nmb bank

गृहपृष्ठ नाडा अटो शोले बिर्साइदियो आर्थिक शिथिलता, १५ अर्बको सवारीसाधन बुकिङ

नाडा अटो शोले बिर्साइदियो आर्थिक शिथिलता, १५ अर्बको सवारीसाधन बुकिङ

नाडा अटो शोले बिर्साइदियो आर्थिक शिथिलता, १५ अर्बको सवारीसाधन बुकिङ

सवारी साधनको कुम्भ मेला नाडा अटो शोमा ६ दिनमा करिब १५ अर्ब रुपैयाँ बराबरको सवारीसाधन बुकिङ भएका छन्।

आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले ४ हजार २०० सवारीसाधन बुकिङ भएको र ती करिब १५ अर्ब रुपैयाँ बराबरका भएको बताएका छन्।

नाडामा बुकिङ भएका अधिकांश सवारीसाधन विद्युतीय हुन्। इभीमा धेरै विकल्प थिए। ३० लाखको ह्याचब्याक कार किन्न चाहनेदेखि १ करोड ९० लाखमा गाडी किन्ने चाहनेका लागि इभी थियो। यस्तै एसयुभी सेग्मेन्टका गाडी किन्न चाहनेलाई ४० लाखदेखि ९० लाखसम्मका इभी थिए।

इभीमा बैंकहरुले ८० प्रतिशतसम्म ऋण दिन्छन्। विभिन्न ७ वटा बैंकले नाडामा स्टल नै राखेका थिए। उनीहरूले सस्तो र स्थिर ब्याजदरको स्किम ल्याएर ग्राहकलाई आकर्षित गरेका छन्। साथै बिक्रेता कम्पनीले ल्याएका विशेष छुटले पनि ग्राहक आकर्षित भएका हुन्।

नाडाका अध्यक्ष चौधरीले गाडी खरिद गर्न ग्राहकहरूले देखाएको चासोबाट आफूहरू निक्कै उत्साहित भएको बताए। ‘नयाँ गाडी किन्ने चाहनेको जमात ठूलो देखियो,’ उनले भने, ‘ग्राहकको क्रेज हेर्दा त देशमा आर्थिक मन्दी छ भन्ने नै लागेन।’

टाटा गाडीको बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तथा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले मेला सोचेभन्दा राम्रो भएको बताए।

‘मेलाबाट हामी व्यवसायी एकदम उत्साही छौं। हामीले सोचेभन्दा धेरै अवलोकनकर्ता आउनुभयो। बुकिङ पनि राम्रै संख्यामा भयो,’ उनले भने, ‘अटो शोका कारण गाडी मात्र बिक्री हुँदैन, यसले बजारमा क्यास फ्लो पनि बढाउँछ।’ टाटाको पन्च इभी बुकिङबाट उनी उत्साहित छन्।

नाडामा बुकिङ भएका सवारीसाधन सबै बिक्री हुन्छन् भन्ने चाहिँ हुँदैन। गाडी बिक्रीका लागि नाडा अटो शो मुख्य प्लेटफर्म भने हो। त्यही कारण बिक्रेताहरूले दशैंको मुखमा अटो शो गर्ने गरेका हुन्।

कुन गाडी कति बुकिङ?

मेलामा स्टल राखेका बिक्रेता कम्पनीहरूका अनुसार ४ हजार २०० सवारीसाधन बुकिङ भएका छन्। जसमा ३ हजार ६०० चार पाङ्ग्रे र ६०० वटा दुई पाङ्ग्रे सवारीसाधन छन्।

डङ्फेङको नामी, हुन्डाईको क्रेटा, टाटाको पन्च इभी, महिन्द्राको एक्सयुभी ४०० तथा स्कोरपियो, सेरेस, ओमोडा तथा जेको जे६, डिपल, बीवाइडी, लिपमोटर जस्ता ब्रान्डका गाडी धेरै बुकिङ भएका छन्। दुई पाङ्ग्रेमा भने ट्राइम्फ, हिरो, बजाज, एथर, रोयल इन्फिल्ड, सीएफमोटो र यामाहाका बाइक धेरै बुकिङ भएको बिक्रेताहरूले बताएका छन्।

बिक्रेता कम्पनीले सवारीसाधन बुकिङ सम्बन्धमा आ-आफ्नै दाबी प्रस्तुत गरेका छन्।

एमएडब्लू वृद्धि अटोकर्पले नामी इभी ७१७ वटा गाडी बुकिङ भएको बताएको छ। बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ७१२ वटा गाडी बुकिङ भएको बताएको छ। टाटाको आधिकारिक बिक्रेता सिप्रदीले ग्राहकले पन्च इभी ४७५ र टियागो इभी १६९ वटा बुकिङ गराएको दाबी गरेको छ।

जेको र ओमोडाको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ३२३ युनिट गाडी बुकिङ भएको भनेको छ। हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले १५० गाडी बुकिङ भएको बताएको छ।

यस्तै नेटा ४०, रिडारा २०, एक्स्पेङ ९, आयोन १६, लिपमोटर सी १० को १७६, काइयी ४०, किङलङ १५ र केवाइसी २५ बुकिङ भएको छ।

यसै गरी सेरेस २११, डिपल १२५, एक्सपेङ १२, भोल्ट्स ३५, अवतार १०, बीएडब्लु १२७ र जिकर २५ युनिट बुकिङ भएको कम्पनीहरूले जनाएका छन्।

यस्तै स्काईवेल १२६ र सुजुकी १८४ युनिट बुकिङ भएका छन्। एमजीका १०० गाडी बुकिङ भएका छन्। केही ब्रान्डका गाडीको बुकिङ संख्या खुलाइएको छैन।

दुई पाङ्ग्रेतर्फ ट्राइम्फ २००, रोयल इन्फिल्ड ७०, हिरो ६०, बजाज ५०, सिएफमोटो ५१, एथर ४५, एनआइयू ४०, जिहो ३६ र सुजुकी १० वटा बुकिङ भएका छन्। अन्य ब्रान्डले बुकिङ संख्या खुलाएका छैनन्।

८२ हजारभन्दा धेरैले गरे स्टल भिजिट

अटो शो ८० हजारभन्दा धेरै जनाले अवलोकन गरेका छन्। नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीका अनुसार ८२ हजार ४७० जनाले स्टल भिजिट गरेका हुन्। यो संख्या पोहोरको भन्दा धेरै हो। गत वर्ष ७४ हजारले स्टल भिजिट गरेका थिए।

पहिलो दिन मंगलबार साढे ८ हजार जनाले मेला अवलोकन गरेकामा बुधबार १५ हजार, बिहीबार १५ हजार ५०० र शुक्रबार १७ हजार २०० र शनिबार १८ हजार ४९७ जनाले स्टल भिजिट गरेको उप्रेतीले जानकारी दिए।

३० लाखदेखि ९० लाख रेन्जका गाडीमा धेरै भिड

नाडा अटो शोमा ३० लाखदेखि ९० लाखसम्म मूल्य रहेका गाडीको स्टलमा धेरै भिड देखिएको छ। एमएडब्लु वृद्धि अटोकर्पले नेपाली बजारमा ल्याएको नामी र टाटाको आधिकारिक बिक्रेता सिप्रदीले लन्च गरेको पन्च इभीमा ग्राहकको बढी भिड देखिएको हो।

नामीको मूल्य ३० लाखदेखि ३५ लाख तथा पन्च इभीको मूल्य ३३ लाखदेखि ४० लाखसम्म छ। गाडीको फिचर र कम्पनीले उपलब्ध गराएको सस्तो मूल्यका कारण नामी नाडा अटो शोमा हिट भएको हो। पन्च इभीको मूल्य पनि कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सस्तो मानिएको छ।

नेपाली बजारमा भर्खरै सार्वजनिक भएको एसयुभी जेको जे-सिक्सप्रति पनि ग्राहकले राम्रो प्रतिक्रिया दिएका छन्। नाडा अटो शो भरिका लागि यो गाडीको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको थियो। यसको बिक्रेता कम्पनी एसपीजी अटोमोबाइल्स हो।

दुई पाङ्ग्रेतर्फ प्रिमियममा क्रेज

दुई पाङ्ग्रेतर्फ यसपालि प्रिमियम बाइकप्रति क्रेज देखिएको छ। रोयल इनफिल्ड, ट्राइम्फ जस्ता ब्रान्डका स्टलमा ग्राहकको भिड लागेको थियो।

गत वर्ष सस्तो मूल्यमा नयाँ बाइक हन्टर ल्याएको रोयल इन्फिल्डले यो पटक नाडा अटो शोमा प्रिमियम बाइक हिमालयन ४५० मोडल ल्याएको थियो। जसको मूल्य १० लाख रुपैयाँ छ।

नेपाली बजारमा यही नाडा अटो शोबाट इन्ट्री गरेको बजाजको लगानी रहेको ट्राइम्फले पनि राम्रो साथ पाएको छ। कम्पनीले ट्राइम्फ बाइकको मूल्य ६ लाख ४० हजारदेखि ६ लाख ९० हजारसम्म राखेकामा दुई पाङ्ग्रेतर्फ सबैभन्दा धेरै बुकिङ लिएको छ। हिरोको एक्सपल्स फोरभी प्रोकोले पनि राम्रो रेस्पोन्स पाएको छ।

 

प्रकाशित समय : ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु