् । उनी चढ्दै आएको गाडी थियो, एमजी जेटएस ईभी । एमजीकै वेवसाइटमा हेर्दा यसको मूल्य ७१ लाख ९९ सय हजार छ । केहीबर्ष यतामात्रै विद्युतीय गाडीको आवश्यकतालाई मध्यनजर गर्दै प्रधान परिवारले एमजीको ईभी किनेको थियो । पशुपति मुरारकाले अत्यन्तै राम्रो छ भनेपछि विद्या बनमालीका श्रीमान पूर्वरक्षामन्त्री भिमसेनदास प्रधानले ईभीको यही गाडी किनेका थिए । तर असार १८ गते उनको परिवारमा ईभीले यस्ता दशा ल्याईदियो, अहिले श्रीमतीका सातवटा करङ भाँचिएका छन् भने खुट्टा पनि भाँचिएपछि लामो समयको आईसीयू बसाईपछि घर फर्किएकी छन् ।
विमानस्थलमा छोरीलाई विदाई गर्न गएकी विद्याले गाडी पार्किङमा लैजान ड्राईभिङ मोडमा मात्रै के लिएकी थिइन्, एक्कासी हुँत्तिएर अगाडीको गाडीमा ठोक्कियो । उनले पटकपटक रोक्न ब्रेक लगाइन् । जहाँ ब्रेक लगाउँदा पछाडी बल्ने बत्ति पटकपटक बलेको सीसीटिभी फुटेजमा प्रष्टै देखिन्छ । स्टार्ट गर्न नपाउँदै एक्कासी हुत्तिएर ब्रेक लगाउँदा पनि झण्डै सय किलो प्रतिघण्टामा गाडी दौडियो । इट्टाको थुप्रोमा बजारिएपछि प्रधानको परिवारले कहालीलाग्दो दुर्घटना भोग्नुपर्यो ।
न चालकको गल्ती, न सिकारु ? अनुभवले २० बर्षदेखि गाडी चलाउँदै आएकी विद्या यो दुर्घटनामा परेपछि परिवारले सबैपक्षको अनुसन्धान ग¥यो । प्रहरी हुँदै प्राविधिक विज्ञसँग परामर्श गर्दा गाडीमै भएको गम्भीर प्राविधिक त्रृटिले भयंकर दुर्घटना भएको निष्कर्ष निकालिएको छ । तर सुरक्षित र भरपर्दाे भन्दै किनिएको गाडीमा भएको एयरब्याग पनि समयमै नखुलेपछि छात्तिका करङ भाँचिए । गाडीको प्राविधिक त्रृटिबारे जिम्मेवारी लिएर क्षतिपूर्ति भर्नुपर्ने कम्पनी उल्टै पन्छिएर भागिरहेको आरोप प्रधान परिवारको थियो । घट्ना सार्वजनिक भए कमजोरी बाहिर आउने डरकै कारण उक्त गाडी कुसुन्तीस्थित वर्कसपमा त्रिपालले छोपेर राखिएको पीडित परिवारले बताएका थिए ।
गतबर्षको पुसमा बुढानिलकण्ठस्थित देउवा चोकमा चार्ज भइरहेको एमजीकै ईभी गाडी एकाएक विस्फोट भएर आगलागी भयो । भर्खर भर्खर विद्युतीय गाडीप्रति आकर्षित हुन थालेका नेपालीहरुलाई यो भयंकर त्रासको विषय बन्यो । जसले एमजीका गाडी चार्ज गर्दा पनि पड्किन्छन् भन्ने सन्देश दियो ।
त्यसमा पनि नेपालमा भित्रिएका ईभी गाडीहरु अत्यन्तै कम गुणस्तरका हुन्छन् भन्ने बुझाई छ । अर्थात् प्रचारबाजी धेरै गर्ने तर गुणस्तरका हिसाबले कमजोर गाडी बेच्ने गरेको आरोप लागिरहेको छ । अझ ईभीको नेपाली बाटोमा ईभीको हालत बुझ्न गत बैशाखको एक घट्नालाई उदाहरणका रुपमा लिन सकिन्छ ।
एक कम्पनीले कुपण्डोलदेखि सौराहासम्मको मोटर¥याली आयोजना गरेको थियो । जहाँ नाम चलेकादेखि भर्खरै भित्रिएर बजार तताईरहेका विद्युतीय गाडीहरुसमेत सहभागी थिए । दक्षिणकाली हुँदै हेटौडाबाट सौराह पुग्ने रुट थियो । तर एमजीको जेड एस र डिपलका ईभीले भेमफेदीको उकालो काट्नै सकेनन् । कयौं कोशिस गर्दा पनि उकालोमा तान्न नसकेपछि केहीलाई धकेलेर पठाईयो भने एमजीको जेड एस ईभीलाई भीमफेदीबाटै काठमाडौं फर्काईयो । अहिले अधिकांश गाडी चढ्नेहरुको गुनासो पनि ईभीले उकालोमा नतान्ने र ओरालोमा नधान्ने समस्या देखाइरहेका छन् ।
करछलीका आरोप पनि
ईभीकै नाममा नेपालमा कर छलीको धन्दा फस्टाएको विषय पनि सार्वजनिक भएको छ । भन्सारमा कम किलोवाटको देखाएर अर्बौ कर छली गरेको विषय सार्वजनिक भएपछि राजश्व अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको छ । त्यसमा पनि डीप्पल र वीवाईडीका ईभीमा ९९ किलोवाट देखाएर १९० किलोवाट क्षमताका बेचिरहेको खुलेको छ । अर्थात् भन्सार छल्नका लागि कागजीरुपमा किलोवट कम देखाउने काम वितरकहरुले गरेको आशंका छ । पछिल्लो एक बर्षमा मात्रै ११ हजारभन्दा बढी विद्युतीय सवारी भित्रिएका छन् । वास्तविक मूल्यभन्दा दोब्बर मूल्य असुली चलिरहेको आरोप छ । यो धन्दामा एमजी अगाडी रहेपनि डिपल र वीवाईडीका ईभीमा समेत राजश्व छलीदेखि दोब्बर मूल्य असुलीसम्मै जोडिएका छन् ।
प्रकाशित समय : १७:०१ बजे