nmb bank

गृहपृष्ठ अस्पताल भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या

अस्पताल भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या

अस्पताल भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालकोे नयाँ भवन निर्माण सम्पन्न नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । सुदूरपश्चिम प्रदेशको ‘रेफरल’ अस्पतालको रुपमा रहेको सो अस्पतालको निर्माणाधीन भवन सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको हो ।

अस्पतालको भवन अधुरै हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएकोे अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर शाहले बताए । उनले भने, “निर्माण कम्पनीको लापरबाहीका कारण भवन निर्माण ढिलाइ भएको छ । धनगढी बजारको मुख्य सडक विस्तारका क्रममा ओपिडी भवन भत्काउनु परेपछि भवन अभाव भएको हो । जसले गर्दा सेवा प्रवाहमा समस्या भएको छ ।”

सहरी विकास मन्त्रालय अन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइले विसं २०७४ कात्तिकमा १३ करोड ६६ लाख ४९ हजार लागतमा अस्पतालको दुईतले भवन निर्माण गर्न रविना थेगिम जेभिसँग सम्झौता गरेको थियो । आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी सौरभ कलौनीका अनुसार सम्झौता बमोजिम विसं २०७७ वैशाखमा भवन निर्माण सम्पन्न हुनुपर्ने हो । तर, निर्माण सुरु भएको सात वर्ष बित्न लाग्दा पनि निर्माण कम्पनीको लापरबाहीका कारण अहिलेसम्म भवन निर्माण सम्पन्न हुन सकेको छैन ।

कलौनीका अनुसार हालसम्म भवन निर्माणको काम ८८ प्रतिशत मात्र पूरा भएको छ । “पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न भएको छैन् । हाल छैँटौँ पटक म्याद थप गरिएको छ । विसं २०८१ चैतसम्म काम सक्ने गरी म्याद थप भएको हो”, सूचना अधिकारी कलौनीले भने, “हामी निर्माण कम्पनीलाई कारबाहीको प्रक्रियामा गइसकेका थियौँ । खरिद नियमावलीको १३औँ संशोधनले उहाँहरुलाई अन्तिम पटक मौका दियो, त्यसैले अहिले म्याद थप भएको छ ।”

भवनमा फिनिसिङ, अन्तिम रङ्गरोगन, इलेक्ट्रिकल बक्स लगाउने काम, मार्बल विछ््याउने लगायतका काम बाँकी रहेको सूचना अधिकारी कलौनीले जानकारी दिए । एक वर्षदेखि अस्पतालले निर्माणाधीन अधुरो भवनका केही कोठाबाट बहिरङ्ग सेवा सुरु गरेको छ । अधुरो भवनमा एमआरआई, सीटीस्क्यान, इन्डोस्कोपी सेवा दिइरहेकोमा केही समय अगाडि एमआरआईमा समस्या आएकाले उक्त सेवा हाल बन्द छ ।

भवनको अभावले अधुरो भवनबाट ओपिडीलगायतका सेवा सुरु गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले जानकारी दिए । उनले भने, “नयाँ भवन निर्माण सुरु भएको सात वर्ष बित्न लाग्दा पनि सम्पन्न भएको छैन् । भवन अभाव छ । बिरामीको चाप बढ्दो छ । दैनिक एक हजारदेखि एक हजार दुईसम्म बिरामी आउँछन् । तीन सयभन्दा बढीलाई भर्ना गरेर उपचार गर्नुपरेको छ ।”

उनले भवन अभावकै कारण आईसीयु (सघन उपचार कक्ष) आकस्मिक लगायतका सेवा प्रवाहमा समस्या भएको बताए ।

 

प्रकाशित समय : १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु